
धनगढी– प्रदेश ७ को स्थायी राजधानीका बारेमा असहमति जनाउँदै धनगढीमा आन्दोलन जारी छ । अनिश्चितकालिन आमहड्तालले धनगढीकाे जनजीवन प्रभावित भएकाे छ ।
आन्दोलनका कारण बजार बन्द छ भने यातायात आंशिक रूपमा चलेका छन् । बजारमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेश सभाले प्रदेशको राजधानी गोदावरी बनाउने निर्णय गरेपछि कांग्रेसले यसअघि घोषणा गरेकाे अनिश्चितकालिन धनगढी बन्दलाई पनि निरन्तरता दिएको छ ।
धनगढी नागरिक समाजले पनि धनगढीमा अनिश्चितकालिन आमहड्ताल गरेको छ । बन्दकर्ताहरुले धनगढीका विभिन्न स्थानमा बिहानैदेखि प्रदर्शन गरेका छन् । यसअघि शुक्रबार प्रदेश नं ७ को नाम सुदूरपश्चिम र स्थायी राजधानी गोदावरी नगरपालिकाको तेघरीमा राख्ने प्रस्ताव प्रदेशसभा बैठकबाट दुई तिहाइले स्वीकृत भएको थियो ।
बैठकमा उक्त प्रस्तावलाई निर्णयार्थ पेश गर्ने क्रममा अपनाइएको मत सङ्कलनको प्रक्रियामा प्रस्तावको पक्षमा ३८ र विपक्षमा शून्य मत परेको थियो । प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यले बैठक बहिष्कार गर्दै सभाबाट बाहिरिएको अवस्थामा राजधानी र नामाङ्कनसम्बन्धी प्रस्तावको टुङ्गो लगाइएको थियो ।