२१ असार २०८३, आइतबार

‘माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हिर्काउन खोज्दा प्रचण्ड सडकमा पछारिनुभयो’

‘माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हिर्काउन खोज्दा प्रचण्ड सडकमा पछारिनुभयो’
फाइल फोटो

नेकपा ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हिर्काउन खोज्दा प्रचण्डले सडकमा पछारिनुपरेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको लुम्बिनी प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले बुटवलको सभाले राष्ट्रलाई एकताको सन्देश दिएको बताए ।

‘जनता प्रधानमन्त्रीको पक्षमा रहेको देखिएको छ । हामी प्रधानमन्त्रीलाई भरोसा दिन चाहन्छौं, होस्टेमा हैंसे गर्न चाहन्छौं,’ उनले भने, ‘केही नेताहरूले बाटो बिराएका छन्, बाटो बिराएका नेताहरू फर्किआउनुहोस्, बाटो बिराउनुभयो भने राजनीतिक भविष्य सुरक्षित हुने छैन भन्ने सन्देश यो सभाले दिएको छ ।’

आगामी वैशाखमा चुनाव हुने र केपी शर्मा ओली नेतृत्वको पार्टीले पहिलेभन्दा राम्रो परिणाम ल्याउने दाबी समेत पोखरेलले गरे ।

‘रोल्पा–रुकुमलाई जनयुद्धको थलो भनिन्छ, प्रचण्डले जे चाह्यो त्यही हुने मानिन्छ तर अब रोल्पा–रुकुममा केपी ओलीको नेतृत्वमा विजयको झण्डा पहराउँछौं,’ उनले भने, ‘उहाँहरू जनताबाट डराएर चुनावबाट भाग्न खोज्दै हुनुहुन्छ, उहाँहरू प्रथम अध्यक्षलाई आरोपित गर्दै हुनुहुन्छ ।’

एमाले विभाजनबाट लाभ लिन खोज्ने प्रचण्डलाई हिजोको जनयुद्धका कमाण्डरले नै छाडिरहेको उनले बताए । ‘अब परिवर्तन, विकास र समृद्धिको यात्रा कमरेड केपी ओलीको नेतृत्वमा अगाडि बढ्नेछ,’ उनले भने ।

कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले जनयुद्धका उपलब्धी र जनमुक्ति सेनाको रक्षा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हुने बताए । उनले प्रचण्डको नेतृत्वमा रहेका नेताहरू सडकछाप भइसकेका बताए ।

‘अब जनमुक्ति सेनाको रक्षा केपी शर्मा ओलीले गर्नुहुन्छ, जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा हुन्छ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्