मस्को, २७ चैत-सिरियामाथि अमेरिकाले गरेको मिसाइल आक्रमणसँगै रुस र अमेरिकाबीच द्वन्द्व चर्किएको छ । मस्कोले मिसाइल आक्रमणको विरोधमा राष्ट्र संघको सुरक्षा परिषद्को आकस्मिक बैठकमा विरोध जनाएको छ । अमेरिकाले सिरियाको सरकार वायुसेनाको अखडामा मिसाइल आक्रमण गरेसँगै दुई शक्ति राष्ट्रबीचको दुरी थप बढेको हो ।

शुक्रबार बिहान अमेरिकाले सुरक्षा बेस क्याम्पमा अमेरिकाले खसालेका करिब ६० वटा मिसाइल आक्रमणमा परी ६ जना मानिस मारिएको सिरियाली सेनाले जनाएको छ । सर्वसाधारणलाई लक्षित गरी सिरियामा भएको रासायनिक हतियारको आक्रमणको जवाफमा अमेरिकाले मिसाइल आक्रमण गरेको थियो ।
सुरक्षा परिषद्मा रुसका सहायक राजदूत भ्लादिमिर सार्फोनकोभले अमेरिकाको चर्को आलोचना गर्दै अमेरिकी सो आक्रमण अन्तर्राष्ट्रिय कानुनमाथिको खुला आक्रमणको संज्ञा दिएका छन् । ‘क्षेत्रीय तथा अन्तार्राष्ट्रिय स्थायित्वका लागि यो आक्रमण घातक हुनेछ,’ सुरक्षा परिषद्मा उनले भने ।
सिरियाली राष्ट्रपति बसार अल असाद नेतृत्वको सरकारी सेनालाई सिरियामा विद्रोहीसँग लड्न रुसले साथ दिँदै आएको छ । यता सुरक्षा परिषद्का लागि अमेरिकी दूत निक्की हालीले मिसाइल आक्रमण पूर्ण रूपमा मान्यताप्राप्त भएको भन्दै वासिङटनले यस्ता आक्रमण जारी राख्न तयार रहेको चेतावनी दिएकी छन्, राजधानीमा खबर छ ।