२१ जेठ २०८३, बिहीबार
हत्या कि आत्महत्या ?

सीता भण्डारी मृत्यु प्रकरण : प्रहरी अनुसन्धानमा माइतीलाई शंका, १७ दिनपछि सीआईबी खटियो

असोज ६, २०७८
सीता भण्डारी मृत्यु प्रकरण : प्रहरी अनुसन्धानमा माइतीलाई शंका, १७ दिनपछि सीआईबी खटियो

रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ राधाकृष्ण टोलकी २७ वर्षीया सीता भण्डारी पौडेलको मृत्यु भएको १६ दिनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली घटनास्थलमा पुगेको छ । 

गत भदौ २० बिहान आफ्नै घरको एक कोठामा सीता मृत भेटिएकी थिइन् । 

श्रीमान टीका पौडेलले नियमित मादक पदार्थ सेवन गर्ने र उनीहरूको उमेर अन्तरको कारणले पनि सीताले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले बताए ।

‘श्रीमानले नियमित मादक पदार्थ सेवन गर्ने गरेको पाइएको छ र उनीहरूको उमेर १७ वर्षको फरक देखिएको छ, त्यसकारण पनि उनले आत्महत्या गरेको हुनसक्छ,’ एसपी केसीले लोकान्तरसँग भने, ‘अहिले सीआईबीको टोली आइपुगेको छ, अनुसन्धान हुँदैछ ।’

१६ दिनपछि हिजो (मंगलबार) घटनास्थल पुगेको सीआईबीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहितको टोलीले १७ औं दिन आजदेखि अनुसन्धान थालेको छ ।

अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार ‘टेक्निकल’ र ‘मेनुअल’ दुवै तरिकाले अनुसन्धान भइरहेको छ ।

माइतीपक्ष र परिवारसँग पनि सीआईबीको टोलीले सोधखोज गरिरहेको छ ।

माइती पक्ष भन्छ– 'प्रहरीको अनुसन्धानमा खोट छ'

सीताको माइती पक्षले उनको हत्या भएको आरोप लगाउँदै आएको छ ।

शुरूमा इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिन जाँदा प्रहरीले जाहेरी लिन मानेको थिएन । त्यसपछि माइती पक्षले आन्दोलन गर्दै आएको थियो ।

‘प्रहरीको अनुसन्धानमा विश्वास नलागेर सीआईबीले अनुसन्धान गर्नुपर्छ भनेर माग गरेका हौं,’ मृतक सीता भण्डारीका भाइ सुरज भण्डारीले लोकान्तरसँग भने, ‘हिजो (मंलगवार)बाट सीआईबीले अनुसन्धान गरिरहेको छ, न्याय पाउँछौं भन्नेमा ढुक्क छौं ।’

सीताको परिवार इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मदन कुँवरको आफन्त भएकाले पनि माइती पक्ष प्रहरी अनुसन्धानसँग खुशी छैन ।

तर डीएसपी कुवँरले भने आफूहरूले अनुसन्धान गरिरहेको र पीडितको आशंका सही नरहेको बताए । 

‘उहाँहरूको दाबी झुटो हो, हामीले अनुसन्धान गरिरहेका छौं,’ डीएसपी कुवँरले लोकान्तरसँग भने, ‘अहिले सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ ।’

सीताका बुवाको यस्तो दाबी

सीताका बुबा हरिप्रसाद भण्डारीका अनुसार अघिल्लो रात सीता र श्रीमान टीका पौडेल सँगै थिए ।

आइतवार बिहान साढे ५ बजे ज्वाइँले आफूलाई छोरी हेर्ने भए आउनू भनेर फोन गरेको उनको दाबी छ ।

‘भोलिपल्ट पुग्दा छोरीको घरमा सासूससुरा मात्र थिए,’ भण्डारीले भने, ‘छोरी खै त ? भनेर सोध्दा उहाँहरू बोल्नुभएन । ज्वाइँ घरमा थिएनन् । कता फरार भएछन् । कोठामा छोरीको लास देखेँ । म बेहोश भएर ढलेँ ।’ 

उनका अनुसार बाथरुम पस्ने ढोकामा काटिएको चुन्नी झुण्डिएको थियो । 

सीताको शव भुइँमा घोप्टो पारी सिरानीमा टाउको राखिएको र रगत लतपतिएको अवस्थामा थियो । 

सीता र टीका पाल्पाबाट भदौ ६ गते माइती/ससुराली गएका थिए । सीता माइत बसिन् । ७ गते बिहान टीका घर आए । 

घटना हुने अघिल्लो दिन १९ गते टीकाले सीतालाई फोन गरी भतिजीको जन्मदिन छ, घर आउनू भनेर फोन गरेपछि सीता घर गएकी थिइन् ।

२७ वर्षीया सीताको ४३ वर्षीया टीकासँग दुई वर्षअगाडि मागी विवाह भएको थियो । 

सीताकी माइती पक्षले छोरीको हत्या गरेर आत्महत्या भनिएको आरोप लगाएको छ ।

‘मेरी छोरीले आत्महत्या गरेको होइन । यो सुनियोजित घटना हो । हत्या गरिएको हो । इलाका प्रहरी कार्यालय, बुटवलका जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले लिन मानेन,’ भण्डारीले लोकान्तरसँग घटनाको २ दिनपछि भनेका थिए । 

सीता र टीकाले पाल्पाको तानसेनमा ‘दी दवार रिसोर्ट’ नामको होटल सञ्चालन गर्दै आएका थिए । 

पैसा र पावरको भरमा घटनालाई अन्यत्रै मोड्न खोजिएको माइती पक्षको आरोप छ । 

टीकाले सीतालाई दोस्रो विवाह गरेका थिए ।

पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरेपछि दुई वर्ष अगाडि सीतासँग विवाह भएको थियो । सीताका भाइ सुरज भण्डारी उनीहरूले झुट बोलेर विवाह गरेको दाबी गर्छन् ।

‘उहाँहरूले त्यो बेलामा उमेर ढाँट्नु भएको रहेछ,’ सुरजले लोकान्तरसँग भने ।

प्रहरीले सीता भण्डारीका श्रीमान टीका पौडेल, आमाजू र जेठाजुलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहनमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय रूपन्देहीका प्रमुख एसपी मनोज केसीले लोकान्तरलाई बताए ।

माइती पक्षले सीताको शव अहिलेसम्म पनि उठाउन दिएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्