
काठमाडौं, २५ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी असार १५ गतेभित्र मन्त्रालयका ठोस योजना ल्याउन मन्त्री र सचिवलाई निर्देशन दिनुभएको छ ।
मन्त्री तथा सचिवलाई सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका विषयमा आज सिंहदरबारमा निर्देशन दिनुहुँदै प्रधानमन्त्री ओलीले वर्तमान सरकार दीर्घकालीन सोचसहित अघि बढ्नुपर्ने बताउनुभयो । ‘देशमा लोकतन्त्र आइसकेको र जनताका अधिकार स्थापित भइसकेको अवस्थामा जनताका अपेक्षा पनि सरकारप्रति धेरै छन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जनअपेक्षा पूरा गर्नका लागि सबै मन्त्रालयहरूले योजनाबद्ध ढंगले काम गर्नुपर्छ ।’
‘यो सरकार पुजारीजस्तो होइन । बिहान उठ्ने मन्दिर जाने पूजा गर्ने । अनि भोलि फेरि उही रीत दोहोर्याउने,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशलाई हामीले नयाँ ढंगले अघि बढाउनुपर्छ । विगतको निरन्तरता मात्र होइन ।’ प्रधानमन्त्री ओलीले विकासप्रतिको नयाँ दृष्टिकोण बनाउनुपर्ने बताउनुभयो । ‘हरेक मन्त्रालयले के–कस्ता कार्यक्रम सञ्चालन गर्ने, कसरी गर्ने ? त्यसका लागि असार १५ गतेभित्र ठोस योजना लिएर आउनुहोस्,’ प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई निर्देशन दिँदै भन्नुभयो, ‘असार २५ गते ती योजनाको विषयमा ब्यापक छलफल गरेर साउन १ गतेदेखि कार्यान्वयन शुरू गर्नुपर्छ ।’
खेर गएको जमिनलाई सदुपयोग गरेर कृषिमा आत्मनिर्भर हुने बाटोमा अघि बढ्नुपर्ने प्रधानमन्त्री ओलीको धारणा छ । ‘जनताको अपेक्षा सरकारले सबैथोक गरिदेओस् भन्ने हुन्छ । तर, सरकारसँग त्यो सामथ्र्य नहुने भएकाले जनतालाई आफैं सक्षम बन्न सिकाउनुपर्छ,’ उहाँले भन्नुभयो । सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा असन्तुष्टि व्यक्त गर्नेलाई कामबाट जवाफ दिनुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
सरकार सुशासनमा दृढ रहेकाले सबै मन्त्री तथा सचिवलाई यसको प्रत्याभूति दिन प्रधामन्त्री ओलीले निर्देशन दिनुभयो । ‘सरकार भ्रष्टाचारप्रति शून्य सहनशील छ । त्यसकारण साथीभाई, कार्यकर्ताका काम भनेर अपारदर्शी र अनियमित काम नगर्नुहोस्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।