काठमाडौं – थाइल्यान्डको याला प्रान्तमा न्यायाधीश खानाकोर्न पियांचनाले शुक्रवार अदालतकक्षमा आफ्नै छातीमा गोलीप्रहार गरेका छन् । उनले लेखेको २५ पानाको नोट पनि भेटिएको छ ।
नोटमा उनले निष्पक्ष फैसला लिनका लागि आफू स्वतन्त्र रहन नपाएको बताएका छन् । वरिष्ठ अधिकारीहरूले उनका फैसलामा हस्तक्षेप गरिरहेको उनको आरोप छ ।
अहिले न्यायाधीश पियांचनाको उपचार चलिरहेको छ ।
शुक्रवार अदालतमा पाँच अभियुक्तहरूलाई एक मुद्दामा सफाइ दिइएपछि न्यायाधीशले अदालतकक्षमा आफ्नै छातीमा गोली हानेका हुन् । तर उनलाई बचाइएको छ ।
न्यायाधीशले सफाइ पाएका पाँचमध्ये तीन अभियुक्तलाई मृत्युदण्डको सजाय हुन सक्ने बताएका थिए ।
अदालतका प्रवक्ताले चाहिँ पियांचनाले निजी कारणले गर्दा आत्महत्याको कोशिश गरेको बताए ।
तर न्यायाधीशले आरोप लगाए जस्तो फैसला बदल्नका लागि दबाब दिने अभ्यास थाइल्यान्डमा रहेको कानूनविद्हरूको भनाइ छ । वरिष्ठ अधिकारीहरूले धेरैपटक फैसला परिवर्तन गर्न बाध्य बनाउने वा आफैं बदलिलिने गरेका छन् ।
एजेन्सी