
बुटवल- नेपाल प्रेस युनियनले कतिपय विधेयकहरू पत्रकारलाई बाँध्ने गरी आएको भन्दै त्यसलाई फिर्ता गर्न माग गर्दै प्रतिनीधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ ।
मन्त्रिपरिषद्बाट पारित भई संसदमा पेश भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक, संसदमा विचाराधीन रहेको विज्ञापन नियमन गर्न बनेको विधेयक, सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र संसदमा लैजाने तयारी भएको आमसञ्चार विधेयकसहित पाइपलाइनमा रहेका अन्य विधेयकमा गरिएको जरिवाना तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था नेपालको स्वतन्त्र पत्रकारिताको घाँटी थिच्ने, पत्रकारितालाई घुमाउरो किसिमले निरुत्साहित गर्ने तथा सत्ता र शक्तिमा रहेकाहरूको भक्तिगानमा पत्रकारितालाई लैजाने नियत देखिएकाले त्यसलाई फिर्ता गर्न युनियनले माग गरेको हो ।
नेपाल प्रेस युनियनले ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालय मार्फत प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई छुट्टाछुट्टै पठाएको ज्ञापन पत्रमा प्रेस काउन्सिललाई विस्थापित गरी मिडिया काउन्सिल गठन गर्दै गर्दा यसको स्वायत्तता र स्वतन्त्र छविलाई समेत किनारा लगाउने प्रयास भएको उल्लेख गरिएको छ । नेपाल मिडिया काउन्सिलको दफा १८ को व्यवस्थामा काउन्सिलबाट जारी भएको आचारसंहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण भएमा मर्यादा वा प्रतिष्ठामा आँच पुर्याएको भनी सम्बन्धित व्यक्तिले दफा १६ बमोजिम दिएको उजुरी उपर दफा १७ बमोजिम जाँचबुझ गर्दा कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई पच्चीस हजार रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । युनियनले यसले साना लगानीका मिडियालाई निरुत्साहित गर्ने ठहर गरेको छ ।
नेपाल प्रेस युनियन रुपन्देही मंगलवार इलाका प्रशान कार्यालय रुपन्देही मार्फत पठाएको ज्ञापन पत्रमा सरकारले ल्याउने तयारी गरेको आमसञ्चार विधेयकका नाममा श्रमजीवी पत्रकारहरूको हकहितका लागि ल्याइएको श्रमजीवी पत्रकार ऐनलाई खारेज गरी श्रम ऐन मार्फत पत्रकारलाई नियमन गर्न खोजेकोमा युनियनको असहमति रहेको उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझाउँदै प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसालले विधेयकको प्रकाशन र प्रसारण गर्न नहुने तथा त्यसो गरेको अवस्थामा तोकिएको सजाय र जरिवाना पनि पत्रकारितालाई प्रतिबन्ध लगाउने नियतबाट ल्याइएको बताए ।
नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसालको नेतृत्वमा कार्यसमितिका पदाधिकारी सदस्य, सल्लाहकार तथा युनियन आबद्ध सदस्यहरूको सहभागिता रहेको थियो । पत्रकारिताको क्रममा कुनै कमजोरी भएमा १ करोड जरिवाना १५ वर्षसम्म कैद एउटा पत्रकारले सोच्न सक्ने विषय नभएको र पत्रकारिता गर्दा दोस्रो पक्षले सबैभन्दा उठाउने गाली बेइज्जतीको कुरामा समेत कसुरको मात्रा अनुसार तीन लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्थाले भ्रष्टाचार लगायतका विषयमा खोजी पत्रकारिता गर्नेलाई निरुत्साहित गर्ने किसिमले ल्याइएको उल्लेख गरिएको छ ।