
काठमाडौं–भ्रातृ संगठन नेपाल विद्यार्थी संको विधानलाई लिएर नेपाली कांग्रेसभित्र विवाद बढेको छ । विवादकै कारण केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
बिहीबार बस्ने तय भएको केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको हो । यसअघि आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले भातृ संस्था नेविसंघको विधानमा ३२ वर्षे हदम्याद कायम गर्ने निर्णय पारित गरेपछि पार्टीका नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र कृष्ण सिटौलाले निर्णयमा असहमति जनाउदै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।
सोमबार सिटौला, सिंह र केसी पक्षको बैठक बसेर सभापति शेरबहादुर देउवाले पार्टीमा विधि विधान विपरित एकलौटी निर्णय गर्न थालेको भन्दै आपत्ति जनाएका थिए । त्यसै दिन उनीहरुले असोज २५ गते बस्ने बैठक बहिस्कार गर्ने घोषणा गरेका थिए ।
नेविसंले सर्वसम्मतिले पारित गरेको विधानलाई बैठकमा प्रस्तुत नगरी अर्कै विधान बैठकमा प्रस्तुत गरिएपछि असहमति जनाएको नेताहरुले बताएका छन् । प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्रको विवादको बचाउ गर्दै महामन्त्री डा. शशाङ्क कोइरालाको पूर्व निर्धारित कार्यक्रम जिल्लामा भएका कारणले बैठक स्थगित भएको जानकारी दिएका छन् । नेविसंको विधान केन्द्रीय समितिबाट अनुमोदन नहुँदा महाधिवेशन नै हुने नहुने अन्योल भएको छ ।