माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
बैशाख २२, २०७६
डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच वैशाख २३ गते एकता घोषणा हुँदैछ भन्ने समाचारमाथि धेरैले शंका व्यक्त गरे । लोकान्तरले वैशाख १९ गते नै विश्वस्त स्रोतको हवाला दिँदै उक्त समाचार ‘ब्रेक’ गरेको थियो । एकताका लागि पहिल्यैदेखि भित्रभित्रै गृहकार्य भइरहेको समाचार आएका थिए, तर मिति तोकेरै यो दिन घोषणा हुने भन्ने लख कसैले काटेका थिएनन् ।
तत्काल एकता हुन लागेको खबर बाहिरिएपछि नेपाली राजनीतिमा नयाँ खालको तरंग पैदा भयो । फोरमजस्तै तराई/मधेशकेन्द्रित राजनीति गरिरहेको दल राष्ट्रिय जनता पार्टी (राजपा) पनि एकताको लागि भन्दै छलफलमा गएपछि एकता प्रक्रिया तत्कालका लागि रोकिने चर्चा पनि भयो । छलफलमा राजपाले तत्कालका लागि एकता रोकेर मोर्चाबन्दी गरी अघि बढ्ने प्रस्ताव राखेको थियो । यसबीचमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईकै सचिवालयबाट शुक्रवार एउटा मेसेज पत्रकारहरूलाई आयो- तत्काल एकता नहुने भयो । हतारमाभन्दा पनि थप गृहकार्य गरेर पछि पछुताउनु नपर्ने गरी एकतामा जाने डा. भट्टराईले बताउनुभएको छ ।
उक्त सन्देश एकता भाँड्न खोज्ने शक्तिले खेल्न नपाउन् भन्ने उद्देश्यका साथ प्रेसित गरिएको थियो भन्ने पुष्टि त्यसकै भोलिपल्ट शनिवार एकताको सहमति हुनुले गर्छ । भट्टराईले सचिवालय बैठकमा तत्काल एकता नहुने बताएको कुरा सार्वजनिक भएपछि सम्भवत: एकता नहोस् भन्ने चाहना राख्नेहरूले पछिल्लो २४ घण्टामा खेल्न पाएनन् ।
यसअघि फोरम र राजपाबीच पनि एकताको प्रयास नभएको होइन । छ सदस्यीय अध्यक्षमण्डल रहेको राजपासँग एकता गर्ने मनसायका साथ गत मंसिरमै फोरमले औपचारिक पत्र पठाएको थियो । उक्त पत्रको जवाफ राजपाले चैतमा फर्कायो र आफू पनि एकताका लागि तयार रहेको संकेत दियो । तर फोरमले आफ्नो पत्रको जवाफ कुर्न मनासिव ठानेन । त्यसबीचमा नयाँ शक्तिसँग एकताका लागि आन्तरिक पहल जारी राख्यो । यद्यपि स्थानीय चुनावभन्दा अघि पनि यिनै दुई पार्टीहरू एक हुने हल्ला चलेको थियो । तर नेतृत्व कसले गर्ने भन्ने विवाद बढेर गएपछि एकताप्रक्रिया स्थगित भयो ।
दुई वर्षपछि पुनः एकताको साइत हेराइयो । २३ गतेको समय जुर्यो, तर दुवै पार्टीका नेताहरू अझ विश्वस्त बन्न सकेनन् । लोकान्तरसँग केही दिनअघि कुरा गर्दै फोरमका महासचिव रामसहायप्रसाद यादवले आफूहरूबीच घनीभूत छलफल भएको तर घोषणाको मिति तय नभएको बताए । तर मिति पहिल्यै ‘आउट’ भइसकेको थियो । यसले स्वयं फोरमका महासचिव स्पष्ट रहेनछन् भन्ने देखाउँछ । राजपालाई पत्र पठाएर नयाँ शक्तिसँग एकताको हात बढाउने फोरमलाई कतिपयले धोकेबाज भनेर पनि टिप्पणी गरे ।
एकताका सैद्धान्तिक आधारहरू
