
बुटवल, १८ चैत–बुटवलको सडक डिभिजन कार्यालय परिसरमा प्रदेश मन्त्रालय तथा अन्य कार्यालयहरु राखिने भएको छ । कार्यालय परिसरको करिव १५ बिघा क्षेत्रफलमा प्रदेशका लागि आवश्यक संरचनासहितको ‘मिनि सिंहदरवार’ बनाइने गृहकार्य थालिएको प्रदेश कार्यालय व्यवस्थापन सहयोग समितिले जनाएको छ ।
समितिको बैठकले सडक डिभिजन कार्यालयसहित त्यस कम्पाउण्डमा बनेका विभिन्न कार्यालयहरु अन्यत्र व्यवस्था गरी त्यहाँ प्रदेश सभाका लागि आवश्यक मन्त्रालय, मातहतका निर्देशनालय, महाशाखा र शाखा तथा संसद सचिवालय बनाउने निर्णय गरेको हो ।
यहाँ हाल यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालय, ईलाका प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सरकारी कार्यालयहरु छन् । समितिका संयोजक तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवललाई स्थायी राजधानी बनाउन सबैभन्दा उपयुक्त स्थान र जग्गा भएको ठहर गरी सडक डिभिजन कार्यालय र कम्पाउण्ड भित्रको सबै जग्गालाई मिनि सिंहदरवार बनाउने निर्णय गरेको बताए । समितिको निणर्यसँगै सम्वन्धित कार्यालयमा जानकारी गराउने तथा संघीय मन्त्रालयमा आवश्यक पहल गर्ने कार्य समेत सुरु भइसकेको जनाइएको छ ।

श्रेष्ठले प्रदेशका लागि सबै कार्यालय राख्न ४६ वटा भवन आवश्यक पर्ने भएकाले खुल्ला र हरियाली हुने गरी गुरुयोजना बनाएर मिनि सिंहदरवार बनाउने बताए । यातायात व्यवस्था कार्यालयलाई बुटवल धागो कारखाना, अख्तियारको कार्यालयलाई नेपालगञ्जको कार्यालयमा समायोजन, सडक डिभिजन कार्यालयलाई कपिलवस्तुको शिवपुर, पाल्पाको तानसेन वा नवलपरासीको बर्दघाटमा समायोजन गर्ने तयारी छ ।
संयोजक श्रेष्ठको अध्यक्षता र मन्त्रिहरु बैजनाथ चौधरी, लिला गिरी, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल, माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक दधिराम न्यौपाने, नेपाली काग्रेसका नेता खेलराज पाण्डे, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरीप्रसाद मैनाली, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष लगायत बिभिन्न मन्त्रालय र सरकारी कार्यालयका उच्च अधिकारीहरुको उपस्थितिमा बैठक बसेको थियो ।
बैठकले तत्कालका लागि प्रदेश सभा सचिवालयका लागि बुटवल उद्योग वाणिज्य संघको भवन, मन्त्रालय राख्न रुपन्देही व्यापार संघको भवन खाली गराउने ती कार्यालयहरुलाई अन्यत्र व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।
बुटवल उद्योग वाणिज्य संघलाई बालमन्दिर र रुपन्देही व्यापार संघलाई जनकपुर चुरोट कारखानाको कार्यालय भवन दिने आश्वासन दिइएको छ । आवश्यक परे उद्योग संघ र बस व्यवसायी संघको भवन पनि खाली गर्ने तयारी छ । उनीहरुलाई पनि बैकल्पिक व्यवस्था गरिने छ । बैठकले पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन र मानव सेवा धर्मको सभाहल पनि खाली गराउने निणर्य गरेको छ ।