बैशाख ११, २०८१
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
कात्तिक २६, २०७८
चीन र अमेरिकाबीच विभिन्न क्षेत्रमा प्रतिस्पर्धा चलिरहेको सर्वविदितै छ । त्यसै सिलसिलामा गुप्तचरीको क्षेत्रमा पनि दुई देशबीचको कडा प्रतिस्पर्धाका रोचक पक्षहरू सार्वजनिक भइरहेका छन् ।
यसै क्रममा अमेरिकाको ब्लूमबर्ग पत्रिकाले बुधवार एउटा रिपोर्ट प्रकाशन गरेको छ । पिटर मार्टिन, जेनिफर जेकब्स र निक वाडह्याम्सले तयार पारेको उक्त रिपोर्टमा सी चिनपिङ चीनका राष्ट्रपति बनेपछि अमेरिकी गुप्तचर निकाय सीआईएले चीनमा सूचना पाउन नसकेको विषय उल्लेख छ ।
राष्ट्रपति सीका निकटवर्ती व्यक्तिहरूका विषयमा सूचना पाउन नसक्दा बाइडन प्रशासनका वरिष्ठ अधिकारीहरू निराश बन्दै गएको रिपोर्टमा लेखिएको छ । बेइजिङले अब कस्तो कदम चाल्दैछ भन्ने कुरा थाहा नपाएर वाशिङटनका अधिकारीहरू आत्तिएका हुन् । विशेषगरी अमेरिकाले चीनविरुद्ध शीतयुद्धकालीन मानसिकताका साथ घेराबन्दी गरी चीनको उदयलाई रोक्न तानाबाना बुनिरहेकोमा चीनको सम्भावित कदमका विषयमा जान्न अमेरिका आतुर देखिन्छ ।
त्यसो त सी राष्ट्रपति बन्नुअघि नै सन् २०१० देखि २०१२ सम्म चीनले सीआईएका १२ भन्दा बढी गुप्तचर तथा सूचनादाताहरूलाई मारेको र गुप्तचरी सञ्जाल नष्ट गरेको भनी सन् २०१७ मा न्युयोर्क टाइम्सले खबर दिएको थियो । सन् २०१० पछिका वर्षमा सीआइएले पालेर राखेका १८ देखि २० जना स्रोतहरूलाई कि त मारिएको कि त कैद गरिएको थियो ।
अनि सी राष्ट्रपति बनेपछि अमेरिकी गुप्तचरीलाई ध्वस्त पार्ने कामलाई थप तीव्रता दिइएको हो । सीले भ्रष्टाचारविरुद्ध चलाएको अभियान पार्टी तथा शासनको शुद्धीकरणका साथै विदेशी गुप्तचरहरूको सफायाका लागि पनि ल्याइएको थियो ।
गुप्तचरीको सबभन्दा प्रभावकारी हतियार पैसा नै हो । पैसा दिएर कुनै पनि व्यक्तिबाट सूचना लिने काम संसारभरिका गुप्तचर संस्थाहरूले गर्छन् । सीआईएले पनि चिनियाँ कम्युनिस्ट पार्टीका भ्रष्ट अधिकारीहरूलाई पैसा खुवाएर भित्री सूचना लिने प्रयास गर्ने गरेको थियो । त्यस्तो गतिविधिलाई नजिकैबाट नियालेका सीले भ्रष्टाचारीहरूविरुद्ध कठोर कदम चाल्दै सीआईएको सूचनाको स्रोत सुकाइदिए ।
गुप्तचर संस्थाहरू सूचनाका लागि दुईवटा स्रोतमा निर्भर रहन्छन्: सिगिन्ट र ह्युमिन्ट । सिगिन्ट भनेको सिग्नल्स इन्टेलिजेन्स अर्थात् मानिसहरूको टेलिफोन वार्ता, ईमेल आदानप्रदान लगायतबाट सूचना संकलन गर्ने काम हो । यो प्राविधिक किसिमको हुन्छ र यसमा त्रुटि बढी हुने सम्भावना रहन्छ किनकि सूचनाको व्याख्या गर्न धेरै नै मेहनत गर्नुपर्ने हुन्छ ।
ह्युमिन्ट भनेको ह्युमन इन्टेलिजेन्स अर्थात् व्यक्तिले सूचना संकलन गर्ने काम हो । यो अन्तर्क्रियात्मक किसिमको हुन्छ । सूचना संकलन गर्नका लागि गुप्तचरहरूले सूचनादाताको टोली खटाउने, जुन निकायबाट सूचना लिनुपर्ने हो त्यहाँका अधिकारीलाई आर्थिक वा अन्य प्रलोभन वा डरमार्फत आफ्नो पक्षमा पार्ने लगायतका काम पर्छन् । यसमा जोखिम पनि धेरै छ जुन कुरा चीनले अमेरिकी जासूस सञ्जाल नष्ट पारेको उदाहरणबाट स्पष्ट हुन्छ ।