एकताका लागि मुख्य सैद्धान्तिक आधार ‘समुन्नत संघीय समाजवाद’ रहेको नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य गंगा श्रेष्ठ बताउँछन् । ‘समुन्नत संघीय समाजवादभित्र तीन वटा कुराहरू पर्छन्, पहिलो समावेशी समानुपातिक सहभागितामूलक गणतन्त्र, दोस्रो सुशासन र सदाचार तथा तेस्रो विकास र समृद्धि,’ आइतवार लोकान्तरसँग कुरा गर्दै श्रेष्ठले भने, ‘फोरम र नयाँ शक्ति एक हुनुको प्रमुख आधार नै समुन्नत संघीय समाजवाद हो ।‘
यी विषयहरूमा दुवै पार्टीबीच पर्याप्त छलफल भएर निष्कर्षमा पुगेको श्रेष्ठले बताए । मुख्य सैद्धान्तिक आधारसँगै राष्ट्रियताको प्रश्न, शासकीय स्वरूप, संघीयताभित्र पनि पुनः सीमांकन र नामांकन जस्ता विषयहरू मुद्दाका रूपमा उठाउन सकिने श्रेष्ठको भनाइ छ ।
उता फोरमका अध्यक्ष यादवले पनि शक्तिशाली समाजवादी धार बन्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । समाजवादी गणतन्त्रलाई नयाँ पार्टीको मुख्य लाइन बनाउने र नेपाललाई ‘संघीय समाजवादी गणतन्त्र नेपाल’ बनाउने लक्ष्य रहेको एक सञ्चारमाध्यमसँग अन्तर्वार्ताका क्रममा यादवले दाबी गरे ।
प्रजातन्त्रका लागि लडेर आएको नेपाली कांग्रेस र समाजवादको वकालत गर्दै आएका कम्युनिस्ट दुवै ‘फेलियर’ शक्ति भएको यादवको भनाइ थियो । मुलुकलाई समृद्धिको बाटोमा लैजान तेस्रो सशक्त मध्यमार्गी समाजवादी शक्तिको आवश्यकता रहेको र आफूहरूले त्यही आवश्यकता परिपूर्ति गर्न पार्टी एकता गर्न लागेको यादवले बताएका छन् ।
नेपालमा प्रायजसो सबै दलको उद्देश्य ‘समाजवाद स्थापना गर्ने’ हुने गरेको छ । २००६ सालमा स्थापना भएको नेपालको पुरानो पार्टी कांग्रेसपछि स्थापना भएका सबै राजनीतिक पार्टीहरूको मुख्य वैचारिक लाइन ‘समाजवादी’ हुने गरेको तथ्यलाई हेर्दा यादवले गरेको दाबी पनि पुरानै दलहरूबाट प्रेरित रहेको पुष्टि हुन्छ ।
नयाँ वैकल्पिक शक्ति कि पुरानै ‘सत्तालिप्सा’को निरन्तरता
एकतापछि बन्ने समाजवादी पार्टीका दुई ‘जेट पाइलट’को राजनीतिक इतिहास त्यति बलियो छैन । भट्टराई संगठन निर्माणमा कमजोर मानिन्छन् भने यादवको ध्याउन्न सधैं सत्ताकेन्द्रित रहेको जस्तो देखिन्छ । यी दुई नेताहरूको केमेस्ट्री कुन हदसम्म मिल्न सक्छ भन्ने भविष्यले बताउने राजनीतिक विश्लेषक भीमार्जुन आचार्यको भनाइ छ ।
‘नेपालको राजनीतिक दलहरूको गतिविधि हेर्ने हो भने सैद्धान्तिकभन्दा पनि बढी क्रिया प्रतिक्रियामा आधारित देखिन्छ,’ आचार्यले लोकान्तरसँग भने, ‘अहिले सत्तारुढ नेकपाको क्रियाकलापको विकल्पमा एउटा नयाँ पार्टी चाहिन्छ भनेर उहाँहरूले सोच्नुभएको होला । अर्को, संघीयता लगायतका विषयहरूलाई उहाँहरूले थप बलियो बनाउने कुरा पनि भएको होला । दुई फरक पृष्ठभूमिबाट उदाएका नेताहरूबीच अहिले हुने भनिएको एकता एक हिसाबले सकारात्मक छ तर राष्ट्रलाई घाटा पर्ने खालका मुद्दाहरू उठाएर अगाडि बढ्न खोज्नुभयो भने त्यो भन्दा विडम्बना अर्को हुन सक्दैन ।’
