०३ असार २०८३, बुधबार
समाजसेवा

किसानका सारथि यज्ञ गैरे : नहर सुधारदेखि व्यावसायिक खेतीसम्मका अगुवा

फागुन २८, २०७८
किसानका सारथि यज्ञ गैरे : नहर सुधारदेखि व्यावसायिक खेतीसम्मका अगुवा

स्रोह–छत्तीस सिँचाइ प्रणाली रुपन्देहीको मात्र होइन, पश्चिम नेपालको महत्त्वपूर्ण सिँचाइ आयोजना हो । यो सिँचाइ प्रणाली किसानको बाहुबलमा आधारित छ ।

किसानको बाहुबलमा आधारित यो सिँचाइलाई दक्षिण एसियाकै महत्त्वपूर्ण मानिन्छ । भनिन्छ राणाकालीन समयबाट शुरू भएको यो सिँचाइ प्रणालीलाई राणा शासकहरूले पनि स्वायत्त छाडेका थिए अर्थात् राणाहरूले पनि यो सिँचाइलाई आफ्नो अनुकूल चलाउन चाहेनन् ।

किसानको एकताको बलमा चलेको यो सिँचाइ प्रणालीबाट तिलोत्तमा नगरपालिकाको ५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

किसानको श्रममा आधारित सिँचाइ प्रणालीको इतिहास निकै पुरानो छ । यो सिँचाइ प्रणालीसँग तिलोत्तमाका हरेक किसान परिचित त हुने नै भए, प्रायः सबैले सिँचाइ सुविधाका लागि श्रम गर्दै आएका छन् ।

किसानले तिनाउ नदीबाट स्याउला, ढुंगा, बालुवाका बोराले छेकेर पानी नहरमा ल्याउँथे तर किसानले काम सक्न नपाउँदै पानीको बहावले त्यो बाँध भत्काउँथ्यो । वर्षायाममा त किसानको बास नै मुहान र नहरमा बित्थ्यो । 

स्थानीय किसानले शुरूबाटै भोग्दै आएको नियति हो यो तर परिस्थिति सधै यस्तै कहाँ रहन्थ्यो र ? पछिल्ला केही वर्षयता किसानले कैयौ वर्षदेखि भोग्दै आएको दुःख, पीडा, समस्याको लगभग अन्त्य भएको छ । सिँचाइ प्रणाली आधुनिक बन्दैछ । केही काम भएको छ, केही हुने क्रममा छ । सिँचाइलाई राज्यको नजरमा पारेर आधुनिकीकरणमा लैजाने किसानका अगुवा नेता हुन् यज्ञ गैरे ।

सिँचाइ प्रणालीसँग झण्डै २ दशकदेखि गैरे यो वा त्यो कोणबाट जोडिएका छन् । उनकै अगुवाइमा छत्तीस मौजा सिँचाइ प्रणाली पक्की बन्दै जाँदा किसानका दुःख हराउँदै गएका छन् । यससँगै स्रोह मौजा र चार तपाहा सिँचाइ प्रणाली पनि आधुनिक बन्दै गएका छन् ।

यज्ञ गैर राजनीतिज्ञ मात्र होइनन्, किसानका सहयात्री पनि हुन् । उनले हाल छत्तीस मौजा संयुक्त सिँचाइ प्रणालीको नेतृत्व सम्हालेका छन् । यो सिँचाइको नहर  १९०३ देखि १९४६ को बीचमा तत्कालीन राणा शासक जंगबहादुर राणाको पालामा बनेको हो । बुटवलको कन्याढुंगादेखि तिलोत्तमाको ठटेरियासँग जोडिएको एसियाकै पुरानो मध्येमा पर्ने १६ किलोमिटर लामो यो सिँचाइको नहर गैरेकै पहलमा व्यवस्थित बन्दै गएको छ । 

नेकपा एमाले रूपन्देहीको सचिव समेत रहेका गैर २०५९ सालदेखि राजनीतिसँगै कुलापानीसँग जोडिएका हुन् । 

आजभन्दा १५० वर्ष अगाडिसम्म यो क्षेत्र ठूलो कृषियोग्य भूमि थियो । त्यो बेला पनि सिँचाइको आवश्यक महसूस गरी राणाले नहर बनाउन लगाएका थिए । त्यो बेला अहिलेजस्तो शहर र सवारी थिएनन् । अहिलेको तिलोत्तमा नगर पूरै कृषि भूमिको ‘एक्का’ जस्तै थियो । राणा शासनकालमा त्यो बेलामा किसान छेदा थारुको पहलमा नहर बनेको दस्तावेज पाइन्छ । 

