
काठमाडौं – फूटबल विश्वकप २०१८ मा ६४ म्याचमा कुल १६९ गोल भए जसमा कीर्तिमान १२ आत्मघाती गोल पनि समावेश छन् । तीमध्ये कैयौं गोल यादगार रहे ।
एनबीटी स्पोर्ट्सले छानेको पाँच उत्कृष्ट गोल चाहिँ यी हुन् ः
बेल्जियमविरुद्ध ब्राजिल
क्वार्टरफाइनलमा बेल्जियम र ब्राजिल भिडेका थिए । बेल्जियमले खेल २–१ ले जित्यो र दुवै गोल पहिलो हाफमै ग–यो । दोस्रो गोलमा रोमेलु लुकाकुको भूमिका महत्त्वपूर्ण रह्यो । उनी बल लिएर तीव्रताका साथ विपक्षी डिफेन्समा घुसे । विपक्षी खेलाडीले घेरिएपनि लुकाकुले डीब्रुइनालाई सटीक पास दिए र उनले एक टचमा यस्तो शट हाने कि गोलकीपरले रोक्दारोक्दै बलले गोलपोस्टको जाली चुम्यो ।
पोर्चुगलविरुद्ध स्पेन
युरोपेली च्याम्पियन पोर्चुगलले समूह चरण्मा स्पेनसँग भिडन्त ग–यो । २–३ गोलले पछि परेको पोर्चुगलको हार टार्नका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले गजबको फ्रीकिक हाने । उनले हानेको फ्रीकिक गोलपोस्टमाथिबाट बाहिरिन्छ जस्तो लाग्थ्यो तर स्वाट्टै गोलपोस्टमा पस्यो । योसँगै रोनाल्डोको ह्याटट्रिक पनि पूरा भयो ।
फ्रान्सविरुद्ध अर्जेन्टिना
अन्तिम १६ को प्रतिस्पर्धामा फ्रान्स र अर्जेन्टिनाबीच राम्रो खेल भयो । फ्रान्स १–२ गोलले पछि परेको बेलामा बेन्जामिन पवार्डले उत्कृष्ट गोल गरेर बराबरी गरे । अर्जेन्टिनाको भागमा बायाँतर्फबाट लुकास फर्नान्डेजले क्रस गरे र बल बक्सबाहिर उभिएका पवार्डनजिक पुग्यो । बल अलिक बढी उफ्रेको थियो तर पवार्डले यस्तो शट हाने कि बल फिनीनीनी घुम्दै तीव्र गतिमा गोलपोस्टमा छि–यो ।
क्रोएसियाविरुद्ध अर्जेन्टिना
समूह चरणमा क्रोएसियाको भिडन्त अर्जेन्टिनासँग थियो । क्रोएसियाले उक्त खेल ३–० ले जित्यो । दोस्रो गोल कप्तान लुका मोड्रिचले गरे । उनले विपक्षी खेलाडीलाई बायाँबाट दायाँ गइरहेको भ्रम दिए । अनि अचानक उनले दिशा परिवर्तन गरे र बक्सबाहिरबाट यस्तो दामी शट हाने कि बल गोलपोस्टको दायाँ कुनामा छि–यो ।
स्विडेनविरुद्ध जर्मनी
मेक्सिकोसँग पहिलो खेल हारेर जर्मनी प्रतियोगिताबाट निस्कने स्थितिमा थियो । स्विडेनसँगको उसको खेल १–१ गोलको बराबरीमा थियो । दोस्रो हाफको इन्जुरी टाइमको अन्तिम क्षणमा स्विडेनले जर्मनीलाई फ्रीकिक दिने गल्ती ग–यो । टोनी क्रूसले बक्सनजिक हानेको किकमा बल यस्तोसँग घुम्यो कि सीधै कुनाबाट गोलपोस्टमा छिर्न पुग्यो । जर्मनीले म्याच २–१ ले जित्यो ।
एजेन्सी