काठमाडौं – भारतको सर्वोच्च अदालतले शुक्रवार बाबरी मस्जिद भत्काइएको मुद्दामा सुनुवाइ गर्दै आदेश दिएको छ ।
अदालतले भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी र अन्य नेताहरूविरुद्धको मुद्दामा आजको नौ महिनाभित्र फैसला गरिनुपर्ने आदेश दिएको छ ।
मुद्दाको सुनुवाइ लखनउमा ट्रायल कोर्टका सीबीआई जज एसके यादवले गरिरहेका छन् । उनले सर्वोच्च अदालतलाई पत्र लेखेर बाबरी मुद्दामा सुनुवाइ गर्न थप समय आवश्यक भएको बताएका थिए ।
सर्वोच्च अदालतले न्यायाधीश एसके यादवको कार्यकाल बढाउन पनि आदेश दिएको छ । उनी सेप्टेम्बर ३० मा सेवानिवृत्त हुँदैछन् ।
न्यायाधीश आरएफ नरीमन र सूर्यकान्तको इजलासले मुद्दाको सुनुवाइमा प्रमाणको रेकर्डिङ ६ महिनामा पूरा गर्न भन्यो ।
सन् १९९२ मा बाबरी मस्जिदको संरचना भत्काइएको थियो । उक्त घटनामा आडवाणी, जोशी, उमा भारती सहितका भाजपा नेता संलग्न थिए । सर्वोच्च अदालतले उनीहरूसँगै विनय कटियार र साध्वी ऋतम्भरामाथि पनि आपराधिक षड्यन्त्रको अभियोग लगाएको थियो ।
एजेन्सी