
काठमाडौं, १३ चैत– प्रधानमन्त्री केपी ओलीले भारतसँगको सम्बन्ध राम्रो बनाउन केही समयभित्रै भ्रमणमा जान लागेको बताएका छन् । प्रधानमन्त्री ओलीले संविधान जारी गर्दा त्यसमा भारतले केही असन्तुष्टि जनाए पनि अब त्यो विषय नै सकिएको पनि बताएका छन् ।
‘संविधानअन्तर्गत चुनाव नै भएर नयाँ सरकार बनेपछि अब त्यो विषय नै रहेन,’ अन्जान शाक्य र माधवजी श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाल–चाइना रिलेसन्स न्यु एभिन्युज एन्ड पोसिबिलिटिज’ राजधानीमा सोमबार लोकार्पण गर्दै प्रधानमन्त्रीले भने, ‘भारतसँगको सम्बन्ध अझै प्रगाढ बनाउन म नयाँदिल्ली केही समयभित्रै जाँदैछु ।’
प्रधानमन्त्रीको भारत भ्रमणको चर्चा चलिरहे पनि सरकारले अहिलेसम्म यस विषयमा केही बोलेको थिएन । भारतीय पक्षबाट भने चैत २३–२५ मा प्रधानमन्त्री ओलीको भारत भ्रमण हुने सूचना आइरहेको थियो ।
ओलीको भनाइले त्यसको औपचारिक रूपमा पुष्टि गरे पनि उनले भ्रमणको मिति भने खुलाएनन् ।, कान्तिपुरमा खबर छ ।