
इरानले तेहरानबाट कीएभका लागि उडेको यात्रुवाहक विमानलाई भूलवश खसाएको स्वीकार शनिवार गरेपछि इरानी जनता आक्रोशित बनेका छन् । अनि इरानलाई विश्व समुदायले पनि निन्दा गरेको छ ।
उक्त युक्रेनी विमानमा १७६ व्यक्ति थिए । विमान खसाए पनि इरानले त्यसलाई अस्वीकार गर्दै आएको थियो ।
अमेरिकासँगको तनाव चर्किएको अवस्थामा इरानले गरेको यो कामले देशकै बेइज्जती भएको थियो । त्यसपछि वरिष्ठ धर्मगुरुहरू, राजनीतिक तथा सैन्य प्रमुखहरूले यसको प्रतिरक्षा गर्न थालेका छन् । राष्ट्रपति हसन रूहानीले यो ‘विनाशकारी भूल’ भएको बताए ।
शनिवार राति तेहरानको अमिर कबिर विश्वविद्यालय अगाडि भएको प्रदर्शनमा इरानका लागि बेलायती राजदूत रोबर्ट मकाइरलाई पक्राउ गरिएको छ । विरोधकर्ताहरूलाई भड्काएको आरोप उनीविरुद्ध लगाइएको छ । इरानको तस्निम समाचार संस्थाले उनलाई पक्राउको केही घन्टापछि रिहा गरिएको जनायो ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तन गराउने ध्येय नरहेको बताउँदै आए पनि प्रदर्शनकारीहरूलाई समर्थन गर्दै लेखे, ‘हामीहरूले तपाईंहरूले गरेको विरोधलाई नजिकैबाट नियालिरहेका छौं र तपाईंहरूको बहादुरीबाट प्रभावित छौं ।’
‘इरान सरकारले इरानी जनताले गरिरहेको प्रदर्शनका विषयमा मानवअधिकारवादी समूहलाई निरीक्षणका लागि अनि तथ्यको रिपोर्ट दिनका लागि अनुमति दिनुपर्छ । शान्तिपूर्ण प्रदर्शन गरिरहेका विरोधकर्ताहरूको सामूहिक हत्या गर्नुहुँदैन र इन्टरनेट बन्द पनि गराउनुहुँदैन । संसारले हेरिरहेको छ,’ उनले भने ।
इरानी सेनाले शनिवार बिहानै इर्ना समाचार संस्थामार्फत एक वक्तव्य जारी गरेर ‘माफी दिन नसकिने भूल’ स्वीकार गरेको हो । बुधवार बिहान युक्रेन इन्टरनेसनल एयरलाइन्सको फ्लाइट ७५२ लाई खसाइएको हो ।
तेहरानका अधिकारीहरूले तीन दिनसम्म अपराध स्वीकार नगरी बल्ल आएर गरेका हुन् । इरानीहरूको दोष देखाउने पश्चिमी सूचनालाई उनीहरूले फगत प्रचारबाजी भन्दै लगातार प्रतिरक्षा गरिरहेका थिए ।
अभूतपूर्व कदम चाल्दै इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्समाथि अनुसन्धानको आदेश दिएका छन् । तेहरान बाहिर रहेको त्यही कोर्प्सको सैन्यअड्डाले प्रहार गरेको क्षेप्यास्त्रले फ्लाइट ७५२ लाई खसाएको थियो ।
कोर्प्सका एक वरिष्ठ कमान्डर अमिर अली हाजिजादेहले विमान खसाउनेबित्तिकै आफूले त्यो कुरा थाहा पाएको भनी सार्वजनिक रूपमा स्वीकार गरे अनि माफी दिन आग्रह गरे । उनी कोर्प्सको एयरोस्पेस विभागका प्रमुख हुन् ।
उनले टेलिभिजनमा आएर राष्ट्रसमक्ष माफी माग्दै आफ्नो समूहले घटनाको पूर्ण जिम्मेवारी लिने र घटनाको बारेमा सुन्दा आफूले मर्न चाहेको बताए ।
सञ्चार अवरोध हुँदा क्षेप्यास्त्र प्रहार गर्ने व्यक्तिले एक्लै काम गरेको अनि बोइङ ७३७ लाई क्रुज क्षेप्यास्त्र भन्ठानेको र क्षेप्यास्त्र प्रहार गर्ने कि नगर्ने विषयमा निर्णय लिन जम्मा १० सेकेन्ड पाएको उनले बताए ।
विमान दुर्घटनाको अनुसन्धान गर्ने विज्ञहरूले दुर्घटनास्थलको व्यवस्थापनमा चालिएको कदमका विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन् । तेहरानले उक्त क्षेत्रबाट प्रमाण लोप गराउन खोजेको डर व्यक्त गरिएको छ ।
द गार्डियनबाट