२४ जेठ २०८३, आइतबार

विश्व बैंकका प्रतिनिधिद्वारा अध्यक्ष प्रचण्डसँग भेट

विश्व बैंकका प्रतिनिधिद्वारा अध्यक्ष प्रचण्डसँग भेट

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विश्व बैंकका प्रतिनिधि तथा नेपालका कन्ट्री म्यानेजर फारिस हदाद–जर्वोसले भेट गरेका छन् ।

बिहीवार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा विश्व बैंकले खेल्ने भूमिकाका विषयमा छलफल भएको थियो । अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा ७० वर्षपछि राजनीतिक स्थिरता कायम भएको उल्लेख गर्दै आर्थिक विकासका लागि सुवर्ण अवसर भएको बताए । अध्यक्षले नेपालको समृद्धिको अभियानमा आफूहरूले विश्व बैंकबाट सल्लाह, सहयोग र सहकार्य चाहेको बताए ।

अध्यक्षले भने, ‘हामीसँग ३ वटा (स्थानीय, प्रादेशिक र संघीय) सरकार रहेका छन् । हामी हाम्रा प्राथमिकता निर्धारण गर्छौं । जनताले प्रत्यक्ष अनुभूत गर्ने विकास योजना नै हाम्रा प्राथमिकतामा रहने छन् ।’ अध्यक्ष प्रचण्डले नेपालको विकासका प्राथमिकतामा ठूला जलविद्युत् परियोजना र पर्यटनका साथै मुख्यरुपमा कृषिमा आधारित उद्योग नै रहेको बताए ।

भेटका अवसरमा कन्ट्री म्यानेजर जर्वोसले नेपालमा राजनीतिक स्थिरता कायम भएको भन्दै प्रशन्नता व्यक्त गरे । उनले आफूहरूसँग विभिन्न देशका आर्थिक विकासका अनुभव रहेको बताउँदै ती अनुभव नेपालको विकासमा उपयोगी हुने बताए । जर्वोसले भने, ‘हामी पूर्वाधार विकासमा केन्द्रित हुन्छौं र सरकारको मातहत बसेर काम गछौं । तपाईहरूको प्रगति नै हाम्रो प्रगति हो ।’

नेपालको विकासमा उच्च प्राथमिकतामा रहेको कृषिमा आधारित उद्योगको पूर्वाधार निर्माणमा सहयोग गर्ने उनको प्रतिवद्धता थियो । म्यानेजर जर्वोसले विकास निर्माण भन्ने कुरा कुनै जागिर मात्र नभएर एक यात्रा भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्