धूलोसँग हारेको दुईतिहाइको सरकार !

विमल गौतम
विमल गौतम

विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय गौतम लोकान्तर डट्कमका सञ्चालक एवं सम्पादक हुन् ।

गएको असार ६ गते, शुक्रवार । बिहानको सवा नौ बज्दैछ । निवासबाट कार्यालयतर्फ जाँदै थिएँ । ७ वर्षकी आफ्नी छोरीलाई स्कुटीमा राखेर स्कुल पुर्‍याउन निस्केकी आमा भैंसेपाटीको ओरालोमा लडिन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको घरअगाडिको बाटोको खाल्डोमा उनको स्कूटी चिप्लियो । बिस्तारै चलाइरहेकी थिइन्, जोगाउन खोज्दा खोज्दै नियन्त्रण गुमाइन्, आमा छोरी दुवै भुइँमा बजारिए । म उनको स्कूटीको पछि थिएँ । तत्कालै आफ्नो गाडी साइड लगाएँ । दुवैलाई उठाएँ । केहीबेरमा अरू मानिस पनि आए र स्कूटी उठाउन सहयोग गरे । दुवैको अनुहार, हात र खुट्टामा चोट लागेछ, रगत बग्न थाल्यो । आमा, छोरी दुवैलाई गाडीमा राखेर अल्का अस्पतालको एकान्तकुनास्थित इमर्जेन्सी वार्डमा पुर्‍याएँ । स्कूटीकी चालकसँग उनका आफन्तको फोन मागें र घटनाबारे जानकारी गराएँ । त्यसपछि म आफ्नो कार्यालयतर्फ लागें । 

आफ्नो गाडीअघि गुडिरहेको मोटरबाइक/स्कूटी पल्टिएर लड्न पुगेका घाइतेलाई मैले उद्धार गरेर अस्पताल पुर्‍याएको यो चौथोपटक थियो । तीन वर्षको अवधिमा यस्ता चारवटा दुर्घटनाका घाइतेलाई उद्धार गरेको छु । दुईपाङ्ग्रे सवारी चलाएका चारजना सवारीचालक र तिनको पछाडि बसेकालाई अस्पताल पुर्‍याएको छु । दुर्घटनामा पर्नेमा तीन स्कूटी र एक बाइकचालक थिए । दुइ स्कूटीचालक साना स्कूले बाबुनानी बोकेर स्कूल जाँदै गरेका आमा थिए भने एकजना स्कूटी चालक चाहिँ निजी कम्पनीमा काम गर्ने महिला थिइन् । 


Advertisement

ढल मर्मत गर्ने, खानेपानीको पाइप बिछ्याउने या बाटो विस्तार गर्ने नाममा खनेर छोडिएको बीच सडकको खाल्डोमा परेर यी दुर्घटना भएका थिए । ‘थ्यांक गड’, यी चारै दुर्घटनामा कसैको ज्यान गएन । तर यी दुर्घटनामा पर्नेमध्ये केहीको अवस्था कारुणिक छ । 

केही दिनपहिले भैंसेपाटीमा रहेको बिगमार्टमा आमासँग किनमेल गर्न आएकी एक बालिकाको आवाज मेरो कानमा ठोक्किन आइपुग्यो – अंकल, अंकल । यो पंक्तिकार पनि सामान किन्न त्यहीँ पुगेको बेला परेछ । बोलाउँदै ती बालिका मेरो छेउमै आइन् र भनिन् – मलाई चिन्नुभएन ? हजुरले अस्पताल पुर्‍याउनु भएको थियो नि !

आमाले चालएको स्कूटी पल्टिँदा घाइते भएकी कक्षा २ मा पढ्ने एक बालिका (परिवारको  अनुरोधमा यहाँ उनको नाम उल्लेख गरिएको छैन) रहिछन् । ठ्याक्कै मिति त यकिन भएन तर उनलाई मैले गएको माघ महिनामा दुर्घटनापश्चात् उद्धार गरेको थिएँ, चिनिहालें । ‘अहिले कस्तो छ नानु तिमीलाई’ भनी सोधें । उनकी आमा पनि छेउमै आइपुगिन् । एकछिन अघि हाँस्दै मलाई बोलाएकी ती बालिका मेरो प्रश्न सुन्नेबित्तिकै मलिन भइन् । अर्को दिशातर्फ फर्किन् । के भो नानु तिम्लाई ? यसो हेर्छु त बालिका सुँक्क सुँक्क गर्दै रुन थालिछन् । 

मलाई थाहा छ– मेरो एक्लो प्रयासले यहाँ केही फरक पार्नेवाला छैन । तर अर्को एउटा तथ्य पनि थाहा छ– धूलोको विरोध कसैले गर्दै नगर्ने हो भने हाम्रा ‘कुम्भकर्ण शासक’को चेत कहिले र कस्ले खुलाउने ? त्यसैले लेख्न, बोल्न किन छोड्ने ?

ह्वाइ आर यु क्राइङ ? ‘ह्वाट्स रङ विथ यू’ ? जुन दिन मैले ती बालिकालाई अस्पताल पुर्‍याएको थिएँ, त्यही दिन थाहा पाएको थिएँ, उनी अंग्रेजी बोल्न रुचाउँथिन् । उद्धार गरेर अस्पताल पुर्‍याउँदै गर्दा बाटोमा मसँग र पछि चिकित्सकसँग उनले हरेक प्रश्नको जवाफ अंग्रेजीमा दिएकी थिइन् । मलाई थहा भएको थियो – उनलाई नेपाली भन्दा अंग्रेजी बोल्न सजिलो लाग्छ । आजकलका स्कूले नानीबाबु धेरैमा यस्तो प्रवृत्ति पाइन्छ । हरेक दिन आफ्नै छोरासँग मेरो यस्तै भोगाइ छ । 

त्यसैले मैले बिगमार्टमा अचानक भेटिएकी ती बालिकालाई अंग्रेजीमै सोधें –‘ह्वाट्स रङ विथ यू ?’ उनी खुलेर बोलून् र समस्या बताउन सकून् भनेर उनलाई मनपर्ने भाषामा मैले प्रश्न गरें । अंकल, ‘सरी टु लेट यु नो द्याट टु अफ् माई राइट ह्यान्ड फिङ्गर्स डोन्ट वर्क आफ्टर द्याट एक्सिडेन्ट ।’ अर्थात् बालिकाको सन्देश थियो – त्यो दुर्घटनापछि उनको दाहिने हातका दुई औंलाले काम गर्दैनन् ।’ छोरीले मलाई सुनाएको यस कुराले आमाको पनि मन थामिएन, उनका पनि आँखा रसाए । मैले सम्झाएँ –‘त्यो दुर्घटना धन्न यत्तिमै टर्‍यो । यसभन्दा ठूलो क्षति भएन । अब यसैमा चित्त बुझाउनुहोस्, सम्हालिनुस् । नानीलाई पनि सम्झाउनुस् ।’ एउटा क्याडबरी किनेर ती नानुलाई दिएँ र भनें – रुने होइन, ‘बोल्ड’ हुनुपर्छ है । उनी बिस्तारै सम्हालिँदै थिइन् । बाई गरें र म हिडें ।

आदरणीय पाठकवृन्द ! 

