२१ असार २०८३, आइतबार

सुदूरपश्चिमको पर्यटन विकासका लागि सरकार गम्भीर भएर लागेको छ : मन्त्री आले

चैत २१, २०७७
सुदूरपश्चिमको पर्यटन विकासका लागि सरकार गम्भीर भएर लागेको छ : मन्त्री आले

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमस्थित विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको दीगो विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।

डोटीको जोरायल गाउँपालिका–२ बुडरमा शनिवार आयोजित ‘प्राणी उद्यानको सम्भाव्यता’ सम्बन्धी सामुदायिक वन उपभोक्ता समूह र सरोकारवालाबीचको अन्तर्क्रिया कार्यक्रममा उनले सुदूरपश्चिम प्रदेशस्थित खप्तड, रामारोसन, बडिकेदार, बडिमालिकालगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको दीगो विकासका लागि सरकार गम्भीर भएर लागेको बताए ।

‘सुदूरपश्चिममा असंख्य धार्मिक तथा पर्यटकीय क्षेत्र छन्, ती क्षेत्रको दीगो विकासका लागि सरकारले विभिन्न कार्ययोजना अगाडि बढाएको छ, चाँडै नै यहाँका पर्यटकीय र धार्मिक क्षेत्रको पूर्वाधारको काम हुनेछ,’ उनले भने ।

मन्त्री आलेले सरकारले सुदूरपश्चिममा चिडियाखाना निर्माण गरिने योजनाका साथ अगाडि बढेको जानकारी दिँदै सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पूर्वाधार विकास निर्माणका अधुरा कामलाई पूरा गर्ने गरी बजेट विनियोजन गराउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

‘खप्तड क्षेत्र यहाँको पर्यटकीय केन्द्रविन्दु हो, यस क्षेत्रको विकास गर्न सके यहाँको आर्थिक तथा सामाजिक विकासको ढोका खुल्छ । त्यसैले यस क्षेत्रको पूर्वाधार विकास निर्माणका अधुरा कामलाई पूरा गर्ने गरी बजेट विनियोजन गराउनेमा आफ्नो पूर्ण सहयोग हुनेछ,’ उनले भने ।

मन्त्री आलेले डोटीको बडिकेदार धार्मिक क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजनको तयारी भइरहेको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशमा सडक, विद्युत्, सञ्चारलगायत भौतिक पूर्वाधार विकास निर्माणमा वर्तमान सरकारले गम्भीर रहेको जानकारी दिए । उनले सुदूरपश्चिमका सुकुम्बासीको घर जग्गा व्यवस्थापनका लागि पहल भइरहेको र केही दिनमै उनीहरूले जग्गाधनी लालपूर्जा पाउने बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा. दीपक खरालले सरकारले सुदूरपश्चिममा चिडियाखाना निर्माणका लागि सरकारले निर्णय गरिसकेकाले चाँडै नै यहाँ चिडियाखाना स्थापना गरिने बताए । सरकारले ७ वटै प्रदेशमा चिडियाखाना स्थापना गर्नका लागि बजेट विनियोजन गरिसकेको बताउँदै उनले डोटीको जोरायल गाउँपालिका–२ बुडरमा प्राणी उद्यानको निर्माणका लागि सरकारी प्राविधिक टोलीले सर्वेको कार्य अगाडि बढाएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्