२२ असार २०८३, सोमबार
अदालतमा महरा

महराको बयान– 'रक्सी ७ वर्षदेखि छोएको छैन, त्यो दिन रोशनीले मलाई नै धम्की दिएकी थिइन्'

कात्तिक १५, २०७६
महराको बयान– 'रक्सी ७ वर्षदेखि छोएको छैन, त्यो दिन रोशनीले मलाई नै धम्की दिएकी थिइन्'

काठमाडौं– संसद् सचिवालयमा काम गर्ने एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालतसमक्ष इन्कारी बयान दिएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले बिहीवार काठमाडौं जिल्ला अदालतमा जबरजस्तीकरणी उद्योगअन्तर्गतको मुद्दा दर्ता गरेपछि थुनछेक बहसअघि शुक्रवार अदालतमा महराको बयान भएको हो ।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेसमक्ष महराले इन्कारी बयान दिएको अधिवक्ता पद्मा आचार्य सुवेदीले लोकान्तरलाई जानकारी दिइन् ।

'उहाँले सम्पूर्ण आरोपहरूमा इन्कारी बयान दिनुभएको छ,' उनले लोकान्तरसँग भनिन् ।

रोशनीको डेरातर्फ गएको हुँ, भित्र पसिनँ !

स्रोतका अनुसार महराले पीडित भनिएकी रोशनी शाहीसँग २०४७ सालदेखि आफ्नो पारिवारिक सम्बन्ध रहेको बयान दिएका छन् । 

'२०४७ सालदेखि नै उनी (रोशनी) को र हाम्रो पारिवारिक सम्बन्ध छ । उनको विवाहमा पनि मैले अभिभावकको भूमिका निर्वाह गरेको थिएँ । उनको श्रीमान/श्रीमती र हाम्रो परिवारबीच आउनेजाने भइरहन्छ ।'

रोशनी डिप्रेसनको रोगी भएको र मर्छु भनेर बेलाबेला आफूलाई धम्की दिने गरेको प्रसंग उल्लेख गर्दै महराले सो दिनपनि रोशनीको धम्कीपछि आफू उनको डेरातर्फ गएको तर फोन नउठेपछि फर्किएको बयान दिएका छन् ।

'रोशनीले धम्की दिइरहेपछि मैले उनको श्रीमानलाई फोन गरेँ, उनले फोन उठाएनन् । त्यसपछि रोशनीलाई फोन गरेँ, उनले पनि उठाइन् । फोन गर्दै म उनको डेरातर्फ गएँ । फोन नउठेपछि बाहिरैबाट फिर्ता भएँ ।'

विद्यार्थीलाई समेत कुटिनँ !

महराले आफूले शिक्षक छँदा विद्यार्थीलाई समेत एक लबेटा नलगाएको भन्दै आफूले कसैलाई कुटपीट गर्नै नसक्नै जिकिर गरेका छन् ।

'१२ वर्षसम्म पढाएँ । विद्यार्थीलाई समेत कहिल्यै पिटिनँ । सर, यसो गर्दा त विद्यार्थीले कहाँ टेर्छन् र भन्थे,' महराको बयान उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो ।

आरोप लगाइए जस्तैगरी यदि आफू त्यहाँ गएको र गलत नियत राखेर कुटपीट गरेको भए संवेदनशील अंगहरूमा घाउचोट लाग्नुपर्ने जिकिर पेश गर्दै महराले आफूले त रोशनीको हातखुट्टामा मात्र चोट रहेको भन्ने सुनेको बताएका छन् ।

महराले पार्टीभित्र पनि आफू भलाद्मी र समन्वयकारी छवीको नेताका रूपमा चिनिने कुरा उल्लेख गरेका छन् ।

'पार्टीभित्र पनि मलाई भलाद्मी र समन्वयकारी नेताको रूपमा चिनिन्थ्यो, कसले खै किन मलाई फसाउन खोज्यो थाहा भएन,' महराले बयानमा भनेका छन् ।

'डाक्टरको सल्लाहपछि ७ वर्षदेखि रक्सी खाएको छैन'

महराले आफूले ७ वर्षदेखि रक्सी नखाएको जिकर पनि गरेका छन् ।

कोलेस्ट्रोल र युरिक एसिडको समस्या भएपछि ७ वर्षदेखि डाक्टरको सल्लाहमा आफूले रक्सी नखाएकाले हिमालयन रिजर्भ भन्ने रक्सीबारे आफूलाई केही थाहा नभएको महराले बयानमा भनेका छन् ।

प्रहरीले रोशनीको कोठामा भेटिएको हिमालयन रिजर्भ ब्राण्डको रक्सीलाई समेत प्रमाणका रूपमा अदालतमा पेश गरेको छ ।

महराले घटनामा आफ्नो संलग्नता नरहेको बेहोराको निवेदन गत असोज १५ गते प्रहरीलाई निवेदन दिएको तर उक्त निवेदन उपर कुनै कारवाही र त्यसलाई अदालती प्रक्रियामा प्रवेश नराएको भन्दै गुनासो समेत गरेका छन् ।

गत असोज १९ गते बालुवाटारबाट पक्राउ परेका महरामाथि आजै काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ । 

थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि जेल चलान गर्नेमध्ये एक आदेश हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्