
सरकारले केही जिल्लामा कोरोना संक्रमण भए/नभएको पत्ता लगाउन र्यापिड टेस्ट गर्ने निर्णय गरेको भएपनि कैलालीमा किट भने अपुग हुने देखिएको छ ।
जिल्लामा चैतमा मात्रै १० हजारभन्दा बढी मानिस भारतका विभिन्न ठाउंँबाट आएको हुन सक्ने स्थानीय तहको अनुमान छ ।
स्वास्थ अधिकारीहरू भारतबाट विभिन्न नाका भएर वा लुकेर सो अवधिमा करीब १ लाख ५० हजार मानिस विदेशबाट सुदूरपश्चिममा भित्रिएको बताउँछन् । हाल सरकारले सुदूरपश्चिममा केवल १० हजार थान मात्र आरडीटी किट उपलब्ध गराएको छ ।
‘यति थोरै परिमाणले ती सबै मान्छेको र्यापिड टेस्ट गर्न कसरी पुग्छ ?’ एक स्वास्थ्यकर्मीले भने, ‘परीक्षणका लागि आरडीटी किट अभाव हुन्छ ।’
हाल टीकापुर नगरपालिकामा मात्रै चैतभित्र भारतबाट आएर घर फर्केका र क्वारेन्टाइन नबसेर घरमै बसेका करीब ५ सयदेखि ७ सय मानिस हुन सक्ने बताइएको छ । यहाँ र्यापिड टेस्टका लागि सरकारबाट ६० थान किट मात्रै उपलब्ध भएको नगरपालिका, स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए ।
लम्कीचुहा नगरपालिकामा समेत र्यापिड टेस्टका लागि सरकारले ५० किट मात्र उपलब्ध गराएको छ । लम्की चुहाका स्वास्थ्य शाखा संयोजक जयन्ती बिष्टले भनिन्, ‘बाँकी १५ किट रहेको छ, आइतवार टेस्ट गर्छौं, हामी कहांँ किटभन्दा बढी क्वारेन्टाइमा राखिएका नागरिक छन्, कसरी पुग्नू ?’
लम्कीचुहाका विभिन्न वडामा चैतभर भारतबाट घर फर्किएर घरमै बसेकाहरू २ हजारभन्दा बढी रहेको नगर प्रमुख महादेव बजगाईं बताउँछन् । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशी अहिले कैलालीमा पहिलो चरणमा क्वारेन्टाइनमा रहेकाहरुको मात्र जाँच गर्ने गरी काम अगाडि बढाइएको बताउँछन् ।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत नरेन्द्रसिंह कार्कीले संघीय सरकारबाट हालसम्म १० हजार किट आएको बताए । ‘१० हजार किट प्राप्त भएको छ र १० हजार किट फेरि माग गरेका छौंं,’ कार्कीले भने, ‘सबैको परीक्षण गर्ने सरकारको योजना हो । किट आएमा बांँकीको पनि परीक्षण गर्नेछौं ।’
यस्तै, आईएमई लाइफ इन्स्योरेन्सले टीकापुर अस्पताललाई १० थान पिपिई सहयोग हस्तान्तरण गरेको छ । इन्स्योरेन्सका सुदूरपश्चिम प्रमुख सुमन तिमिल्सेनाले अस्पतालका अध्यक्ष दीपक रावललाई भेटेर सो सहयोग हस्तान्तरण गरे ।
तिमिल्सिनाले संक्रमणको जोखिमका बेला उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री सहयोग गरिएको बताए ।