कृष्णमणि पराजुली
किन किन आफ्नै विगतको सम्झना आइरहेछ
डाँडापाखा, उकाली, ओरालीले बोलाएको जस्तो लागिरहन्छ
भुल्नै नसक्ने गरी सम्झना दिइरहने
त्यो गाउँ, त्यो ठाउँले
मलाई कति माया गरिरहेछ ।
आश्चर्य लागिरहेछ
साथीहरूले मलाई माया गर्न छोडिसकेछन्
तिनीहरू धेरै टाढा भएछन्
कोही आफैंलाई बिर्सिएर हराएछन्
कोही बाटो बिराएर हराएछन्
कोही क्र्रान्तिकारीको नारामा उतै हराएछन्
कोही खाडी मुलुकमा हराएछन्
कोही बिचौलियाबाट हराएछन्
कोही बे्रनड्रेनबाट हराएछन्
आखिर हराउन त हराएकै त हुन् ।
मेरी आमा पनि हराएकाहरूको आश गर्दागर्दै
कुर्दाकुर्दै
अहिले त होश गुमाइसक्नुभएछ
न छोरा, न छोरी फर्कन्छन्
न अरू कोही ।
हो
जिन्दगी त नफर्किने पो रहेछ
अविरल बग्ने नदी जस्तो
फर्कर्दै नफर्किने गरी
बगिरहने ।
त्यसैले
अब हामीलाई चाहिएको छ,
यो धर्तीले पनि मागिरहेको
हराउने जिन्दगी होइन
फर्किने जिन्दगी र
यो धर्तीलाई माया गर्ने जिन्दगी ।
अनि मात्र
मेरी चाउरी परेकी आमाले
हर्षको लामो सास फेर्नेछिन् ।