
रुपन्देही, १२ फागुन– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक जग्गाको लगत संकलन कार्य शुरु गरेको छ । सार्वजनिक जग्गा मिच्ने प्रवृत्ति बढिरहँदा नगरपालिकाले वडा नं. ३ बाट जग्गाको लगत संकलन तथा संरक्षण कार्य शुरु गरेको हो ।
सार्वजनिक जग्गाको लगत संकलन कार्य क्रमशः सबै वडामा सञ्चालन हुने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐनले सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ ।
आइतवार वडा नं. ३ को सीमानगर क्षेत्रमा सार्वजनिक जग्गाको नापजाँच गरिएको छ । यसरी नापजाँच गरिएको स्थानमा किला समेत गाँडिएको वडाध्यक्ष टंकप्रसाद तिवारीले जानकारी दिए । नापजाँच कार्यमा प्राविधिक टोलीसहित जनप्रतिनिधि, कर्मचारी, स्थानीय अगुवा, प्रहरीहरु खटिएका छन् । नापजाँच शुरु गर्नुपूर्व जनप्रतिनिधिहरुले लगत संकलनको प्रक्रियाका बारेमा स्थानीय बासिन्दालाई जानकारी गराएका थिए ।
नापजाँचबाट सार्वजनिक जग्गा यकिन हुँदा समग्र नगरको विकासमा टेवा पुग्ने तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । तिलोत्तमा नगरमा मूलतः नदी उकास, खोला÷खोल्सी, घोला, वन क्षेत्र आसपासमा सार्वजनिक जग्गा रहेको बताइन्छ । तथ्यांक संकलन नहुँदा नगरपालिकामा कहाँ कति सार्वजनिक जग्गा छ भन्ने यकिन छैन ।