चीनले अमेरिकाको ह्युमिन्ट अपरेसनलाई तहसनहस बनाइदिएकाले अमेरिकीहरू चिन्तित बनेका हुन् । त्यसै पनि सीआईएसँग चिनियाँ भाषा फरर बोल्ने र बुझ्ने गुप्तचरहरूको कमी भएकाले पनि चाहिएको जस्तो सूचना आउने गरेको थिएन भनी अमेरिकी सञ्चारमाध्यमहरूले लेखेका छन् ।
यति हुँदाहुँदै पनि अमेरिकाले हरेस खाएको छैन । गत अक्टोबर ७ मा सीआईएले चाइना मिसन सेन्टर नामक बेग्लै इकाइ बनाएर चीनविरुद्धको गुप्तचरीलाई गति दिने प्रयास गरेको छ । सीआईएका निर्देशक विलियम बर्न्सले अमेरिकाका लागि यस शताब्दीकै सबभन्दा ठूलो भूराजनीतिक जोखिमका रूपमा रहेको चीनको प्रतिकार गर्न यो इकाइ बनाइएको घोषणा गरेका थिए । तर राजनीतिक नियुक्ति लिएर आउने अधिकारीहरूले यस सेन्टरलाई राम्ररी चलाउन सक्ने विषयमा अमेरिकाका रक्षा मामिला विशेषज्ञहरूले नै शंका गरिरहेका छन् ।
हुन पनि अमेरिकी गुप्तचर संस्थाहरू सही सूचना प्रदान गर्ने विषयमा बारम्बार चुक्ने गरेका छन् । विशेषगरी एक्काईसौं शताब्दीमा अमेरिकी गुप्तचर संस्थाहरूले धेरै त्रुटि गरेका छन् । सन् २००१ मा न्युयोर्कको ट्विन टावरमा गरिएको आतंकवादी आक्रमणको पूर्वसूचना गुप्तचर निकायले दिन नसक्दा तीन हजारजनाको ज्यान गयो ।
त्यसपछि सद्दाम हुसेनले इराकमा आमविनाशक हतियार बनाइरहेको भनी गुप्तचर निकायले गलत खबर दिएर अमेरिकालाई आक्रमणलाई बहाना दिलायो र चिरकालीन युद्धमा फसायो ।
सबभन्दा पछिल्लो उदाहरणको कुरा गर्दा तालिबानलाई पूरा अफगानिस्तान कब्जा गर्न कम्तीमा तीन महिना लाग्छ भनी अमेरिकी गुप्तचर निकायले सूचना दिएकोमा तालिबानले जम्मा १० दिनमा राजधानी काबुल सहित पूरै अफगानिस्तान कब्जा गरेको थियो । त्यसले गर्दा अमेरिकाको बहिर्गमन पनि अव्यवस्थित हुन पुग्यो अनि काबुलमा १३ जना अमेरिकी सैनिकहरूले आतंकवादीको आत्मघाती आक्रमणमा ज्यान गुमाउनुपर्यो ।
अनि उत्तर कोरियाले गर्ने क्षेप्यास्त्र परीक्षणको पूर्वसूचना पाउन समेत अमेरिकी गुप्तचर निकाय चुक्ने गरेको छ । अन्य देशमा पनि यस्ता समस्या देखिएका छन् ।
त्यसमाथि सीआईएका गुप्तचरहरूले निर्विघ्नतापूर्वक कामै गर्न नसकिरहेको खुलासा भएको छ । न्युयोर्क टाइम्सले केही महिनाअघि मात्र सीआईएको गोप्य पत्र सार्वजनिक गरेको थियो । त्यसमा चीन सहित विभिन्न देशमा आफ्ना गुप्तचरहरू मारिएको, कैद भएको वा विदेशीको हातमा बिकेको सीआईएले स्वीकार गरेको थियो । गुप्तचरहरूलाई थप सतर्क रहन, झट्टै कसैलाई पनि विश्वास नगरिहाल्न र धैर्य गर्न उक्त पत्रमा सचेत गराइएको छ ।