अघिल्लो पटक संविधानसभाको कार्यकालमा उठेका जातीय मुद्दाहरूलाई नै यो पटक उठाउने हो भने राष्ट्रका लागि ठूलो घाटा हुने आचार्यले दाबी गरे । ‘दलहरू मिलेर शक्तिआर्जन गर्नु सुखद् भएपनि जातीय मुद्दा उठाउने कुरा चाहिँ देशका लागि घातक छ,’ आचार्यले भने, ‘पुनः नामांकन र सीमांकनका कुरा उठेका छन् । जनतालाई बलियो बनाउने दृष्टिकोणबाट भन्दा पनि जातीय कोणबाट ती मुद्दा पुनः एकपटक उठ्ने खतरा मैले देखेको छु ।’
वैकल्पिक शक्तिको बहस झनै घनिभूत भएको दाबी
देशलाई नयाँ र वैकल्पिक शक्तिको आवश्यकता रहेको भन्दै तीन वर्षअघि डा. भट्टराईले ३० वर्षको राजनीतिक करियर दाउमा लगाए । यो तीन वर्षमा भट्टराईको नेतृत्वमा रहेको पार्टीले कुनै अपेक्षित गति प्राप्त गर्न सकेन, तर पनि भट्टराईले हार खाएनन् ।
गत स्थानीय, प्रादेशिक र संघीय चुनावमा भट्टराई एक्लै र युवा जोशका साथ खटे । तर निर्वाचन परिणामले नयाँ शक्तिको शक्ति झनै क्षीण भएको देखायो । वैकल्पिक शक्ति निर्माणको बहसले समाजमा पाउने स्थान क्रमशः घट्दै गयो । भट्टराईले पटक-पटक वैकल्पिक शक्तिहरू बीचको एकता अपरिहार्य रहेको बताए । तर अन्त्यमा मधेस आन्दोलनबाट उदाएको र ‘जातिवादी’ ट्याग लागेको पार्टी संघीय समाजवादी फोरमसँग हात मिलाउन बाध्य भए ।
यी घटनाक्रमलाई फरक ढंगबाट बुझ्नुपर्ने नयाँ शक्तिका नेता श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘वैकल्पिक शक्तिको बहस झन् घनीभूत भएको छ । डाक्टर बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अवधारणा विकास गर्दा तीनवटा विकल्पहरू दिनुभएको थियो, तीमध्ये सजिलो विकल्प अहिले भइरहेका पूराना दलहरूलाई नयाँ वैकल्पिक बनाउन सकिने थियो । दोस्रो चाहिँ दलहरूलाई रुपान्तरण गर्न नसक्ने हो भने तिनमा रहेका कार्यकर्ता र नेताहरूलाई रूपान्तरण गर्ने र यदि त्यो पनि भएन भने शून्यबाट थालनी गर्ने ।’
आफूहरू शून्यबाटै थालनी गरेर अघि बढेको श्रेष्ठको दाबी छ । तर पछिल्लो समयमा नयाँ शक्तिले कांग्रेस, नेकपा र राजावादी शक्ति बाहेक सबै शक्तिसँग एकता गर्दै अघि बढ्ने विकल्प तयार गरेको श्रेष्ठ बताउँछन् । ‘तीनवटा विचारधारा बोकेका राजनीतिक शक्तिबाहेक सबैसँग हामीले एकता गर्दै मुलुकमा शक्तिशाली वैकल्पिक धार निर्माण गर्ने हाम्रो लक्ष्य हो,’ श्रेष्ठले भने ।
नयाँ शक्ति मात्र नभएर आफूलाई वैकल्पिक दाबी गर्ने शक्तिहरू देशमा अन्य पनि छन् । जसमध्ये रवीन्द्र मिश्र र उज्ज्वल थापा नेतृत्वको विवेकशील साझामा केही महिना अघि फूट आएको थियो । भट्टराई नेतृत्वको नयाँ शक्ति निरन्तर ओरालो लागिरहेको र वैकल्पिक शक्तिका अर्को दाबेदार विवेकशील साझामा फूट आएपछि नेपालमा वैकल्पिक राजनीतिक शक्तिको बहस सकिएको भन्दै कतिपय राजनीतिक विश्लेषकहरूले आफ्नो धारणा राख्दै आएका छन् ।
