१० असार २०८३, बुधबार

बुटवल उपमहानगरको ‘दुबै हातमा लड्डु’ : एकातिर विज्ञापन कर, अर्काेतिर झिलिमिली !

असार १, २०७५
बुटवल उपमहानगरको ‘दुबै हातमा लड्डु’ : एकातिर विज्ञापन कर, अर्काेतिर झिलिमिली !

बुटवल, १ असार – उज्यालो शहर अभियान अन्तर्गत बुटवल उपमहानगरपालिकाको शून्य लगानीमा बुटवल शहरका सडक पेटी र चोक झिलिमिली बन्दै छन् । वैकल्पिक ऊर्जाको प्रयोगमार्फत् उपमहानगरले सडक र मुख्य चोकलाई उज्यालो बनाउन शुरू गरेको छ ।

निजी क्षेत्रको सहकार्यमा यो काम भइरहेको उपमहानगरले जनाएको छ । पहिलो चरणमा मुख्य सडक र सार्वजनिक स्थलमा सौर्य ऊर्जाबत्ती जडान गरिएको उपमहानगरपालिका निमित्त प्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् । उनका अनुसार सार्वजनिक–साझेदारी नीति अन्तर्गत एपेक्स नेपालको सहकार्यमा वैकल्पिक सौर्य ऊर्जाका सडक बत्ती जडान गरेर बुटवलका सडकलाई झिलीमिली बनाउने काम शुरू भएको छ । एपेक्स नेपालले उपमहानगरको स्वीकृतिमा पहिलो चरणमा १ सय ५० सडक बत्ती जडान गरिरहेको छ । 

एकनाशका आकर्षक बत्ती सडकको डिभाइडरमा राखिएको छ । अर्को चरणमा सार्वजनिक चोक र व्यस्त बजार क्षेत्रमा पनि जडान गरिने छ । हालसम्म १ सय बत्ती जडान भइसकेका छन् भने गोलपार्कदेखि पुष्पलाल पार्कसम्म ५० बत्ती जडान गर्न बाँकी छ । सो स्थानमा चलिरहेको सडक विस्तार पश्चात् मात्र सडक बत्ती जडान हुने उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार व्यस्त बजार क्षेत्र र सार्वजनिक चोकमा पनि त्यसपछि बत्ती जडान गरिने छ ।

सडक बत्तीसँगै प्रत्येक पोलमा एपेक्सले डिजिटल विज्ञापन बोर्ड राखेको छ । अब सडक पेटी र किनारमा आफूखुशी र जथाभावी विज्ञापनका होर्डिङ राख्न नपाइने भएको छ । एउटै साइज र डिजाइनका डिजिटल बोर्डमा सन्देशमूलक सामग्री पनि राखिने भएको छ । व्यावसायिक विज्ञापनका सामग्री राखेवापत बुटवल उपमहानगरपालिकालाई एपेक्स प्रालिले वार्षिक १७ लाख रुपैयाँ विज्ञापन कर पनि बुझाउने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राजनकुमार विसीले जानकारी दिए ।

उपमहानगर र एपेक्स प्रालिबीच हालै १५ वर्षका लागि सम्झौता भएको र त्यसअनुरुप बुटवलका अरु सम्बन्धित पक्षबीच पनि संयुक्त छलफल भएको उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख रामप्रसाद अर्यालले जानकारी दिए । सम्झौताअनुरुप एपेक्सले बुटवलका विभिन्न ६ स्थानमा ट्राफिक आइल्याण्ड, ३० वटा यात्रु प्रतिक्षालय, ५० स्थानमा डस्टबिन र आवश्यकता अनुसार विभिन्न स्थानमा सिसी क्यामेरा समेत जडान गर्ने तयारी भइसकेको छ ।

उपमहानगर, ईलाका प्रहरी कार्यालय र क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले तोकेको स्थानमा आवश्यकता अनुसार सीसी क्यामरा जडान गर्ने गरी काम अगाडि बढेको उपमहानगरका वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले बताए ।

विभिन्न ६ स्थानका आकाशे पुलमा पनि एपेक्सले डिजिटल विज्ञापन बोर्ड राख्ने सहमति भएको छ । सम्झौताअनुरुप १५ वर्ष पश्चात् सबै सम्पत्ति बुटवल उपमहानगरपालिकाको स्वामित्वमा आउने छन् । मर्मतसम्भारका काम समेत उहीँ कम्पनीले नै गर्नेछ । मुख्य शहरमा जथाभावी र भद्दा सामग्री राखेर शोभा नै बिग्रिइरहेका बेला एपेक्स प्रालिले एकनाशका सामग्री राख्ने गरी यस्तो अभियान शुरू गरेको छ । शहरको शौन्दर्यता पनि बढाउने र सुरक्षा व्यवस्थामा समेत सहयोग गर्ने गरी आफूहरूले सहयोग गरेको संस्थाका सञ्चालक कृष्णप्रसाद आचार्यले बताए ।

विज्ञापन होडिङ बोर्डका कारण कुरुप बनेको बुटवल उपमहानगरपालिकामा निजी साझेदारीमा सञ्चालित यो कार्यक्रमले बुटवललाई उज्यालो मात्र होइन, सुन्दर र सुरक्षित पनि बनाउने नागरिक अगुवाको भनाइ छ । उपमहानगरभित्र रहेका अव्यवस्थित पार्किङ र सडक पेटी अतिक्रमणलाई पनि हटाएर सुन्दर बनाउन जरुरी रहेको नागरिक अगुवा नर्बू लामाले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्