
काठमाडौं– देशको अर्थतन्त्रबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा बहस शुरू भएको छ । कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गरेको १९ महिनाको अवधिमा देशको अर्थतन्त्र ओरालो लागेको, वैदेशिक लगानी घटेको तथा भ्रष्टाचार बढेको भन्दै कांग्रेसले चिन्ता व्यक्त गरेको छ ।
कांग्रेसको पालामा शुरू भएको उदारवादी अर्थनीतिले विकास हुँदै गरेको अर्थतन्त्रमा कम्युनिस्ट पार्टीको सरकारले अंगिकार गरेको ‘नियन्त्रित’ अर्थनीतिका कारण देशको आर्थिक अवस्था दयनीय बन्दै गएको भन्दै कांग्रेसमा मुलुकको अर्थतन्त्रबारे बहस शुरू भएको हो ।
बिहीवार केन्द्रीय समिति बैठकमा धारणा राख्दै पूर्व अर्थमन्त्री डा. रामशरण महतले आर्थिक मुद्दालाई एजेण्डा बनाउन नसकेको भन्दै नेतृत्वको आलोचना गरेका थिए ।
‘लगानीको वातावरण छैन, शेयर बजार घटेर गएको छ, लगानी घटेको छ, भ्रष्टाचार बढेको छ, यसबारे पार्टी बोल्नुपर्छ’ महतले भनेका थिए ।
अर्का केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सरकार सबै कब्जा गर्न र व्यवस्था खत्तम गर्न लागिपरेको आरोप लगाए ।
केन्द्रीय सदस्य प्रदीप पौडेलले भ्रष्टाचारविरुद्ध संसद्मा खरो रूपमा प्रस्तुत हुनुपर्ने धारणा राखे ।
बिहीवार नै केन्द्रीय समितिमा पेश भएको राजनीतिक प्रस्तावमा देश भ्रष्टाचारको दलदलमा फसेको उल्लेख छ ।
सहमहामन्त्री डा. प्रकाशशरण महतले राजनीतिक प्रस्तावमा वाइड बडी विमान खरिद, मेलम्ची खानेपानी आयोजना लगायतमा भ्रष्टाचार भएको उल्लेख छ ।
देशको आर्थिक अवस्था नाजुक बन्दै गइरहेको समयमा संसद्मा प्रतिपक्षको उपस्थिति कमजोर भएको र ‘छायाँ मन्त्रिपरिषद्’ले आफ्नो भूमिका देखाउन नसकेको भनेर कांग्रेसमा बहस भएको छ ।
छायाँ मन्त्रिपरिषद्का अर्थमन्त्री डा. मीनेन्द्र रिजाल हुन् । रिजालका अतिरिक्त पूर्व अर्थमन्त्री ज्ञानेन्द्र खड्का, डा. नारायण खड्का, गगन थापा लगायत अर्थतन्त्र बुझेका सांसद छन् । तर उनीहरूले देशको अर्थतन्त्रको दयनीय अवस्थाका विषयमा नबोलेको कांग्रेसका सांसद तथा नेताहरूको आरोप छ ।
‘विप्लव माओवादीका कार्यकर्ताको मृत्युको घटनालाई लिएर २६ दिनसम्म संसद अवरोध गरेको कांग्रेस सरकारको गलत नीतिको विरोध गर्न नसकेर चुकिरहेको छ,’ एक पूर्व सांसदले नेतृत्वसँग प्रश्न गरे, ‘संसद्मा उठाउनु पर्ने विषय अरू थिएनन् ? २६ दिन संसद अवरोध गरेर देशलाई उपलब्धि के भयो ? यसको समीक्षा हुनुपर्दैन ?’ सरकारका नीति तथा कार्यक्रम र बजेटको छलफलबाहेक देश विकास र आर्थिक समृद्धिको एजेण्डामा उनीहरू नबोलेको सांसदहरूको गुनासो छ ।
