
नेकपा एमालेको १०औं महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ ।
उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम शुरू गरिएको हो ।
एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैंडाकोटतर्फ ४ सेल्फी प्वाइन्ट रहनेछन् । उनले भने, ‘मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैंडा निर्माण गरिने छ ।’ त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिने छ । उनका अनुसार यी २ स्थायी संरचना निर्माणका लागि करीब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
महाधिवेशन उद्घाटनस्थललाई थप आकर्षक बनाउनका लागि अन्य २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्वीर राखिनेछन् । मदन भण्डारी, भिआई लेनिनका तस्वीर पनि सेल्फी प्वाइन्टमा राख्ने व्यवस्था गरिएको श्रेष्ठले बताए । ट्रेड युनियन महासंघको नेतृत्वमा निर्माण हुन लागेको मजदुरले उचालेको पृथ्वीले संसार बनाउने मजदुरको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिने उनको भनाइ छ । यसका लागि ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
एमालेको १०औं महाधिवेशनको लोगो गैंडाले एमालेको झण्डा उठाएको प्रतिमा निर्माणका लागि १ लाख रुपैयाँ खर्च हुनेछ, यो फाइबरको बन्ने छ । नदी किनारमा स्थायीरूपमा राखिने यस्ता संरचनाले नदीको तटबन्ध गर्नका लागि राज्यको ध्यान पुग्ने श्रेष्ठ बताउँछन् । मञ्च निर्माणको काम ५० प्रतिशत सम्पन्न भइसकेको छ ।
उद्घाटनसत्रमा सहभागी हुने भीड नियन्त्रण गर्न ५ स्थानमा बकेट (डोरीको छेकबार) निर्माण गरिने छ । २ ड्रोनले नियमितरूपमा निरीक्षण गरिरहने छ ।
एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाअधिवेशन उद्घाटन सत्रमा ५ लाखको सहभागिता रहने नेकपा एमालेले जनाएको छ ।
उद्घाटनसत्र नारायणी नदी किनारमा र बन्दसत्र सौराहामा गर्ने तय भएको छ ।