
काठमाडौं, १८ चैत– कतारमा काम गर्दा गर्दै डेढ वर्ष अघि मृत्यु भएका लवकुश चमारकी श्रीमती अनिता चमार क्षतिपूर्तिका लागि केही दिन अघिसम्म वैदेशिक रोजगार विभाग र बैदेशिक रोजगार प्रबद्र्धन बोर्डको कार्यालय धाइरहेकी थिइन् ।
तौलिहवाको वुद्धभूमि हथिहवा बस्ने अनिताको विवाह ७ वर्षअघि भएको हो । तर विवाह दर्ता र नागरिकता नहुँदा क्षतिपूर्ति दाबी गर्न ढिला भएको थियो ।
०७२ जेठ २६ गते श्रम स्वीकृति र प्राइम लाइफ इन्स्योरेन्सबाट दुई वर्षे वदेशिक रोजगार बिमा गराएर दोश्रोपटक लवकुश कतार गएका थिए । उनी जाँदा कुनै पनि कागजपत्र नछोडेकोले त्यो बैदेशिक रोजगार बिभागको कम्प्युटर अधिकृतको कार्यालयबाट लिइएको थियो ।
लोकान्तरकर्मीको सहायतामा पर्याप्त कागजपत्र र जानकारी लिएपछि उनी बैदेशिक रोजगार प्रबद्र्धन बोर्ड, परराष्ट्र मन्त्रालय र प्राइम लाईफ इन्स्योरेन्सको कार्यालय गएकी थिइन् । बैदेशिक रोजगार प्रबद्र्दन बोर्डबाट उनलाई तत्कालै रु १० हजार क्षतिपूर्ति दिने निर्णय भएको थियो ।
बैदेशिक रोजगारीमा जाँदा अन्तिम श्रम स्विकृती लिएको २ बर्षभित्र भित्र क्षतिपूर्ति दावी गरिसक्नु पर्ने प्रावधान भएको तर अनिता चमारले विभिन्न समस्याले ढिलो दावी गरेको कारणले ३ लाख रुपैयाँ तत्कालै दिन कानूनी अड्चन आए पनि, बोर्डको बैठक बसेर केही दिनमा सो पैसा भुक्तानी दिने निर्णय हुने जानकारी अनिता चमारले दिइन् ।
प्राइम लाइफ इन्स्योरेन्सले पनि बिमा गरिए अनुसारको रु ६ लाख ५० हजार दिने कबोल गरेको छ । म्याद नाघेको दावीमा इन्स्योरेन्स रकम दिन कम्पनी बाध्य नभए पनि चमारको पारिवारिक आर्थिक स्थिति हेरेर आफूहरुले सो रकम भुक्तानी दिने निर्णय लिएको लाइफ इन्स्योरेन्सका कर्मचारीले बताएका छन् ।