ती बालिका र उनकी आमालाई सम्हालिन त भनें । तर उनीहरूलाई भेटेको कैयौं दिनसम्म म आफंै सम्हालिन सकिनँ । ती बालिकालाई भेटेपछिका केही दिन यस देशका मन्त्री, कर्मचारी र ठेकेदारप्रति अझै बढी आक्रोश पोखें । ती बालिका एक प्रतिनिधि पात्र हुन् जसलाई संयोगले म आफैले भेटें र चिनें । यस काठमाडौं खाल्डोमा या देशका विभिन्न स्थानमा यस्ता हजारौं बालबालिका, वयस्क र वृद्ध छन् जसले यस्तै दुर्घटनामा या त ज्यान गुमाउनुपरेको छ या ती बालिकाले जस्तै एकबारको जुनीको शरीरको महत्त्वपूर्ण अंग अर्थहीन बनाउनुपरेको छ । धेरैजसो दुर्घटना हाम्रा शासकले थापेका ‘पासोमा’ परेर भएका छन् । सडकको बीचमा पारिएको यस्तै खाल्डोमा परेर कीर्तिपुर नगरपालिका–६ चोभारमा २०७४ साल साउन ३० गते दोलखाका १२ वर्षीय श्यामसुन्दर श्रेष्ठको ज्यान गएको थियो । काठमाडौंको कपनमा पनि एक बालक सडकको खाल्डोमा पुरिएर गम्भीर घाइते भए । हिजो शनिवार (२५ साउन, २०७६) का दिन यस्तै खाल्डोमा पुरिएर धादिङ जिल्लामा दुईजनाको मृत्यु भएको खबर आएको छ ।  

एक भ्रष्ट र दिशाहीन मन्त्री, घूसखोर कर्मचारी र दलाल ठेकेदारको चरम लापरवाहीका कारण (जसलाई सम्पन्न देशमा हो भने मृत्युदण्डसम्मको सजाय हुनसक्छ) ती बालिका जस्तै धेरैले पीडादायी जीवन बाँच्न विवश हुनुपरेको छ । आफ्नै आमाले चलाएको स्कूटीमा बसेर स्कूल जाँदै गरेकी ती निर्दोष बालिकाको के दोष थियो जसले अनाहकमा आफ्ना दाहिने हातका दुईवटा औंलाको महत्त्व गुमाउनुपर्‍यो ? भर्खर आफ्नो प्रारम्भिक शिक्षा शुरू गरेकी उनलाई उक्त घटनापछि कलम समाएर लेख्न गाह्रो परेको छ । के बिगारेकी थिइन् ती निर्दोष बालिकाले ? तिनकी आमाले ? यस्ता घटनामा किन संवेदनशील छैन मेरो राज्य ? यहाँका नेता ? कर्मचारी ? ठेकेदार ? काठमाडौंमा मास्क लगाउनुपर्दैन भनेर सार्वजनिक भाषण गर्ने दुईतिहाइको सरकारको नेतृत्व गरिरहेका मेरो देशका प्रधानमन्त्री किन छैनन् संवेदनशील यस्ता घटनामा ? कि यो देशका प्रधानमन्त्री, मन्त्री, कर्मचारी, ठेकेदारलाई कहिल्यै ती अबोध बालिकाजस्ता कैयौंको पाप लाग्दैन ? धर्ममा विश्वास गर्ने हो भने कहिले लाग्छ उनीहरूलाई पाप र कहिले पाउँछन् उनीहरूले यस्तो गम्भीर अपराधको सजाय ? कि त भन्नपर्‍यो दुईतिहाइको शक्तिशाली सरकारले – म धूलोसँग हारें भनेर । वर्षौंसम्म धूलो, धूवाँ, प्रदूषण नियन्त्रण गर्न नसकेको देख्दा म त निष्कर्षमा पुगेको छु– ‘यसअघिका जस्तै अहिलेको दुईतिहाइको शक्तिशाली सरकार पनि धूलोसँग हार्‍यो । धूलो तह लगाउन नसक्ने सरकारसँग अरू बढी के आशा गर्ने ?’  

मैले माथि उल्लेख गरें– ती बालिकालाई बिगमार्टमा भेटेपछिको केही दिनसम्म म आफैं सम्हालिन सकिनँ । खासमा विगत दुई दशकदेखि म आफैं काठमाडौंको खाल्डोमा सम्हालिन सकिरहेको छैन । काठमाडौं शहरका सडकमा चरम लापरवाहीपूर्ण ढंगले बनाइएका खाल्डा (जसलाई म शासकले थापेका पासोका रूपमा बुझ्छु), त्यस वरपरबाट निस्केको धूलो, धूवाँ, हिलो, लत्रिएका बिजुलीका तार, घना बस्तीबीचको बाटो तर पिच उप्किएको, डुङ्डुङ्ती गनाउने फोहर, अव्यवस्थित शहरी बस्ती र गतिविधिका कारण म सम्हालिन सकिरहेको छैन । मलाई धूलो धूवाँको अलि बढी नै एलर्जी छ । धूलोको एलर्जी कसलाई हुँदैन ? कम या बढीको कुरा न हो । मलाई कसैले यो देशको प्रमुख समस्या के हो भनेर सोध्यो भने उत्तर हुनेछ – धूलो, धूवाँ र प्रदूषण । के गर्‍यो भने काठमाडौंको जीवन सुध्रिन सक्छ भनेर मलाई कसैले सोध्यो भने म भन्नेछु – धूलो नियन्त्रण भयो भने ।

