माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई एकताको महाधिवेशनको नाम दिइएको छ । एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजन र एमालेभित्रैको फुटपछि यो महाधिवेशन हुन लागेको छ ।
नेकपा माओवादी केन्द्रका केही नेताहरू पनि नेकपा विभाजनसँगै एमालेमा आएकाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नेकपाको निरन्तरताको नाम दिएका छन् । त्यसैले, दशौं महाधिवेशन एकताको महाधिवेशन हुने उनको तर्क छ ।
दशौं महाधिवेशनबाट फेरि कक्षा दोहोर्याउने सोचमा रहेको अध्यक्ष ओली सर्वसम्मत रूपमा उही कक्षामा पुनः भर्ना हुने योजनामा छन् । अर्थात्, महाधिवेशन प्रतिनिधिलाई नेतृत्वका लागि आफ्नो पक्षमा एकमत बनाउने ओलीको तयारी छ । त्यसैको आधारभूमि तयार पार्न उनले वडा र पालिका अधिवेशन तथा महाधिवेशन प्रतिनिधि छनौटमा पनि सर्वसम्मतिको रटान लगाएका थिए ।
पार्टी हाइ–कमाण्डले सर्वसम्मतिको फर्मान जारी गरेपछि देशका अधिकांश ठाउँमा सहमतिमा नेतृत्व चयन भएको छ । महाधिवेशन प्रतिनिधि पनि धेरैजसो ठाउँमा सहमतिमा छनौट भएका छन् ।
आगामी महाधिवेशनको हलले ओलीलाई उही कक्षामा फेरि दोहोर्याउन परर ताली बजाएर सहमति जनाउला वा दोहोरिन नदिने उद्देश्यले कसैले नेतृत्व दाबी गर्ला ? एमालेका नेताहरू भावी नेतृत्व चयन प्रक्रियाबारे तीनवटा विकल्पको बारेमा चर्चा गर्छन् ।
पहिलो विकल्प– अध्यक्षमा सर्वसम्मत, अरू पदमा चुनाव
बदलिएको राष्ट्रिय राजनीति र विपक्षी पार्टीहरूसँग प्रतिस्पर्धा गर्नका लागि पार्टी अध्यक्षमा केपी ओली नै दोहोरिनुपर्ने मत एमालेभित्र ठूलो छ । ओली अध्यक्ष हुँदा नै पार्टीको हाँक बलियो भएकोमा अधिकांश नेता कार्यकर्ता सहमत छन् । भविष्यमा पनि एमालेको सशक्त उपस्थितिका लागि ओली नै नेतृत्वमा दोहोरिनुपर्ने ओली पक्षका नेताहरू बताउँछन् । र, यो समूह एमालेमा ओलीलाई दोषरहित नेताको रूपमा पनि व्याख्या गर्छ ।
केपी ओली फेरि एमाले अध्यक्षमा दोहोरिए मात्रै आगामी निर्वाचनमा एमालेले सर्वाधिक सिटमा जित निकाल्ने सक्ने ओली खेमाका नेताहरूको मत छ । एमाले महासचिव ईश्वर पोखरेल नेपालको राजनीति दुई ध्रुवमा विभाजित भएको र एउटा ध्रुवको नेतृत्व केपी ओलीले गरिरहेको बताउँछन् । ओलीलाई सर्वसम्मतिमा अध्यक्ष दोहोर्याउन सके आफूहरूले पनि चाहेको पद लिन सकिने लोभ उनीनिकट नेताहरूमा छ ।
कम्तिमा अध्यक्षचाहिँ सहमतिमै छानियोस् भन्ने नेताहरूको मत छ ।
‘सकेसम्म सर्वसम्मतिमै नेतृत्व चयन गर्छौं । पदाधिकारी सहमतिमा चयन गर्न सकिन्छ भन्ने विश्वास छ । केन्द्रीय सदस्यको भने निर्वाचन हुनसक्छ । पदाधिकारीमा सहमति गर्न सकिएन भने अध्यक्ष मात्रै भए पनि सहमतिमै छान्छौं,’ एक नेताले भने ।
ती नेताका अनुसार, पदाधिकारी चयन गर्न समस्या भयो भने अध्यक्ष सर्वसम्मतिमा छानेर अरू पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन हुनसक्छ । तर, यो सम्भावना अत्यन्तै न्यून रहेको ती नेताले बताए ।
दोस्रो विकल्प– सबै पदमा चुनाव
एमाले अध्यक्ष ओलीको कार्यशैलीमा प्रश्न उठाएर अन्तरसंघर्ष गरिरहेका केही नेताले उनलाई निर्विरोध अध्यक्ष हुन नदिने सोचाइ राखेको पाइएको छ । एमालेको आन्तरिक अन्तरविरोध समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने पक्षमा रहेका नेताहरू ओलीलाई महाधिवेशनमा चुनौती दिनुपर्ने पक्षमा छन् । भलै, उनीहरूको पक्षमा महाधिवेशनबाट ओलीलाई पराजित गर्ने मताधार भने छैन ।
जतिसुकै मत आए पनि सबै पदमा निर्वाचन गराउने गरी उम्मेदवारी दर्ता गर्नुपर्ने त्यो समूहको मत छ । यसमा विशेषगरी उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल ओलीलाई निर्विरोध दोहोरिन दिन नहुने पक्षमा छन् । कम्युनिष्ट पार्टीमा हुने दुई लाइन संघर्षको जग बसाल्न र त्यसको नेतृत्व स्थापित गर्नका लागि पनि महाधिवेशनमा निर्वाचन हुनुपर्ने यो पक्षको मत रहेको छ ।