‘नेपालमा नयाँ रोजगारी सिर्जना भएको छैन, भएका उद्योगी पनि सरकारको गलत नीतिका कारण भागाभागको अवस्थामा छन् । मलेसियामा कामदार पठाउन रोकिएको एक वर्ष भयो, यस्तो विषयमा कांग्रेस मौन बसेको छ,’ कांग्रेसका एक पूर्व सांसदले पार्टी नेतृत्वको आलोचना गर्दै भने, ‘रोहितको पार्टी (नेमकिपा)ले मात्र असल प्रतिपक्षको भूमिका खेलेको छ, कांग्रेसका नेताहरू प्रतिपक्षको सुविधा उपयोग गर्नमै सीमित भए ।’
सरकारको काम कारवाहीप्रति स्वयं सत्तारुढ दलका नेताहरू समेत असन्तुष्ट रहेको समयमा कांग्रेसले जनताको निराशालाई संसद्मा प्रतिविम्बित गर्न नसकेको कांग्रेसका एक नेता बताउँछन् ।
‘सिनियर दाजुहरूका कारण हामीले बोल्न पाउँदैनौं, उहाँहरू देशको चिन्ताभन्दा पनि संसद्मा आफ्नो निर्वाचन क्षेत्र र वडाका समस्याभन्दा माथि उठेर बोल्न सक्नुभएको छैन,’ एक सांसद भन्छन्।
भ्रष्टाचारका कारण शिर निहुरिने अवस्था सिर्जना भयो : गौतम
बिहीवार प्रतिनिधि सभाको विशेष समयमा पूर्वमन्त्री एवं सांसद सञ्जयकुमार गौतमले देशमा भ्रष्टाचारको अवस्था कहालीलाग्दो बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
उनले संसद्मा ५ जना पूर्वप्रधानमन्त्रीहरू समेत रहेको भन्दै छानबिन आफूहरू (सांसदहरू)बाटै गर्न पनि अपिल गरे ।
‘देशको आर्थिक अवस्थाबारे हामी असाध्यै चिन्तित छौं, बढ्दै गएको भ्रष्टाचार र बेथिती नरोक्ने हो भने समृद्ध नेपाल र सुखी नेपालीको नारा कोरो कल्पनामै सीमित हुन्छ भनेर बोलेको हुँ,’ गौतम भन्छन् । देशका जल्दाबल्दा समस्या उठाउन नसकेर सदनमा प्रतिपक्षको भूमिका कमजोर भएको विषयमा आफूहरूले पार्टीमा कुरा राखिरहेको उनी बताउँछन् ।
छायाँ मन्त्रीले मेसो पाएनन् : गुरुङ
नेपाली कांग्रेसले सरकारका काम कारवाहीको अनुगम र मूल्यांकनका लागि ‘छायाँ मन्त्रिपरिषद्’ गठन गरेको थियो ।
‘कहाँ–कहाँ के–के कमजोरी छन् भनेर अनुसन्धान गरी संसदीय दल र पार्टीलाई जानकारी गराउन छायाँ मन्त्रिपरिषद्को व्यवस्था गरिएको थियो,’ केन्द्रीय सदस्य धनराज गुरुङ भन्छन्, ‘हाम्रा छायाँ मन्त्रीहरूले मेसो पाउनुभएन जस्तो छ ।’
गुरुङले बिहीवार केन्द्रीय समिति बैठकमा देशमा भ्रष्टाचारले सीमा नाघेको भन्दै संसद बैठक नै अवरुद्ध गर्ने प्रस्ताव राखेका थिए ।
कांग्रेस युवा नेता रामहरि खतिवडा राष्ट्रिय इस्यू उठाउने मामिलाका कांग्रेसका सांसदहरू चुकिरहेको बताउँछन् ।
‘सभापति, महामन्त्रीदेखि प्रभावशाली नेताहरू संसद्मा हुनुहुन्छ, तर देशका जल्दाबल्दा समस्याको बारेमा उहाँहरूले बोलेको सुनिएन,’ खतिवडाले लोकान्तरसँग भने, ‘समानुपतिक सांसदहरूले समेत न जिल्लाका इस्यु उठाउन सक्नुभयो न त राष्ट्रिय नै ।’