
काठमाडौं, २२ फागनु– सरकारले सरकारी तथा निजी संस्थाका कर्मचारीको तलबबाट मासिक १ प्रतिशत करकट्टी गरी जम्मा पारेको १६ अर्ब ७९ करोड रुपैयाँ आठ वर्षदेखि सामाजिक सुरक्षा कोषमा थन्किएको छ।
कर्मचारीलाई विभिन्न सेवा-सुविधा प्रदान गर्ने योजनासहित श्रम तथा रोजगार मन्त्रालय मातहत कोष नै खडा गरेर ०६६ सालदेखि उठाइएको अर्बौं रकम प्रयोगविहीन भएको हो। कोषमा योगदान गर्ने कर्मचारीका लागि विभिन्न सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने बताइए पनि कोषले त्यसअनुसार एउटै काम गरेको छैन।
कोषका अनुसार सरकारका सबै निकाय, व्यावसायिक प्रतिष्ठान, प्राइभेट फर्म, कम्पनी, गैरसरकारी संघ-संस्था आदि गरी ३० हजारभन्दा बढी निकायका कर्मचारीबाट रकम संकलन भइरहेको छ। कर्मचारीबाट करबापत कट्टा गरिएको उक्त रकम सम्बन्धित निकायले अर्थ मन्त्रालयको राजस्व शीर्षक नं. ११२११ मा जम्मा गर्ने गरेका छन्।
कोषका अनुसार आर्थिक वर्ष ०६६/६७ देखि रकम संकलन गर्न थालिएको थियो। आव ०७३/७४ सम्म १६ अर्ब ७९ करोड रकम जम्मा भएको कोष सचिवालयले जनाएको छ। कोषमा रकम जम्मा गर्ने सयौं कर्मचारीले रकम किन परिचालन नभएको हो भन्दै चासो राख्न थालेको कोषकी शाखा अधिकृत प्रमिला केसीले जानकारी दिइन्, अन्नपूर्ण पोस्टमा खबर छ ।