एमालेका उपाध्यक्ष भीम रावलले त गृहजिल्ला अछामबाट एमाले अध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेका छन् । रावलले ओलीले १० बुँदे कार्यान्वयनमा इमान्दारिता नदेखाएको भन्दै ओलीको आलोचना गरिरहेका छन् । त्यसबाहेक, रावल–भुषाल खेमामा रहेका नेताहरू अध्यक्ष ओलीकै कारण पार्टीमा समस्या आएकाले उनलाई चुपचाप अध्यक्षमा दोहोर्याउन नहुने पक्षमा छन् ।
त्यस समूहका एक नेताले भने, ‘नेकपाको विभाजन, दुई पटकको संसद् विघटन, दुईतिहाइ नजिक बहुमतको सरकारको अवसान र पार्टी विभाजनमा मुख्य रूपमा अध्यक्षको भूमिका छ । उहाँलाई निर्विरोध अध्यक्षमा दोहोर्याउँदा विगतमा उहाँले गरेका सबै गल्ती कमजोरी निशर्त अनुमोदन हुन्छ । हामी त्यसो गर्ने पक्षमा छैनौं ।’
ओली निर्विरोध अध्यक्षमा दोहोरिनका लागि उनले विगतमा गरेका गल्ती कमजोरीका बारेमा बहस चलाउनुपर्ने र उनले आत्मालोचना गरी भविष्यमा त्यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता गर्नुपर्ने यो समूहको मत छ । त्यसबाहेक, महाधिवेशनपछि बन्ने पार्टीमा काखा र पाखाको नीति नलिने प्रतिबद्धता सहित सबैलाई समेटेर पदाधिकारी चयन गर्दा मात्रै नेतृत्वमा सर्वसम्मति हुने रावल–भुसाल पक्षका दोस्रो एक नेताले बताए ।
निर्वाचन चाहने खेमाको अर्को बुझाइ पनि छ– ओलीको कार्यशैलीबाट उनकै खेमामा रहेका नेताहरू पनि आजित छन् । राजनीतिक भविष्यको चिन्ताले मुख खोल्न सकेका छैनन् । महाधिवेशनमा गोप्य मतदान हुँदा उनीहरूको मत ओलीइतर पक्षलाई आउने छ । तर, यस्तो मत धेरै नभएको भन्नेमा भने उनीहरू सहमत छन् ।
महाधिवेशनमा सहकार्य गर्ने बारेमा रावल–भुसालको गहन तयारी भने नभएको ती नेताहरूले बताए ।
एमालेको आन्तरिक विवादको बेला एकै ठाउँ रहेर पार्टी विभाजनमा साथ नदिएका १० जना स्थायी कमिटी सदस्यको एकता अहिले टुटिसकेको छ । रावल र भुसाल अध्यक्ष ओलीसँग संघर्ष गरिरहेका भए पनि अरू नेताहरू अध्यक्षलाई प्रभाव पारेर चाहेको पद लिने पक्षमा देखिएका छन् ।
पार्टीमा रावल र भुसालको पकड क्रमशः कमजोर बन्दै गएको छ । उनीहरूको पक्षमा रहेका नेता कार्यकर्ता संस्थापन पक्षमा खुलिरहेका छन् । त्यसबाहेक, देशभरबाट छानिएर आएका महाधिवेशन प्रतिनिधिमध्ये संस्थापन खेमाको धेरै रहेको प्रारम्भिक आंकलन नेताहरूले गरेका छन् ।
तेस्रो विकल्प– अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको नाम टाँस्ने
एमाले अध्यक्ष केपी शर्मा ओलीको मुख्य जोड महाधिवेशनबाट सर्वसम्मतिमा नयाँ नेतृत्व छानेर एमाले विवादरहित पार्टी रहेको देखाउनेमा छ । निर्वाचन हुँदा गुट बन्ने र त्यसले पार्टीभित्र अराजकता निम्तिने उनको बुझाइ छ ।
एमालेले १० औं महाधिवेशनको मूल नारा नै ‘दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने तय गरेको छ ।
ओली पक्षका एक नेता भन्छन्, ‘अध्यक्ष कमरेड कुनै पनि हालतमा पार्टीमा ‘अराजकता’ निम्तिन दिनुहुँदैन भन्ने पक्षमा हुनुहुन्छ । प्यानल बनाउने, चुनाव लड्ने र त्यसैलाई गुटको रूपमा हुर्किन दिने गलत अभ्यास महाधिवेशनबाट हुँदैन ।’
अधिकांश महाधिवेशन प्रतिनिधि संस्थापन पक्षकै छानिएकाले उनीहरूकै समर्थनमा नेतृत्वका मूख्य व्यक्तिहरूले सहमति गरेर अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको नाम टाँसेर महाधिवेशन सम्पन्न गर्ने सम्भावना पनि उत्तिकै रहेको एमाले नेताहरूकै आँकलन छ । त्यसरी नाम टाँस्दा सबैको प्रतिनिधित्वको प्रयास हुने ती नेता बताउँछन् ।
‘महाधिवेशनमा उपस्थित भएका धेरैजसो प्रतिनिधि सहमत हुने अवस्था भयो भने मात्रै यस्तो विकल्प प्रयोग हुनसक्छ’, ती नेताले भने, ‘यो धेरै सम्भावना भएको विकल्प भने होइन ।’
ओली निकट केही नेताहरू ओली निवास बालकोटमा भेला भएर महाधिवेशनपछिको टीमको बारेमा समेत छलफल शुरू भइसकेको बालकोट निकट स्रोतले बताएको छ ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...