राजधानी नै कुरूप बनाउने गरी जेलिएको तार

काठमाडौंको प्रमुख समस्या धूलोलाई मान्ने धेरै कम होलान् । त्यसमध्ये म एक पर्छु । बाँचे पो समृद्धिका कुरा गर्न पाइन्छ । फोक्सो र मुटु ठीक छ भने न अरू विषयमा ध्यान दिन पाइन्छ । शरीर रहे न जीवनका बाँकी कुरा । बिहान फ्रेश भएर घरबाट निस्कने म जस्ता हजारौं मानिसलाई एक किलोमिटर दूरी पार नगर्दै धूलो, धूवाँले सताउन थाल्छ । घाँटी खसखसाउन थाल्छ । आँखा चिलाउन थाल्छन् । नाक पिरो हुन थाल्छ । सिंगो टाउको भारी हुन थाल्छ । अनि के नयाँ र सकारात्मक कुरा सोच्नु ? दिनभरि जे गर्छु भनेर हिँडेको छ, त्यसको ऊर्जा नै मर्न थाल्छ । धूलो, धूवाँले दिनभरको सिर्जनात्मकता नै मारिदिन्छ । तनाव, आक्रोश बढाउँछ, सकारात्मक सोच कम आउँछ । यसमा धूलो प्रमुख कारक छ । मेरा शासक प्रमुख जिम्मेवार छन् । मेरो दोष छैन, म जस्ता हजारौं नागरिकको दोष छैन किनभने सजिलै पुर्न सकिने सडकका खाल्डा यस देशका भ्रष्ट मन्त्री, कर्मचारी र ठेकेदारको मिलेमतोमा समयमै मर्मत भएको छैन । सडक चौडा गर्ने, खानेपानीको पाइप बिछ्याउने वा ढल मर्मत गर्ने नाममा खनिएका खाल्डा या पिच उप्काइएका सडक पनि त्यस्तै भ्रष्टहरूको स्वार्थले गर्दा समयमै पुरिएका या मर्मत भएका छैनन् । यसले गर्दा सयौं सवारीसाधन गुड्ने काठमाडौंका सडकमा घाम लागेको बेला बुङ्बुङ्ती धूलो र पानी परेको बेला छ्यापछ्याप्ती हिलो झेल्नुपर्छ । 

आजकल जसलाई भेटेपनि म धूलोको प्रसंग उठाउँछु । कतिपय मेरा साथीहरू भन्ने गर्छन्– खर्बौं, अर्बौं रूपैयाँका विकास निर्माण/पूर्वाधारका परियोजनाका कुरा छन्, वैदेशिक लगानीको  सवाल छ । स्थिर राजनीतिको सवाल छ । दुईतिहाइ सरकारको समीक्षाको विषय छ । हाम्रो देशको आर्थिक वृद्धिदर, आयात, निर्यात, प्रतिव्यक्ति आय, जलविद्युत्, रेल, पानीजहाज, व्यापारघाटा, नाफा, ठूल्ठूला परियोजना आदि इत्यादिको कुरा पो महत्त्वपूर्ण हुन् त । जाबो धूलोसँग पनि यति धेरै तर्सेर बस्ने हो ?

म जब–जब नेपाल छोडेर अन्य देशमा पुगेको हुन्छु, त्यहाँको शहर, सडक, ढल, खानेपानीको बन्दोबस्त कसरी गरिएको रहेछ भनेर सोधखोज गर्छु, हेर्छु । कुनै पनि भूभाग खाली छोडेको देख्दिनँ । जतासुकै ब्ल्याक टप गरेको मात्र देख्छु । अनि त्यहाँ धूलो उड्दैन । खाल्डा पर्दैनन् । सडकबाहिरका खाली ठाउँमा भने बिरुवा रोपेर हरियाली बनाइएको हुन्छ ।

हो, धूलो सामान्य विषय हो । सुन्दा सामान्य लाग्छ । तर मलाई काठमाडौंको धूलो, धूवाँ र प्रदूषण अर्बौं रूपैयाँमा भएको भ्रष्टाचार भन्दा कैयौं गुणा ‘हार्मफुल’ लाग्छ । किनभने धूलोले फोक्सो बिगार्छ । मुटुरोग बढाउँछ । क्यान्सर गराइदिन्छ । जब तपाईं यस्ता प्राणघातक रोगको शिकार हुनुहुन्छ, बाँकी जीवनको बारेमा के सोच्ने ? के गर्ने ? जब तपाईं डरलाग्दा रोगको शिकार हुनुहुन्छ, उपचार गर्दागर्दै तपाईंको जीवन सकिन्छ । तपाईंलाई अरू काम गर्ने अवसर नै हुँदैन, वातावरण नै बन्दैन । तपाईंको एकबारको जीवन बाँचेर पनि मरेतुल्य हुन्छ । पीडामाथि पीडा आइलाग्छ । सिंगो जीवन बर्बाद हुन्छ । त्यसैले मलाई अर्बौं रूपैयाँमा हुने भ्रष्टाचार भन्दा धूलो, धूवाँ र प्रदूषण कैयौं गुणा हानिकारक लाग्छ । 

अर्कोतिर धूलो उड्ने वातावरण बन्नुमा तपाईं हामीले करको रूपमा तिरेको पैसाको दुरुपयोगको प्रसंग पनि जोडिएको छ । विकास निर्माणका काममा लापरवाही भएको छ । सडक पिच भत्किएको छ । खानेपानी, ढल, बिजुलीका तारको सही ढंगले व्यवस्थापन गरिएको छैन । मर्मत गरिएको छैन । गुणस्तरीय काम भएको छैन । त्यसैले अबोध बालिका लडाउने खाल्डा प्रशस्तै बनेका छन् अनि त्यहाँबाट धूलो उडेको छ । कैयौं महिनासम्म ती निर्दोष बालिका घाइते बनाउने खाल्डा पुरिएका हुँदैनन्। यस हिसाबले धूलो उड्नुका पछाडि पनि भ्रष्टाचारले काम गरेको छ । भ्रष्टाचार भएको छ, त्यसैले धूलो उडिरहेको छ, जताततै खाल्डै खाल्डा परेका छन् । 

कति प्रदूषित छ काठमाडौं ? 

विश्व स्वास्थ्य संगठनका सन् २०१६, १७ र १८ का इन्भारनमेन्टल पर्फमेन्स इन्डेक्स (इपीआई) रिपोर्टहरू अनुसार एकसय ८० देशमध्ये अत्यधिक धूलो, धूवाँँ र प्रदूषण हुनेमा नेपाल एकसय ७७ औं स्थानमा पर्छ । यसैले देखाउँछ नेपालको अवस्था । एकसय ८० देशमध्ये नेपाल भन्दा तीन देशमा धूलो, धूवाँँ र प्रदूषण अलि बढी छ । त्यसपछि नेपालमा छ । विश्व स्वास्थ्य संगठनले नेपालको काठमाडौंलाई अत्यधिक प्रदूषित शहर भनेको छ । अत्यधिक धूलो, धूवाँँ र प्रदूषणका कारण नेपालीहरू फोक्सो, मुटु, क्यान्सर, श्वासप्रश्वास र एलर्जी जस्ता नसर्ने रोगबाट ग्रस्त बनेको उसको रिपोर्टमा उल्लेख छ । 

