
सन् २०१३ मा चिनियाँ वेबसाइट सोहुले प्रकाशन गरेको एउटा लेख दुई महिनाअघि चीनको सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
उक्त लेखमा बेइजिङले आफ्ना छिमेकीहरूसँग पुरानो चोटको बदला लिने र गुमेका भूभागहरू फिर्ता लिने उल्लेख छ ।
चीनले ताइवान, भारत, जापान, फिलिपिन्स, भियतनाम लगायतसँग भूभागमा स्वामित्वको विषयमा विवाद गरिरहेकाले सोहुको उक्त आलेख अहिले पनि सान्दर्भिक देखिन्छ ।
सोहु बेइजिङमा रहेको अन्लाइन मिडिया, सर्च इन्जिन र गेम सर्भिस कम्पनी हो । त्यसले चीन सरकारको प्रोपागान्डालाई वर्षौंदेखि प्रवर्धन गरिआएको छ । उक्त कम्पनीलाई बेइजिङमा सन् २००८ मा आयोजित ओलम्पिकको इन्टरनेट कन्टेन्ट सर्भिसको आधिकारिक प्रायोजक बनाइएको थियो ।
सोहुले प्रकाशन गरेको यो लेखमा चीनले सन् २०२० देखि २०६० सम्म अवश्यम्भावी युद्धहरू लड्नुपर्ने उल्लेख गरिएको छ । त्यसको रणनीति यसप्रकार छ ः
ताइवान (२०२०–२०२५)
ताइवानलाई मुख्यभूमि चीनसँग एकीकरणका लागि युद्ध आवश्यक रहेको भनी लेखले तर्क गरेको छ । सन् २०२० सम्म चीनले ताइवानलाई शान्तिपूर्ण एकीकरण गर्ने कि युद्ध रोज्ने भनी अन्तिम चेतावनी दिनुपर्ने त्यसमा उल्लेख छ ।
लेखकका अनुसार, ताइवानसँग चीनले पूर्णकालीन युद्ध गर्नुपर्ने हुन्छ । अमेरिका वा जापानले हस्तक्षेप नगर्ने हुनाले यो युद्ध चिनियाँ जनमुक्ति सेनाले तीन महिनामा सिध्याउनेछ ।
अमेरिका र जापानले हस्तक्षेप गरेमा युद्ध शायद सन् २०२५ सम्म तन्किनेछ र त्यतिखेरसम्म चिनियाँ सेना विजयी भइसक्छ ।
दक्षिण चीन सागर (२०२५–२०३०)
ताइवानमाथि विजय प्राप्त गरेपछि चीनले दुई वर्ष आराम गर्नेछ । त्यसपछि उसले दक्षिण चीन सागरमा स्प्राट्ली टापुसमूह वरपर रहेका मुलुकहरूलाई चेतावनी दिनेछ ।
सन् २०२८ सम्म यो अल्टिमेटम दिनु उपयुक्त हुने लेखमा उल्लेख गरिएको छ । त्यसपछि चीनले ती टापुसमूहमाथि पुनः विजय प्राप्त गर्नेछ ।
दक्षिणपूर्वी एसियाका मुलुकले यसमा न्यूनतम प्रतिकार गर्ने अपेक्षा छ तर उनीहरू ताइवानमा चीनले देखाएको शक्तिका कारण उनीहरू त्यतिखेरसम्म पनि काँपिरहेका हुन्छन् ।
ताइवानको पक्षमा हस्तक्षेप गर्दा कठिन पाठ पढेको अमेरिकाले चीनसँग भिडन्त गर्न आउने छैन तर फिलिपिन्स र भियतनाम जस्ता मुलुकलाई उकास्नेछ ।
यस्तो स्थिति आएमा बेइजिङले भियतनामविरुद्ध युद्धको घोषणा गर्नु सर्वोत्तम विकल्प भएको लेखमा उल्लेख गरिएको छ । भियतनामलाई हराएर स्प्राट्ली टापुसमूहका अन्य मुलुकलाई आत्मसमर्पण गर्न बाध्य पारिनेछ ।
त्यसैले सन् २०३० सम्ममा चीनले सफलतापूर्वक प्रशान्त क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्नेछ । युद्धपछि चीनले दक्षिणपूर्वी एसियामा बेखुशी भए पनि साझेदार प्राप्त गर्नेछ ।
दक्षिण तिब्बत (२०३५–२०४०)
त्यसपछि चीन तेस्रो युद्धमा प्रवेश गर्नेछ । दक्षिण तिब्बतलाई पुनः हात पार्न उसले युद्ध गर्नेछ । अरुणाचल प्रदेशलाई चीनले दक्षिण तिब्बत भन्ने गरेको छ ।
भारतलाई टुक्राटुक्रा बनाउनका लागि भड्काउने रणनीति सबभन्दा उपयुक्त हुने सुझाव लेखले दिएको छ । त्यसले काम नगरेमा दोस्रो विकल्पका रूपमा कश्मीरका लागि भारत र पाकिस्तानलाई लडाउने अनि भारतको ध्यान त्यता एकत्रित भएको बेलामा दक्षिण तिब्बत पार्ने काम गरिनेछ ।
दियाओयु टापुसमूह (२०४०–२०४५)
चौथो युद्ध दियाओयु वा सेन्काकु टापुसमूहको एकीकरण हो । जापानले ओकिनावा र चीनले र्युक्यु भन्ने टापुसमूहलाई पनि एकीकरण गर्ने चीनको चाहना छ ।
चीनले ती टापुसमूहमा आक्रमण गर्ने अनि अमेरिका, युरोप र रुसले चुपचाप हेर्ने लेखमा उल्लेख छ । युद्ध ६ महिनामा सकिनेछ र चीनले प्रचण्ड विजय प्राप्त गर्नेछ ।
आउटर मंगोलिया (२०४५–२०५०)
पाँचौं युद्ध आउटर मंगोलियामा गरिनेछ । सन् २०४५ सम्ममा चीनको शक्ति अपराजेय बनेपछि अल्मिेटम दिएर वा नदिएर युद्ध गरिनेछ । सन् २०५० सम्ममा चीन विजयी भइसक्ने आत्मविश्वास लेखमा छ ।
रुस (२०५०–२०६०)
चीनले अन्तिम युद्ध रुसविरुद्ध लड्नेछ । लज्जाको शताब्दीमा चीनका जमीनमा रुसले कब्जा जमाएको र रुसले त्यसको दण्ड भोग्नुपर्ने चीनको सोच छ ।
रुस जस्तो शक्तिशाली आणविक र सैन्य शक्तिविरुद्धको युद्धमा पनि चिनियाँ जनमुक्ति सेना विजयी हुने लेखले विश्वास लिएको छ ।
यस्ता किसिमका प्रोपागान्डाहरू चीनको साइबरस्पेसमा आइरहने गरेका छन् । चिनियाँहरूमा राष्ट्रवादी भावना चर्काउन अनि देशको सैन्यशक्तिमाथिको विश्वास सुदृढ पार्न यस्ता लेखहरू आउने गरेका छन् ।