२२ असार २०८३, सोमबार

नेकपा विवाद : ओलीले कार्यदलका सदस्यसँग परामर्श गर्दै, पूर्व माओवादी पक्ष नजाने

कात्तिक २४, २०७७
नेकपा विवाद : ओलीले कार्यदलका सदस्यसँग परामर्श गर्दै, पूर्व माओवादी पक्ष नजाने
फाइल फोटो

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरूप प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले विवाद समाधानका लागि गठित कार्यदलका सदस्यसँग सोमवार परामर्श गर्ने भएका छन् ।

ओलीले बोलाएको बैठकमा पूर्व माओवादी समूहका नेताहरू भने सहभागी नहुने बुझिएको छ । 

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपा सचिवालय बैठकले गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा ओली पक्षबाट महासचिव पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल थिए । 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा र पम्फा भुसाल तथा माधव नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डे सदस्य थिए । कार्यदलले दिएको सुझाव भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले अनुमोदन गर्दै विवाद समाधान भएको थियो । 

महासचिव पौडेलमार्फत प्रधानमन्त्री ओलीले कार्यदलका सदस्यलाई दिउँसो १२ बजे बालुवाटारमा बोलाएका कार्यदलका एक सदस्यले जानकारी दिए । ओलीले बोलाएको बैठकमा पूर्व माओवादी पक्षमा नेताहरू भने नजाने सम्भावना छ । ‘जनार्दन शर्मा बिरामी रहेका र भुसाल अन्य काममा व्यस्त भएकाले बैठकमा सहभागी हुने सम्भावना न्युन छ,’ पूर्व माओवादी स्रोतले लोकान्तरसँग भन्यो । 

पार्टीभित्र देखिएको विवाद समाधानका लागि कार्यकारी अध्यक्ष प्रचण्ड लगायत सचिवालयका ५ जना सदस्यले ४८ घण्टाभित्र सचिवालय बैठक बोलाउन दिएको अल्टिमेटम सोमवार सकिँदैछ । प्रधानमन्त्री ओलीले आइतवार माधव नेपाल समूहसँग परामर्श गरेका थिए । 

नेता नेपालले कार्यदलले दिएको प्रतिवेदन र स्थायी कमिटीको निर्णय कार्यान्वयनका लागि तत्काल सचिवालय बैठक बोलाउन सुझाव दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्