नम्बेओ नामक संस्थाले सन् २०१७ मा सार्वजनिक गरेको रिपोर्टअनुसार, संसारका दुईसय ९० शहर मध्ये सबैभन्दा बढी प्रदूषित शहरमा काठमाडौं सातौं नम्बरमा छ । यसै संस्थाको वेबसाइट डब्लुडब्लुडब्लु डट् नम्बेयो डट्कममा गएर हेर्ने हो सन् २०१९ को मध्यतिरको प्रारम्भिक रिपोर्टमा प्रदूषित शहरमा काठमाडौं तेस्रो नम्बरमा छ । पहिलो नम्बरमा म्यासेडोनियाको टेटोभो र दोस्रोमा घानाको अक्रा भन्ने शहर परेका छन् । यी दुईपछि सबैभन्दा बढी प्रदूषित हुनेमा काठमाडौं छ । त्यस्तै एयर भिजुअल नामक संस्थाको सन् २०१८ को अध्ययनले पनि काठमाडौं अत्यधिक प्रदूषित शहरको सूचीमा अग्रस्थानमा देखाएको छ । माथि उल्लेख भएका केही प्रतिनिधिमूलक प्रतिवेदन या अध्ययन मात्र हुन् । गूगलमा सर्च गर्ने हो भने प्रदूषित शहरबारे थुप्रै अध्ययन, अनुसन्धान र प्रतिवदेन भेटिन्छन् । समय दिएर हेर्नुहोस्, जुन अध्ययन, प्रतिवेदन या अनुसन्धान हेरे पनि, पढे पनि, सबैभन्दा बढी प्रदूषित शहरको सूचीमा काठमाडौं पर्छ । देशमा नेपाल पर्छ । 

काठमाडौंको कुन चाहिँ स्थान यस्तो होला जहाँ धूलो उडिरहेको छैन ? यहाँका कुन सडक सग्ला छन् ? मेरो देशको राजधानी काठमाडौंको धूलो हेर्न मन हुनेले यो खाल्डोबाट अलि पर सानो पहाड उक्लेर नियाल्न सक्छ । मैले धेरैपटक नियालेको छु । जस्तो, धेरै टाढा जानै पर्दैन । तपाईंमध्ये कतिजना पुग्नुभएको छ भक्तपुरको चाँगुनारायण मन्दिरदेखि साढे २ किलोमिटर टाढा रहेको त्रिशूल डाँडामा ? पुग्नुभएको छैन भने त्यहाँ एकपटक जानुहोस् । काठमाडौंको कोटेश्वरबाट करीब १२ किलोमिटरको यात्रा गरेपछि त्रिशूल डाँडामा पुगिन्छ । त्रिशूल डाँडाबाट काठमाडौं शहरको ९८ प्रतिशत भूभाग देखिन्छ । त्यो डाँडामा उभिएर हेर्नुहोस्– यो खाल्डोको आकाश । अनि देख्नुहुनेछ धूलो, धूवाँँ र प्रदूषणको कमाल ।

भित्री शहरको कुरा गरौं । प्रधानमन्त्रीको निवास रहेको बालुवाटारबाट जुन बाटो भएर प्रधानमन्त्री सिंहदरबार आउँछन्, तुलनात्मक रूपमा त्यो स्थानबाहेक भित्री शहरको जुनसुकै ठाउँमा जानुहोस्, जोसुकैले धूलो उडेको देख्न सक्नुहुनेछ । शायद, आफू ओहोरदोहोर गर्ने बाटोमा धूलो कम देखेर हो कि मेरो देशका प्रधानमन्त्रीले काठमाडौंमा अब मास्क लगाएर हिँड्नुपर्दैन भनेर पटक–पटक सार्वजनिक रूपमै भाषण गरेको हो ? काठमाडौंमा मास्क लगाउनुपर्दैन भन्ने प्रधानमन्त्रीको भाषणभन्दा अरू ठूलो अपमानको विषय के हुनसक्छ धूलो, धूवाँँ, खाल्डा, सडकभरि लत्रिएका बिजुलीका तार, हिलो र त्यसबाट सिर्जित अनगन्ती समस्याबाट शिकार भएका काठमाडौं खाल्डोका करीब ३० लाख जनताका लागि ?

ललितपुरको भैंसेपाटी, नक्खुपुल र वरिपरि, यूएन पार्क वरपरको क्षेत्र, कुमारीपाटी, लगनखेल बसपार्क र वरपरको क्षेत्र, महालक्ष्मीस्थान र वरिपरि, पाटन दरबार स्क्वाएर क्षेत्र, पाटन अस्पताल वरिपरिको क्षेत्र, सातदोबाटो, ग्वार्को, बालकुमारी, इमाडोल, सुनाकोठी, ठेचो लगायत धेरै स्थान धूलो, धूवाँँ र हिलोबाट व्यापक रूपमा ग्रस्त क्षेत्र हुन् । यी क्षेत्रमा बाह्रैमास धूलो उडिरहेको हुन्छ । कि त यी स्थान धूलोले छोपिएका हुन्छन् कि हिलाम्यै हुन्छन् । सातदोबाटो चोकबाट चापागाउँ जाने बाटो अहिले कुरूप बनेको छ । धूलो, हिलो र धूवाँँबाट आक्रान्त बनेका यो रूट वरपरका बासिन्दाले केही पहिले मूल सडकमा परेका खाल्डा र त्यसमा जमेको पानीमाथि व्यंग्य गर्दै ‘यहाँ माछापालन गरौं, धान रोपौं, पौडी खेलौं’ जस्ता प्लेकार्ड बोकेर सडकमा निस्किए । अरू त अरू पाटन अस्पताल र लगनखेल बसपार्क नजिकै रहेको मिडाट अस्पतालमा आउने बिरामी र तिनका आफन्तलाई सबैभन्दा पहिला धूलोले नै स्वागत गर्छ ।

बिहान फ्रेश भएर घरबाट निस्कने म जस्ता हजारौं मानिसलाई एक किलोमिटर दूरी पार नगर्दै धूलो, धूवाँले सताउन थाल्छ । घाँटी खसखसाउन थाल्छ । आँखा चिलाउन थाल्छन् । नाक पिरो हुन थाल्छ । सिंगो टाउको भारी हुन थाल्छ । अनि के नयाँ र सकारात्मक कुरा सोच्नु ?

