
काठमाडौं– नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक साँझ ५ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।
पार्टी एकीकरणलाई टुंगोमा पुर्याउने विषयमा छलफल गर्न आज बिहान सचिवालय बैठक बसेको थियो । बैठकमा संगठनात्मक संरचनाका बारेमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए । ‘बैठकले आज साँझ अथवा भोलिसम्म संगठनात्मक लगायतका विषयमा टुंगो लगाउने छ,’ उनले भने ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतको उपस्थिति थियो । असार २३ गतेको सचिवालय बैठकले पार्टीको प्रस्तावित नियमावलीलाई अन्तिम रुप दिन नेता वामदेव गौतमको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।
नियमावलीलाई कार्यदलले अन्तिम रुप दिइसकेकाले सचिवालय बैठकबाट पारित गरिने छ ।