‘१० वर्षअघिसम्म वर्षायाममा किसानहरू त्रासमा हुन्थे,’ गैरे भन्छन्, ‘प्रत्येक किसान कुलाई गर्न वर्षमा ८०–९० दिन धाउनुपर्ने अवस्था थियो । हरेक हप्ता झारा लगाएर (घरका सबै) जानुपर्थ्यो । अहिले विभिन्न योजना र कार्यक्रमसहित कूलोलाई व्यवस्थित बनाइएको छ । कुलाई गर्न जानेका दुःख र झन्झट पूरै घटेका छन् ।’ अहिले हिउँद र वर्षायामा किसानलाई सिँचाइ गर्न सहज भएको छ । 

नहरबाट २० हजार किसान लाभान्वित भएका छन् । आदर्श राजनीतिसँगै किसानका समस्या समाधान गरी गैरे वास्तविक किसानका असल साथी बन्न पुगेका छन् । उतिबेला पानीको मूल नहर, शाखा र माइनरहरूमा पानी पुगे पनि खेत लेबलका अधिकांश संरचनाहरू ध्वस्त र बिग्रिएका थिए । जसले गर्दा खेतमा पानी पुग्न सकेको थिएन । यस्तो संरचनाहरूको मर्मत–सम्भारका लागि राज्यको ध्यान पुग्न सकेको थिएन ।

गुल्मीको चन्द्रकोट गाउँपालिका रुपाकोटमा जन्मिएका गैर उच्च शिक्षा अध्ययन गर्न रुपन्देही झरेका थिए । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा अध्ययनसँग यज्ञ एमाले निकट अनेरास्ववियूको राजनीतिमा लागे । २०४८ सालमा प्रविणता प्रमाणपत्र तहको पढाइ थालेका उनले २०५१ सालमा उत्तीर्ण गरी १ वर्ष बाग्लुङको देविस्थान माविमा पढाए । फेरि बुटवल झरेर स्ववियू सचिव हुँदै स्ववियू सभापति समेत बने । २०५५ सालमा एमाले विभाजन भएको बेलामा पनि उनी अखिलबाट स्ववियू सभापति जितेर अखिलको विद्यार्थीसँगै पार्टी राजीतिमा जोडिए । अखिलको अञ्चल सचिव बने ।

स्ववियू काउन्सिलको केन्द्रीय कोषाध्यक्षसम्म बने उनी । त्यसपछि अखिलको राजनीतबाट बिदा भएसँगै उनी २०५९ सालदेखि तिलोत्तमाको करहिया ४ नम्बरमा बस्न थाले । 

पार्टीको क्षेत्रीय कमिटीमा आबद्ध भएर पार्टी कामसँगै सिँचाइमा जोडिए उनी । २०६० सालमा छत्तीस मौजा सिँचाइ प्रणालीको आमसभामा पुगेका उनीले लेखापरीक्षणउपर टिप्पणी गरे । उनको टिप्पणी सहभागीहरूले मन पराएर ताली पिटे । त्यही बेला प्रणालीको सचिव पद रिक्त रहेछ । आमसभाले नै गैरेलाई सचिव बनायो । उनी आफैंमा समितिमा बस्ने कि नबस्ने भन्नेमा दोधारमा परे । आफू पनि वास्तविक किसान भएकाले नेतृत्वमा बसेर राम्रो काम गर्छु भन्ने दृढताका साथ काम गर्ने अठोट पनि लिए । 

संस्था व्यवस्थित थिएन । कर्मचारी भए पनि कार्यालयमा नियमित आउने सिस्टम थिएन । उनले कर्मचारीलाई अनिवार्य कार्यालयमा आउने बनाए । कूलोको सबै ‘फरमेट’ तयार गरे । २०६२/२०६३ को जनआन्दोलन चलिरहेको थियो । बुटवलमा गणतन्त्र प्राप्तका लागि आन्दोलन गर्न नेताहरूले कार्यकर्ता र नागरिक जुटाउन धौंधौं परेको थियो । त्यो बेला गैरेले कुटो, कोदालो, बाउसा, बेल्चासहित आम तिलोत्तमाका किसानलाई उठाएर बुटवल ल्याए । ट्राफिक चोकमा भएको किसानको प्रदर्शन सबैभन्दा ठूलो भएको गैरे दाबी गर्छन् । 