बल्खु चोकको वयोधा अस्पताल पुग्नुभएकै होला । त्यस अस्पताल वरिपरिको धूलो देख्नुभएकै होला । अस्पतालभित्र जति नै सुकै सफा गरे पनि के फरक पर्छ र जब त्यस वरिपरिको क्षेत्र धूलोले ग्रस्त छ भने ? धूलो त अस्पतालको प्रत्येक कोठा, बिरामीको बिस्तरा र सिरानीमा पुगेकै हुन्छ । धूलोका कणहरू बिरामीको फोक्सोमा पुगेकै हुन्छन् । सबैभन्दा बढी मन त्यतिबेला रुन्छ जतिबेला स–साना बालबालिका अध्ययन गर्ने प्रि–स्कूल वरपर कुहिरीमण्डल धूलो उडिरहेको हुन्छ र कलिला उमेरका मायालाग्दा तपाईं हाम्रा बालबच्चा धूलो, धूवाँँ र प्रदूषणबाट बाह्रै महिना शिकार भइरहेका हुन्छन् ।  

काठमाडौंका बल्खु क्षेत्र, कलंकी, सीतापाइला, स्वयम्भू, बालाजु, नयाँ बसपार्क, गोंगबु, सामाखुसी चोक, सुकेधारा चोक, महाराजगञ्ज चोक, चावहिल, गौशाला, बौद्ध, तीनकुने, कोटेश्वर चोक धूलोधूवाँँबाट सबैभन्दा बढी ग्रसित स्थान हुन् । चावहिल–बौद्ध–गोकर्ण–साँखु रूटमा पुगेर नियाल्नुस् । यो रूट धूलो, हिलो, धूवाँँ, लत्रिएका बिजुलीका तारबाट आक्रान्त छ । त्यहाँका बासिन्दा भत्किएको बाटो निर्माणको काम चाँडो सक्न दबाब दिने उद्देश्यले धेरैपटक विरोधमा उत्रिसके । उनीहरूको आवाज कसैले सुनिरहेको छैन । माथि उल्लेख भएका सबै क्षेत्रको आसपासमा रहेका साना बालबालिका पढ्ने स्कूल, अस्पताल, कार्यालय, पसल लगायत सबै संरचना धूलोबाट प्रताडित छन् ।

काठमाडौंको भित्री शहरको कुन चाहिँ भाग धूलोबाट जोगिएको छ ? कुन चाहिँ भागमा पिच उप्किएको छैन ? सडकको बीचमा खाल्डा परेका छैनन् ? बीच सडकमा पिच गरिएको छ भने दायाँबायाँ भागमा या त धूलो जमेको छ या हिलो । जुन हालत ललितपुर र काठमाडौंको छ, त्यसभन्दा कुनै पनि हालतमा कम छैन– भक्तपुर । 

बालबालिकामाथि अपराध 

काठमाडौं उपत्यकाको धूलोको असर थाहा पाउने धेरैका आ–आफ्नै तरिका होलान् । विभिन्न अनुभवले त्यसको असर थाहा पाउन सकिएला । तर मलाई सबैभन्दा पीडादायी बनाउने उदाहरण यहाँ दिन चाहन्छु । काठमाडौंको धूलोको असर बुझ्नु छ भने सबैभन्दा पहिला अस्पतालहरूमा जानुहोस् र बालरोगविज्ञ चिकित्सकको कोठाबाहिर बसेका स–साना बालबच्चा र तिनका आफन्तलाई हेर्नुहोस् । आफैंले धेरैपटक भोगेको सदाबहार उदाहरण हो– ललितपुरकोे जावलाखेल चोक नजिक रहेको अल्का अस्पतालका चिकित्सक डा. अरुण शर्माको कार्यकक्षमा हुने भीड । डा. शर्मा पिडियाट्रिसियन (बालरोगविज्ञ) हुन् । धेरैपटक मेरो छोरोको उपचार गराउन म उनीकहाँ गएको छु ।ठ्याक्कै गन्ती त गरिनँ तर अनुमान गर्दा मेरो छोरा पाँच वर्षको होउञ्जेल कम्तीमा ३० पटक म र मेरी श्रीमती डा. अरुण शर्माकोमा गयौं होला । हामी कतिपटक गयौं भन्ने कुराले पनि यहाँ अर्थ राख्छ । त्यसभन्दा बढी हामीले त्यहाँ के देख्यौं र भोग्यौं भन्ने कुराले झन् धेरै अर्थ राख्छ । डा. शर्मा दिनभरि शिक्षण अस्पताल महाराजगञ्जमा काम गर्छन् र साँझ ५ बजेपछि अल्का अस्पताल आइपुग्छन् । बिरामी बच्चालाई जाँच गराउनुछ भने सबैभन्दा पहिले अल्कामा फोन गरेर बच्चाको नाम टिपाउनुपर्छ । अनि अल्काका कर्मचारीले जवाफ दिन्छन्– तपाइँको बच्चाको पालो .... नम्बरमा छ, राती नौ बजेतिर आउनुहोस् न है । म र मेरी श्रीमती धेरैपटक रातको नौ बजे डा. शर्माकोमा पुगेका छौं । एकपटक नामै नटिपाई पुग्यौं, केहीबेर कुरौंला, पालो आइहाल्ला नि भनेर । तर नाम नटिपाएको दिन हामीले झण्डै चार घण्टा कुरेपछि मात्र पालो आयो । 

पाठकवृन्द, हामी जतिपटक गयौं, प्रत्येकपटक २५ देखि ४० जना भन्दा बिरामी बच्चा उपचारको लागि पालो पर्खेर बसेको भेट्यौं । प्रत्येकपटक मैले अल्काका कर्मचारीलाई सोध्ने गर्थें– सधैं यत्तिकै भीड हो ? उनीहरूको जवाफ हुन्थ्यो– प्रायः यस्तै हो । कतिपयले भन्थे– डा. अरुण शर्माकोमा अलि बढी भीड हुन्छ । डा. शर्मा समय दिएर माया गरी गरी बच्चाको जाँच गर्छन् । बच्चाका आमाबुवासँग धेरैबेर कुरा गर्छन्, बच्चाको खानपिन र साथीसंगतको बारेमा धेरै प्रश्न सोध्छन्, ‘हिस्ट्री’ लिन्छन् । हत्तपत्त औषधि खान सुझाव दिँदैनन् । घरेलु उपचारमा जोड दिन्छन् । शायद यस्तै कारणले होला उनलाई धेरैले मन पराउँछन् । म, मेरी श्रीमती र मेरो छोरा पनि उनलाई मन पराउँछौं । डा. अरुण बिरामी बच्चा जाँच गर्दा गर्दा कहिले त आफैं थकित जस्ता देखिन्थे । एकपटक हाम्रो पालो रातिको साढे नौ बजे आयो । मैले डा. शर्माको अनुहार हेरें । उनी थकित, गलित देखिन्थे । त्यतिबेलासम्म उनले थुप्रै बिरामी बच्चालाई जाँचिसकेका थिए । मान्छेको शरीर न हो, उनी पनि थकित मुद्रामा पाइए । तैपनि उनले पर्याप्त समय दिएर मेरो छोराको स्वास्थ्य जाँच गरे । 

