
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार पनि बस्दैछ । बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, यही कात्तिक १२ र १३ गते हुने स्थायी समिति बैठकको कार्यसूची तर्जुमा, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफलको कार्यसूची छ ।
बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दिउँसो १ बजे बस्दैछ । प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको चयनमा वरिष्ठ नेता माधवकुमार नेपालको सार्वजनिकरूपमा व्यक्त गरेको असन्तुष्टि, उपनिर्वाचन, मन्त्रीहरूको कार्यक्षमता लगायतका विषयमा विवाद साम्य नहुँदा सर्दै आएको सचिवालय बैठक आइतबारबाट शुरु भएको हो ।
हिजोको बैठकले प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरको राजीनामा अस्वीकृत गरेको थियो । काठमाडौँ निर्वाचन क्षेत्र नं ७ बाट निर्वाचित सांसद मानन्धरले पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा ल्याउन आवश्यकपरेमा आफू राजीनामा दिन तयार रहेको भन्दै त्यसका लागि अनुमति पाउन पार्टी नेतृत्वलाई पत्र दिएका थिए । मानन्धरले दिएको पत्रबारे बैठकले हाल राजीनामा दिनु नपर्ने औपचारिक निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मानन्धरले संसद् सदस्यबाट राजीनामा दिने अनुमतिपत्र दिएको विषयमा हाल कुनै निर्णय गर्नु नपर्ने निर्णय गरेको जानकारी दिए ।