
प्रहरीले जुवा खेलिरहेको भन्दै दाङ, स्याङजा र कैलालीबाट २२ जनालाई पक्राउ गरेको छ।
दाङको घोराही उपमहानगरपालिका १४ लखन पार्क नजिक रोल्पाली सृष्टी खाजा घरमा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन्। रोल्पा रुन्टिगढी गाउँपालिका ६ निगलपानीका दुर्गा पुनसहित ९ जनालाई नगद १ लाख ७१ हजार ५ सय ८० रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्याङजाको आँधीखोला रेष्टुरेण्टमा जुवा खेलिरहेका ८ जना पनि पक्राउ परेका छन्। पुतलीबजार नगरपालिका १० राङखोलाका रनबहादुर गुरुङसहित ८ जना ४८ हजार ६ सय रुपैयाँसहित पक्राउ परेका हुन्।
त्यसैगरी, जुवा खेलिरहेका ५ जना कैलालीबाट पनि पक्राउ परेका छन्। धनगढीको तारानगरका बहादुर सिंह खत्रीको घरमा जुवा खेलिरहेका मोहन भट्टसहित ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट १ लाख ३६ हजार ४ सय २० रुपैयाँ समेत नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।