जहिले जाँदा पनि बिरामी बच्चाको भीड देखेपछि एकपटक मैले डा. अरुणलाई सोधें– यतिधेरै बच्चा बिरामी भइराख्नुको प्रमुख कारण के होला डा. साब ? उनको जवाफ थियो– काठमाडौंको प्रदूषण, खानपान, बच्चाको संगत आदि, इत्यादिका कारणले हुने ‘भाइरल’ को प्रकोप । उनले धूलो भनेर किटेर त भनेनन् तर काठमाडौंको प्रदूषण भन्नेबित्तिकै धूलोको प्रसंग स्वतः बुझिहालियो । अल्का अस्पतालको ‘फ्रन्ट डेस्क’ मा बस्ने कर्मचारीले दिएको जानकारी अनुसार दैनिक ३० देखि ५० बच्चाका आमाबुवाले आफ्ना नानीबाबुको उपचारका लागि नाम टिपाउँछन् । कहिले त्यो संख्या बढी हुन्छ । कम भएको बेला २० देखि ४० हुन्छ । यो एउटा अस्पतालको मोटामोटी तथ्यांक भयो । काठमाडौंका धेरै स्थानमा दर्जनौं अस्पताल छन् र प्रायः सबैजसो अस्पतालले बालरोग विभाग चलाएकै छन् । केही कम बढी होला तर प्रायः सबै अस्पताललमा बिरामी बच्चाको भीड लगभग उस्तै भएको अनुमान लगाउन गाह्रो छैन ।  

मस्तिष्कको विकास हुने बेला, नयाँ–नयाँ र रचनात्मक विषय सिक्ने बेला धूलोधूवाँँबाट यति धेरै ग्रस्त भएपछि हाम्रा बच्चाको विकासमा कति धेरै असर परिरहेको होला ? यस देशको कुनै नेता, मन्त्री र कर्मचारीले यसबारेमा कहिल्यै सोचेको छ ? अरू त अरू बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरूले समेत यस विषयमा पर्याप्त चर्चा गरेको पाइँदैन । सञ्चारमाध्यममा त यस्ता विषयले विरलै स्थान पाउँछन् । वातावरणविद् भूषण तुलाधर धूलो, धूवाँँबाट वयस्क भन्दा बालबालिका बढी प्रभावित हुने बताउँछन् । उनका अनुसार शरीरको उचाइ कम हुने र रोगप्रतिरोधात्मक क्षमता पनि कम हुने भएका कारण धूलो धूवाँँबाट बालबालिका बढी प्रभावित हुन पुग्छन् । होचो मानिसमा धूलो, धूवाँँको असर बढी हुँदो रहेछ ।  

‘बालबालिका, वयस्क र वृद्ध सबैमा मस्तिष्कघात, क्यान्सर, फोक्सो, मुटुरोग बढेको छ र यसमा काठमाडौंको धूलो, धूवाँँ र प्रदूषणको धेरै ठूलो हात छ,’ वातावरणविद् तुलाधरले पंक्तिकारसँगको लामो कुराकानीमा भने, ‘नेपाल र त्यसमा पनि काठमाडौं संसारको सबैभन्दा बढी प्रदूषित शहरमध्ये एक हो । काठमाडौंमा धूलो भन्दा अझ बढी धूवाँँको असर धेरै र हानिकारक छ ।’  

किन र कसरी बाह्रैमास धूलो उडिरहन्छ काठमाडौंमा ? 

काठमाडौं उपत्यका निर्माणाधीन (अन्डर कन्सट्रक्सन) अवस्थामा छ । यहाँ धेरै संरचना निर्माणको क्रम जारी छ । जस्तो, मेलम्ची खानेपानीको चर्चा गरौं । मेलम्ची खोलाबाट काठमाडौं उपत्यकामा खानेपानी ल्याउनुपूर्व काठमाडौं शहरका विभिन्न स्थानमा पाइप बिछ्याउनुपर्छ भनियो र पाइप बिछ्याउन पिच सडक खन्ने काम भयो । ठीक छ, मेलम्ची पानी आउनुपर्छ । त्यसका लागि पाइप पनि बिछ्याउनुपर्छ । तर पाइप बिछ्याइसकेपछि खनेको सडकलाई पहिलेकै अवस्थामा ल्याइदिनुपर्छ कि पर्दैन ? खन्यो, छोड्यो, हिँड्यो ? यही हो सरकारी निकायको काम ? खनेपछि फेरि पिच गर्नुपर्दैन ? एकातिर मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम चलिरहेको छ, अर्कातिर ढल विभागका प्राविधिक आएर बीच सडकमा खाल्डो पारेर जान्छन् । सडक विस्तारको नाममा भइरहेको ‘गाईजात्रा’ पनि चलेकै छ । यी सबै जिम्मेवार छन्, काठमाडौंलाई धूलोको शहरका रूपमा चिनाउन । काठमाडौंवासीलाई धूलो खुवाएर बिरामी हुन बाध्य पार्न । 

पछिल्ला वर्षमा सडक विस्तारका नाममा भइरहेका काम र काम शुरु गरेपछि वर्षौंसम्म नसक्ने ठेकेदारको लापरवाही अझ बढी जिम्मेवार छन् । कलंकी–नागढुंगा सडकको बेहाल सबैले देखेकै हो । सडक विस्तार गर्ने भनेर बाटो खन्ने काम शुरू भएको करीब ५ वर्ष हुन लागेको छ । तर काम धिमा गतिमा छ । त्यस क्षेत्रमा सडक विस्तारको ठेक्काको जिम्मेवारी जसले पाएका छन् उनी नेपालका ठूला नेता र कर्मचारीको संरक्षण पाएका ठेकेदार हुन् । शायद सेटिङमा उनले ठेक्का हत्याए । अनि उनले कसलाई टेरून् ? कसरी सकियोस् समयमै काम ? 

हाम्रोमा ढल, खानेपानी र बिजुलीका तारको सही व्यवस्थापन छैन । तारलाई जमीनमुनि गाड्न धेरै ढिला भइसकेको छ । ढल र खानेपानीको सही व्यवस्थापन अति नै ढिला भएको छ । यसका अलावा शहरका बाटोका दायाँबायाँ रुख रोप्नुपर्छ । शहरको बीच बीचमा आकर्षक हरियालीयुक्त पार्कहरू निर्माण गरिनुपर्छ ।

सडक विस्तारको काम कति गुणस्तरीय छ भनेर जाँच्ने कसले ? जाँच्नुपर्ने त सरकारी संयन्त्रहरूले हो । तर तिनै सरकारी संयन्त्रहरू ठेकेदारसँग मिलिदिएपछि कसको के लाग्छ ? आज पिच भएको सडक केही महिनामै भत्किन थाल्छ । ठेकेदारलाई भुक्तानी भइसकेको हुन्छ । पैसा लिएर ठेकदार उम्कन्छ । कसलाई समाउने ? समाउने कसले ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही ठेकेदारमाथि छानबीन बढाएको बताएको छ । तर उसले पनि कतातिर मात्र हात हालोस् ? कारवाही गर्न र मुद्दा चलाउन अख्तियारलाई पनि दह्रो प्रमाण चाहिन्छ । कर्मचारीको सेटिङमा काम गर्ने ठेकेदारले खोज्दा पनि प्रमाण नभेटिने हिसाबले काम फत्ते गरिसकेको हुन्छ । पछि अख्तियारले मिहिनेत गरेर खोज्दा पनि प्रमाण भेट्दैन । अनि जतिपटक पिच उप्के पनि ठेकेदारले काम पाइरहने, राज्यको ढुकुटी रित्तिरहने तर गुणस्तरीय काम नहुने समस्या दोहोरिरहन्छ ।

