
काठमाडौं – नेपाली शान्ति प्रकियाको मोडल अध्ययन गर्न राजधानी आइपुगेको अफगानी टोलीले बिहीवार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डलाई भेटेको छ ।
टोलीले अध्यक्ष प्रचण्डसँग शान्ति प्रक्रियामा नेपालले अवलम्बन गरेको नीतिका बारेमा छलफल गरेको थियो ।
जवाफमा प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा नयाँ मोडल भएको बताउँदै नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर संसारलाई एउटा सकरात्मक सन्देश दिएको बताएको उनको सचिवालयले जनाएको छ ।
प्रचण्डले नेपालको शान्ति प्रक्रियाबाट नेपाली जनताले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी लगायतका उपलब्धि पाएको बताए ।
उनले भने, ‘नेपाली जनताको राजनैतिक स्वतन्त्रताको आन्दोलन भएकाले यसमा धेरै ठूलो जनसहभागिता थियो । हामीले जनताको अधिकारका निम्ति भएको युद्धलाई नेतृत्व गर्यौं र धेरै हदसम्म अधिकार स्थापित गराउन सफल भयौं ।’
भेटमा अफ्गानस्तान उच्च शान्ति परिषद्की उपप्रमुख पूर्वमन्त्री डा. हबिबा साराबीले अफ्गानस्तान शान्तिप्रक्रिया अघि बढेको जानकारी दिँदै नेपालको शान्तिप्रक्रियाबाट सिक्न आफूहरू नेपाल भ्रमणमा आएको जानकारी दिइन् ।
उनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय भएको भन्दै त्यसबाट सिक्न आफूहरू इच्छुक रहेको बताइन् ।
भेटमा भ्रमण दलका सदस्यहरूले नेपालमा जनयुद्धको क्रममा हतियारको स्रोत, पूर्व जनमुक्ति सेनासँग भएको हतियारको अवस्था र शान्ति प्रक्रियाका कामलाई सहयोग गर्न स्थापना भएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयको काम कारवाहीबारे पनि जिज्ञासा राखेका थिए ।