
काठमाडौं, १३ फागुन– एक दशकमा नेपाली बिमा बजार करिब सवा ६ गुणाले विस्तार भएको छ । उक्त अवधिमा बिमा कम्पनीहरूले संकलन गरेको प्रिमियम (बिमा शुल्क) र लगानीका आधारमा बजार क्रमशः सवा ५ र साढे ५ गुणाले बढेको हो ।
यो अवधिमा बिमा कम्पनीको संख्या र चुक्ता पुँजी बढ्नुका साथै तीव्र व्यावसायिक वृद्धि भएकाले समग्र बिमा बजारको दायरा फराकिलो बनेको हो । बिमा समितिको तथ्यांकअनुसार गत आर्थिक वर्षसम्म कुल बिमा शुल्क (प्रिमियम) ५७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।
जसमध्ये जीवन बिमा शुल्क ३८ अर्ब ८६ करोड र निर्जीबन बिमा शुल्क १८ अर्ब ३८ करोड रुपैयाँ संकलन भएको देखिन्छ । एक दशकअघि (सन् २००७÷०८) को तुलनामा प्रिमियम करिब ५ सय १३ प्रतिशत (सवा ५ गुणा) ले बढी हो ।
आर्थिक वर्ष सन् २००७÷०८ मा कुल प्रिमियम ९ अर्ब ३४ करोड रुपैयाँ थियो । उक्त अवधिमा जीवन बिमा कम्पनीहरूले ५ अर्ब ४८ करोड र निर्जीवन बिमा कम्पनीहरूले ३ अर्ब ८५ करोड रुपैयाँ संकलन गरेको समितिको तथ्यांक छ । एक दशकको अवधिमध्ये पनि पछिल्ला तीन वर्षमा बिमा क्षेत्रको विस्तार तीव्र रूपमा भएको देखिन्छ ।
उक्त अवधिमा बजारमा नयाँ कम्पनी थपिनुका साथै चुक्ता पुँजी पनि बढाइएकाले बिमा क्षेत्रको विस्तार तीव्र भएको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । ‘नयाँ कम्पनीहरूले आक्रामक रूपमा व्यवसाय खोज्न लागे, पुँजी बढेपछि पुराना कम्पनीहरूलाई व्यवसाय विस्तार गर्न दबाब पुग्यो,’ उनले भने, ‘यसकारण समग्र बिमा बजारको विस्तार र बिमा पहुँच पनि बढेको हो ।’
बिमा कम्पनीहरूले बजारमा विभिन्न किसिमका ‘प्रडक्ट’ ल्याए पनि वितरण प्रणाली प्रभावकारी हुन नसकेकाले अपेक्षित रूपमा व्यावसायिक विस्तार हुन नसकेको चापागाईंले बताए, कान्तिपुरमा खबर छ ।