एकताको मोडालिटी
नयाँ शक्ति पार्टीका प्रवक्ता प्रशान्त सिंहले पार्टीमा माथि दुई खाले संरचना बनाइएको बताए । लोकान्तरसँग कुरा गर्दै सिंहले भने, ‘एउटा संघीय परिषद् र अर्को कार्यकारी केन्द्रीय समिति बनाइने छ । संघीय परिषद्को अध्यक्ष नयाँ शक्तिका संयोजक भट्टराई हुनेछन् भने कार्यकारी केन्द्रीय समितिको अध्यक्ष उपेन्द्र यादव रहने सहमति गरिएको छ । भट्टराई पूर्वप्रधानमन्त्री समेत रहेकाले पार्टीमा उनलाई वरियताको क्रममा पहिलो स्थानमा राखिएको छ ।’
भट्टराई अध्यक्ष रहने संघीय परिषदको काम भने बौद्धिक हुनेछ । ‘पार्टीका लागि विचार दिने, नीति निर्माण गर्ने, अन्य पार्टीहरूबीच एकता तथा ध्रुवीकरण गर्ने लगायतका काम भट्टराईले गर्नेछन्,’ सिंहले भने, ‘तर संगठन निर्माण गर्ने, संगठनको सबै कार्यकारी काम गर्ने जिम्मा भने कार्यकारी केन्द्रीय समितिको अध्यक्ष उपेन्द्र यादवले गर्नेछन् ।’ दुवै अध्यक्षलाई बलियो नै बनाइएको छ र कार्यकारी अधिकार पनि दिइएको छ तर पार्टीको संगठनसम्बन्धी काम भने यादवले नै गर्ने गरी सहमति भएको उनले बताए ।
तत्काल कार्यकारी केन्द्रीय समिति २५ सदस्यीय बनाउने सहमति भएको छ । उक्त समितिमा फोरमको १६ जना र नयाँ शक्तिको ९ जना सदस्य रहनेछन् । त्यसैगरी एकताको महाधिवेशन आयोजक समिति बनाउनका लागि पनि भागबण्डा गरिएको छ । १ हजारको संख्यामा तल महाधिवेशन आयोजक कमिटी बन्नेछन् । जसमा फोरमको ६ सय र नयाँ शक्तिको ४ सय सदस्य रहनेछन् । सिंहका अनुसार उक्त संख्या ठूलो भएकोले त्यसलाई घटाउने पनि समझदारी भएको छ ।
एकता प्रक्रियामा शंका
फोरम र नयाँ शक्तिको एकता हुने भएपछि नयाँ शक्तिका कतिपय नेताले असन्तुष्टि पोखेका देखिन्छन् । महाधिवेशन आयोजक कमिटीको बैठक नबोलाइकन दुईचारजनाले कोठाभित्र बसेर गरेको निर्णय ठीक नभएको सचिवालय सदस्य देवेन्द्र पराजुली बताउँछन् । उनले यो तरिकाले वैकल्पिक राजनीतिक शक्ति बन्न अप्ठेरो हुने बताए ।
‘हामीले जुन वैकल्पिक राजनीतिको कुरा गरिरहेका थियौं, यो वैकल्पिक राजनीतिभन्दा पनि राजनीतिक शक्ति मात्र निर्माण गर्ने दिशातर्फ गएको जस्तो देखिन्छ,’ लोकान्तरसँग कुरा गर्दै पराजुलीले भने, ‘मैले आफ्ना कुराहरू राखेको छु, एकताका लागि केके कुरामा सहमति भएका हुन् त्यो त भोलि नै देखिएला र त्यसपछि आफ्नो धारणा राखौँला । तर बन्ने भनिएको एकीकृत पार्टीले वैकल्पिक राजनीतिक शक्तिकै रूपमा भूमिका खेल्ने कुरामा शंका छ ।’
तर एकता हुनै नहुने चिज चाहिँ नभएको पराजुलीको धारणा छ ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...