हाम्रोमा सडकसँग सम्बन्धित निकायहरू जस्तो सडक विभाग, त्यसका शाखा कार्यालयहरू, खानेपानी विभाग, ढल विभाग, विद्युत् प्राधिकरण जस्ता सरकारी निकायबीच समन्वय छैन । आज ढल विभागले सडकमा खाल्डो बनाएर जान्छ । केही समय त्यो खाल्डो पुरिँदैन । जब धेरैपटकको प्रयास र दबाबपछि बल्लबल्ल त्यो खाल्डो पुरिन्छ, त्यसको केही दिनपछि फेरि खानेपानी विभागबाट खटिएका मजदूर आउँछन् र सडकमा खाल्डो बनाएर जान्छन् । कैयौं दिनसम्म ती खाल्डा पुरिँदैनन् । अनि परिणाम के निस्कन्छ– यस आलेखको शुरूमै उल्लेख गरिएकी बालिका जस्ता निर्दोष व्यक्ति त्यस्ता खाल्डामा परेर घाइते हुन्छन् । कसैले ज्यानै गुमाउँछन् । 

विकसित देशमा कसरी धूलो नियन्त्रण हुन्छ ? हामीले के गर्नुपर्छ ?

संसारका अति विकसित, विकसित र कम विकसित सबै देशहरूमा यो देशका शासकहरूले बारम्बार भ्रमण गरेकै हुन्छन् । उनीहरू भ्रमणका नाममा सरकारी ढुकुटी रित्याएर महिनौं विदेश बरालिएका पाइन्छन् । सिंहदरबारभित्रका मन्त्रालय वा बाहिरका विभिन्न विभागहरूमा पुग्नुभयो र कर्मचारीको कोठा हेर्दै हिँड्नुभयो तपाईंले सबै कर्मचारी आफ्नो कार्यकक्षमा बसेर काम गरेको बिरलै भेट्नुहुनेछ । कुनै कर्मचारीलाई देख्नुभएन र सोध्नुभयो भने अक्सर जवाफ पाउनुहुनेछ– उहाँ विदेश जानुभएको छ ।

काम विशेषले कर्मचारी विदेश गएकोमा आपत्ति होइन । विदेश जानुपर्छ, सीप, अनुभव सिक्नु नराम्रो विषय होइन । तर बारम्बार विदेश गइरहने हाम्रो देशका नेता, मन्त्री, कर्मचारी र ठेकेदारले त्यहाँबाट के सिकेर, देखेर वा अनुभव गरेर फर्कन्छन् ? अरू नसकेपनि संसारका विकसित देशका शहरहरू कति व्यवस्थित छन्, धूलो, धूवाँँ र प्रदूषण कसरी नियन्त्रण गरिएको छ भन्नेबारेमा किन सिक्दैनन् ? वा सिकेको विषय नेपालमा आएर लागू गर्न किन प्रयास गर्दैनन् ?

म पनि संसारका सभ्य, विकसित र समृद्ध मुलुकमा पुगेको छु । कुनै पनि देशको एयरपोर्टबाट बाहिर निस्कनासाथ मेरो पहिलो ध्यान जान्छ– शहरको वातावरणमा । शहरका बाटोहरूबाट धूलो उडेको छ कि छैन ? गुडिरहेका सवारीबाट धूवाँँ कत्तिको निस्केको छ ? फोहर कसरी व्यवस्थापन गरिएको छ ? यस्ता विषयमा सबैभन्दा बढी मेरो ध्यान जान्छ । म वातावरण विषयको विद्यार्थी होइन । वातावरणबारे कहिल्यै रिपोर्टिङ पनि गरिनँ । तर मेरो जीवनमा सबैभन्दा बढी चासो, चिन्ता, अध्ययन र अनुसन्धानको विषयमध्येको एक हो– शहरी बस्तीमा के गर्‍यो भने धूलो नियन्त्रण हुन्छ ? कसरी स्वच्छ, हराभरा र सभ्य शहर कायम गर्न सकिन्छ । 

वातावरणविद् भूषण तुलाधर शहरमा सार्वजनिक यातायात धेरै चलाउने र व्यक्तिपिच्छेले कार कम चलाउने गरेमा धूलो, धूवाँँ र वातावरण प्रदूषण कम हुन सक्ने बताउनुहुन्छ । ‘हङकङमा ८५ प्रतिशत यात्रा सार्वजनिक यातायातबाट हुन्छ । हाम्रोमा २७ प्रतिशत यात्रा मात्र सार्वजनिक यातायातबाट हुन्छ । यसलाई दोब्बर बनाउन सकियो भनेपनि प्रदूषण कम र ट्राफिक व्यवस्थापन चुस्त बनाउन सकिन्छ,’ तुलाधरको भनाइ छ ।

म चाहिँ यत्तिमा सन्तुष्ट छैन । मेरो सीमित ज्ञान र विचारमा शहरी बस्तीहरूमा जतासुकै ‘ब्ल्याक टप’ अर्थात् कालोपत्रे गर्नुपर्छ । अनिमात्र धूलो उड्न कम हुन्छ, नियन्त्रण हुन्छ । जतासुकै पिच, जमीन खाली नै नछोड्ने । शहरको कुनै स्थानमा खाली जमीन देख्यो कि पिच गरिहाल्ने गर्नुपर्छ । विकसित देश जहाँका शहरहरूमा धूलो उड्दैन, त्यहाँको जमीनलाई एकपटक नियालेर हेर्नुहोस् वा पुगेर आउनुभएको छ भने एकपटक सम्झनुहोस् त । त्यस्ता देशका शहरका कुनै पनि भाग खाली छोडिएको हुँदैन । सवारी गुड्ने या मानिस हिँड्ने हरेक स्थानमा या त ब्ल्याक टप गरिएको हुन्छ, या ब्लक बिछ्याइएको हुन्छ या ढुंगा । खाली जमीन छोडिएकै हुँदैन । जहाँ गाडी गुड्दैनन् या मानिस हिँड्दैनन्, त्यस्तो भागमा चाहिँ बिरुवा वा फूल रोपिएको हुन्छ । हरियाली कायम गरिएको हुन्छ । त्यसैले विकसित देशका ती शहरहरूमा धूलो उडेको हुँदैन ।

