
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवाको सरकार गठन गर्न परमादेश जारी हुने दाबी गरेका छन् ।
प्रचण्डले संविधानको धारा ७६(५) को व्यवस्था सांसदहरूको विशेषाधिकार भएको पनि जिकिर गरे ।
नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा पेशाकर्मी र बुद्धिजीवीसँग गरिएको छलफलमा प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना हुने दाबी गरे । ‘संसद पुनःस्थापना हुन्छ, शेरबहादुर देउवाको सरकार गठन गर्न परमादेश जारी हुन्छ भनेर म आज पनि भन्छु । संविधानको व्यवस्था, परम्परा र नजीर अनुसार त्यसो नहुनु पर्ने कारण छैन,’ प्रचण्डले भने, ‘संविधानको धारा ७६(५) भनेको संसद पटक–पटक भंग हुने अवस्था नआओस् भनेर जानीबुझी सांसदहरूलाई दिइएको विशेषाधिकार हो । निर्दलीय भन्न खोजिएको छ, यो गलत हो ।’
आफूमाथि अदालतमा सेटिङको आरोप लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले नै अदालतलाई दबाबमा पार्न खोजेको आरोप प्रचण्डले लगाए । ‘हामी अदालतलाई प्रभावित पार्ने गरी कुनै अभिव्यक्ति दिन चाहँदैनौं । यसअघि पनि अदालतप्रति भरोसा छ भनेका थियौं, अहिले पनि विश्वास छ,’ प्रचण्डले भने, ‘पहिला पनि केपीका मान्छेले सेटिङ गरिएको छ भन्दै हिँडेका थिए, अहिले अर्को रूपमा अदालतलाई धम्क्याउने, तर्साउने निकै ठूलो र षड्यन्त्र भएको छ ।’
प्रतिनिधि सभाका १४६ जनाको तर्फबाट गरेको बहसलाई महान्याधिवक्ताले ‘गाली पुराण’ सुनियो भनेर बदनाम गर्न खोजेको प्रचण्डले आरोप लगाए ।
प्रचण्डले आफूहरूमाथि प्रधानमन्त्रीले गाली गलौजमा उत्रिनुले पराजित मानसिकता देखिएको टिप्पणी गरे । ‘केपीजीले आज यति तल उत्रेर गाली शुरू गर्नुभएको छ । केपीजी सिद्धिनुभयो, कलंक र बद्नाम प्रधानमन्त्रीको रूपमा नेपालको इतिहासमा बद्नाम भएर जानुभयो,’ प्रचण्डले भने ।