२१ असार २०८३, आइतबार

अर्थमन्त्रीलाई कांग्रेसको सुझाव– चुनावी उद्वेलनले अर्थतन्त्र चल्दैन

बैशाख २७, २०७५
अर्थमन्त्रीलाई कांग्रेसको सुझाव– चुनावी उद्वेलनले अर्थतन्त्र चल्दैन

काठमाडौं, २७ वैशाख–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट निर्माणमा चुनावमा जितेको उद्वेलन नलिई व्यवहारिक बन्न सुझाव दिएको छ । महत्त्वाकांक्षी चुनावी घोषणा पत्र बिर्सिएर व्यवहारिक र कार्यान्वयन हुने बजेट ल्याउन काँग्रेसको सुझाव छ ।

प्रतिनिधि सभाको मंगलवार बसेको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) छलफलमा धारणा राख्दै नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले व्यवहारिक बनेर बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिए । अर्थमन्त्री डा युवराज खतिवडाले यसअघि संसदमा पेश गरेको अर्थतन्त्रको श्वेतपत्र भन्दा प्रि–बजेट व्यवहारिक रहेको रिजालले बताए । देशको ढुकुटी रित्तएको भन्ने श्वेतपत्रपप्रति कांग्रेसले आपत्ति जनाएको थियो ।

‘चुनावी घोषणापत्रले यहाँसम्म ल्यायो ठिकै होला, निर्वाचनको उद्वेलन बाँकी होला,’ रिजालले भने, ‘अहिलेको राजनीतिक पूर्वाधार साझा ढंगले निर्माण गरेका हौँ, चाहेजस्तो ठाउँमा नपुगेको होला, राम्रो बलियो जग निर्माण गरेका छौँ, यो कुरा नबिर्सिनु होला ।’

बितेको २६ वर्षमा नराम्रा काम मात्र भएको भनेर आरोप लाग्ने गरे पनि सामाजिक पूर्वाधार निर्माण भएको उनको दाबी छ । ‘गरिबी न्युनिकरणको दिशामा हामीले भनेजस्तो भएको छैन होला, तर गरीब र धनीको खाडल कम भएको छ,’ उनले भने ।

सरकारले सबैका लागि रोजगारी दिने बजेट ल्याउने भन्ने अर्थमन्त्रीको भनाइप्रति कांग्रेसले प्रश्न गरेको छ । ‘१५ खर्बको बजेट ल्याउनुभयो भने ९ खर्ब राजश्व संकलन होला, १ खर्ब विदेशी सहयोग आउला, २ खर्ब विदेशी ऋण आउला, अरु स्रोत कहाँबाट उठाउनु हुन्छ ?’ रिजालले प्रश्न गरे ।

रिजालले सबैका लागि रोजगारीको राजनीतिक नारा कार्यान्वयनप्रति कटाक्ष गरे, ‘आकाश हेरे पनि भूइँमा उभिएको कुरा नबिर्सिनुहोला ।’ प्रि–बजेटमाथि सांसदहरूले धारणा राख्नेक्रम जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्