म जब–जब नेपाल छोडेर अन्य देशमा पुगेको हुन्छु, त्यहाँको शहर, सडक, ढल, खानेपानीको बन्दोबस्त कसरी गरिएको रहेछ भनेर सोधखोज गर्छु, हेर्छु । कुनै पनि भूभाग खाली छोडेको देख्दिनँ । जतासुकै ब्ल्याक टप गरेको मात्र देख्छु । अनि त्यहाँ धूलो उड्दैन । खाल्डा पर्दैनन् । ठूला गाडी र तिनको चक्काले हिलो या सुक्खा माटो मूल बाटोमा ल्याउन पाउँदैन । जतासुकै पिचैपिच भएपछि सवारीसाधनका चक्काले कहाँबाट हिलो या सुक्खा माटो ल्याउनु ? त्यसैले ती शहरहरूमा धूलो उड्दैन । मानिसहरू बाटोमा खाजा, नास्ता वा लन्च खाँदै हिँड्न सक्छन्, हिँडिरहेका पाइन्छन् । 

जहाँ मानिस हिँड्दैनन् या सवारी गुड्दैनन् त्यस भागमा बिरुवा रोप्ने, दूबो वा अन्य फूल रोप्ने । कुनै पनि जमीनको कुनै पनि भाग खाली नराख्ने । जतासुकै पिच गर्ने । अरू सबै काम थाती राखेर भए पनि यो काम गर्ने हो भने काठमडौं र देशका थुपै्र शहर धूलो, धूवाँँबाट मुक्त बनाउन सम्भव छ । शहरमा हरियाली कायम गर्न सम्भव छ । एकपटक यसो गरेर त हेरियोस्, सरकार !  

धूवाँँको चर्चा गरौं । काठमाडौं र नेपालका थुप्रै अन्य सडकमा जति नै सुकै धूवाँँको कालो मुस्लो फ्याँक्दै गाडी गुडाए पनि उनीहरूमाथि कारवाही हुँदैन । सवारी कर तिर्ने बेला र ब्लुबूक नवीकरण गर्नेबेला प्रदूषण जाँच गरेको जस्तो त गरिन्छ । तर यातायात कार्यालयबाट सवारी प्रदूषण जाँच पास भएर हरियो स्टिकर प्राप्त गाडी नै शहरमा धूवाँँको कालो मुस्लो फ्याँक्दै गुडेको प्रशस्त उदाहरण छन् । त्यसलाई नियन्त्रण गर्न कसैको ध्यान गएको पाइँदैन । विकसित र सभ्य देशमा त्यसरी धूँवा उडाउँदै सवारी हाँक्न पाइँदैन । तपाईंले कुनै सवारीले धूवाँँ फ्याँक्दै गुडेको देख्नुभयो भने तत्काल प्रहरीलाई खबर गर्न सक्नुहुन्छ र प्रहरीले त्यस्तो सवारीलाई केही किलोमिटरको दूरीमै नियन्त्रणमा लिएर कडा कारवाही गर्छ । टन्नै जरिवाना तिराउँछ । विकसित देशका शहरी बस्तीहरूमा ढल, खानेपानी र बिजुलीका तारको वैज्ञानिक र प्रभावकारी व्यवस्थापन गरिएको हुन्छ । जहाँ पायो त्यहीँ ढल फुटेर डुङ्डुङ्ती गनाउने समस्या हुँदैन ।

हाम्रोमा ढल, खानेपानी र बिजुलीका तारको सही व्यवस्थापन छैन । तारलाई जमीनमुनि गाड्न धेरै ढिला भइसकेको छ । ढल र खानेपानीको सही व्यवस्थापन अति नै ढिला भएको छ । यसका अलावा शहरका बाटोका दायाँबायाँ रुख रोप्नुपर्छ । शहरको बीच बीचमा आकर्षक हरियालीयुक्त पार्कहरू निर्माण गरिनुपर्छ । अनि मात्र प्रदूषणरहित शहरको कल्पना गर्न सकिन्छ । के गर्‍यो भने यो सम्भव होला ? म त भन्छु– एक आर्थिक वर्षको सम्पूर्ण बजेट शहरमा धूलो, धूवाँँ र प्रदूषण नियन्त्रण गर्न खर्च गर्ने । एक आर्थिक वर्षको सबै बजेट शहरका सम्पूर्ण भाग ब्ल्याकटप गर्नमा लगाउने । ठाउँ ठाउँमा हरियाली पार्क निर्माण गर्न खर्च गर्ने । सवारी गुड्ने सबै स्थानमा ब्ल्याकटप गर्ने । मानिस हिँड्ने बाटोमा ब्लक या ढुंगा बिछ्याउने । जहाँ मानिस हिँड्दैनन् या सवारी गुड्दैनन् त्यस भागमा बिरुवा रोप्ने, दूबो वा अन्य फूल रोप्ने । कुनै पनि जमीनको कुनै पनि भाग खाली नराख्ने । जतासुकै पिच गर्ने । अरू सबै काम थाती राखेर भए पनि यो काम गर्ने हो भने काठमडौं र देशका थुपै्र शहर धूलो, धूवाँँबाट मुक्त बनाउन सम्भव छ । शहरमा हरियाली कायम गर्न सम्भव छ । एकपटक यसो गरेर त हेरियोस्, सरकार !  

व्यक्तिगत प्रयास

जिम्मेवार सरकारी निकाय, उच्चस्तरीय राजनीतिक भेटघाट र छलफलहरूमा आजभोलि म धूलो नियन्त्रणको विषय मात्र जोडतोडले उठाउने गर्छु । मेरो कुरा सुनेर धेरैले ‘यहाँ यति गम्भिर विषयमा कुराकानी चलिरहेको छ, यो चाहिँ जाबो धूलोको विषय सोधेर बस्छ ? कस्तो बुद्धि न सुद्धिको ठिटो रहेछ ? सानो बुद्धि भनेको यही होला’ भनेर उडाउँछन् । यसभन्दा गम्भीर आरोप लागे पनि, मलाई कसैले बच्चा ठाने पनि, कसैले कम बुद्धि भएको वा बुद्धि नै नभएको बुद्धू ठाने भने पनि धूलोको समस्या मेरा लागि जीवनको सवैभन्दा ठूलो, पीडादायी, जिउँदै नारकीय जीवन बाँचेसरहको समस्या हो । यसको समाधानका लागि व्यक्तिगत तवरले म लडिरहनेछु । धूलो, धूवाँँ र प्रदूषित शहरबारे मैले थुप्रैपटक लोकान्तर डट्कममा रिपोर्टिङ गराइसकेको छु र त्यसलाई निरन्तरता दिइरहनेछु । मलाई थाहा छ– मेरो एक्लो प्रयासले यहाँ केही फरक पार्नेवाला छैन । तर अर्को एउटा तथ्य पनि थाहा छ– धूलोको विरोध कसैले गर्दै नगर्ने हो भने हाम्रा ‘कुम्भकर्ण शासक’को चेत कहिले र कस्ले खुलाउने ? त्यसैले लेख्न, बोल्न किन छोड्ने ?

कमेन्ट गर्नुहोस्