चीनको सन्दर्भमा कुरा गर्दा बेइजिङले हङकङमाथि द्रुत गतिमा नियन्त्रण प्राप्त गरेको, दक्षिण चीन सागरमा सैन्य शक्ति प्रदर्शनका लागि पृष्ठभूमि तयार पारेको, कोभिड १९ को उत्पत्तिका बारेमा गर्न खोजिएको अनुसन्धानको दायरा साँघुरो बनाइदिएको, शत्रु मुलुकहरूविरुद्ध ह्याकिङ कारवाही बढाएको कुरा अमेरिकी गुप्तचर निकायले पूर्वानुमान गर्न नसक्दा अमेरिकी सरकार आश्चर्यचकित र लज्जाजनक दुवै स्थितिमा पुगेको भनी ब्लूमबर्गको रिपोर्टमा उल्लेख छ ।
सीआईएले नयाँ इकाइ खोलेको भए पनि चीनमा सूचनाको पहुँच उसका लागि झनै कठिन हुने संकेत पाइएको छ । राष्ट्रपति सीले छैटौं प्लेनरी बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो ऐतिहासिक संकल्पलाई अनुमोदन गराउन सफलता पाएर तेस्रो कार्यकाल चलाउनका लागि सुनिश्चितता समेत प्राप्त गरेका छन् । सी यसरी माओ र तङकै स्तरका महान् नेता बनेपछि थप शक्तिशाली भएका छन् ।
शक्तिशाली भएपछि उनले पार्टीको शीर्ष तहमा आफ्ना निकटवर्तीहरूलाई ल्याउनेछन् र प्रतिस्पर्धीहरूलाई पन्छाउनेछन् । त्यसै पनि सीआईएले आफ्नो पकेटको मान्छेलाई पार्टीको शीर्ष तहमा पुर्याउनका लागि लगानी गरेको भए पनि सीले भ्रष्टाचारनिरोधी अभियानका क्रममा ती सबैलाई सफाया गरिसकेका छन् ।
सीलाई घात गरेर अमेरिकीहरूलाई सूचना चुहाउने व्यक्ति पार्टीको शीर्ष तहमा रहने परिकल्पना समेत गर्न सकिँदैन । त्यसैले पार्टीका सम्भावित कदमका विषयमा अमेरिकीहरूले ठोस सूचना पाउन लगभग असम्भव देखिन्छ ।
ब्लूमबर्गको रिपोर्टअनुसार, चीनका पूर्व राष्ट्रपतिहरू च्याङ चमिन र हु चिन्ताओको शासनमा रहेको सामूहिक नेतृत्वको प्रणालीलाई सीले हटाएर आफ्नो प्रभुत्व कायम गरेपछि सीआईएले सात वा नौजना शीर्ष भित्रिया नेताहरूमा भन्दा पनि सीमा ध्यान केन्द्रित गर्नुपर्ने भएको छ । यस्तो स्थितिमा महत्त्वपूर्ण सूचना चुहिन सक्दैन ।
अमेरिकाले चीनविरुद्ध गुप्तचरी गरिरहँदा चीन पनि गुप्तचरीमा सक्रिय बनेको देखिन्छ । न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, चिनियाँ ह्याकरहरूले सन् २०१५ मा अमेरिकी कर्मचारीहरूको रेकर्ड ह्याक गरेर महत्त्वपूर्ण सूचना हात पारेका थिए ।
यसबाहेक सन् २०१७ मा एफबीआईका कर्मचारी कुन शान चुनलाई अमेरिकी सरकारको गोप्य तथा संवेदनशील सूचना चिनियाँहरूलाई उपलब्ध गराएकोमा दोषी ठहर गरिएको थियो । अनि अमेरिकाको परराष्ट्र मन्त्रालयकी कर्मचारी क्यान्डेस मारी क्लेबोर्नले पनि चिनियाँहरूसँग पैसा लिएर सूचना चुहाएको पाइएको थियो ।
त्यस्तै दी एटलान्टिकमा छापिएको खबरअनुसार, सीआईए तथा सैन्य गुप्तचरी निकायका अधिकारी केभिन म्यालोरीलाई चिनियाँ गुप्तचरले पैसा दिएर सरकारी सूचना लिएका थिए ।
यसरी चीन र अमेरिकाबीच गुप्तचरी तथा प्रतिगुप्तचरी कारवाहीहरू चलिरहेका छन् । दुई महाशक्तिबीच तीव्र प्रतिस्पर्धाको स्थितिमा यस्ता कारवाहीहरू आगामी दिनमा थप घनीभूत हुने देखिन्छ ।
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...