२०६४ सालको संविधानसभा निर्वाचनपछि अहिलेका एमाले उपाध्यक्ष विष्णु पौडेल जलस्रोत मन्त्री बनेका थिए । बजेट बनाउने अन्तिम तयारी थियो । नहरलाई व्यवस्थित गर्न गैरे सहितको टीमले योजनासहित पौडेललाई भेट्यो । आफ्नो गृहजिल्लाको योजना ल्याएर आएको टीमलाई पौडेलले सहयोग नगर्ने कुरै भएन । गैरले नहरको मुहान व्यवस्थित गर्ने कामको लागि योजना मागेका थिए ।

नहरका साँचा व्यवस्थित थिएनन्, पक्की साँचा बनाउनुपर्ने अवस्था थियो । जथाभावी नदी उत्खननले मुहान भरिन्थ्यो । मागिएअनुसार बजेट परेपछि धेरै कामहरू भए । इटिया कूलो (दोस्रो मुहान) निर्माणको लागि पनि बजेट आयो । 

गैरे २०६९ सालमा सिँचाई प्रणालीको अध्यक्ष बने । इटिया कुलोलाई व्यवस्थित गर्ने, कार्यालय भवन व्यवस्थित र पुनर्निर्माण गर्नेदेखि कूलो विगतदेखि वर्तमानसम्म भनेर स्मारिका छापेर नगरको दस्तावेजीकरण पनि गरे । त्यस क्षेत्रमा छाडा चौपायाले किसानका बालीनाली खाएर हैरानी बनाएका थिए । चौपाया व्यवस्थापन गर्न उनले गौशाला निर्माण गर्नुपर्ने अवधारणा अगाडि सारे । अहिले तिलोत्तमामा बनेको गौशालाको अवधारणा उनै गैरेले ल्याएका हुन् । 

फेरि विष्णु पौडेल अर्थमन्त्री बने । त्यो बेला तराई मधेश समृद्ध सिँचाइ कार्यक्रममा नहरको लागि बजेट पर्‍यो । नहरको सबै क्षेत्रलाई स्तरीय बनाउने गरी ४७ करोडको डीपीआर बन्यो, स्वीकृत पनि भयो । ३ प्याकेजमा नहरको काम अगाडि बढ्यो ।

मुहान व्यवस्थित, मूल नहरहरू व्यवस्थित र शाखा लाइनिङ गर्ने काम तय गरियो । त्यो बजेटले नहर धेरै राम्रो बन्यो । ५ वटा कल्भर्ट बने । मूल नहरहरू योगिकुटीदेखि हरैयासम्म सुध्रिए । कुलाहरू दुवैतिर ढलानसहित पक्की बने । 

‘किसानलाई धेरै हदसम्म कुलाईबाट मुक्त बनाएँ । अब किसानलाई उत्पादनसँग जोड्दैछु,’ गैरे भन्छन्, ‘अहिले अन्नबालीको उत्पादन गर्ने किसान घटेका छन् । आवासले केही क्षेत्र घटे पनि खेतीयोग्य जमिनमा किसानलाई व्यावसायिक बनाउन हरेक नागरिक उत्पादनसँग जोडिनुपर्छ ।’

हाल प्रदेश सरकार मातहतको ८ करोड बजेटले सोह्र मौजाको सुधारका कामहरू भइरहेका छन् । उनी भन्छन्, ‘अझै केही नहरहरू थप व्यवस्थित गर्न बाँकी छ । अहिले पनि फेरि २ करोड बजेट योजनाको लागि परेको छ ।’

बसाइसराई र तीव्र शहरीकरणले नहर अतिक्रमणको चपेटमा पनि छ । यसको रोकथाममा सबैको आँखा जानुपर्ने उनी बताउँछन् । नहरलाई ढल निकास बनाइँदा प्रदूषित भएको छ । बुटवल क्षेत्रको अस्पतालजन्य फोहोरदेखि प्लास्टिक सहितका फोहोर नहरमा फाल्दै किसानका खेतबारी प्रदूषित भएपछि योगिकुटीमा जाली लगाइएको छ । जसले गर्दा केही फोहोर खेतमा जानबाट रोकिए पनि पूर्ण नियन्त्रण हुन सकेको छैन ।

गैरले किसानलाई व्यावसायिक र जग्गा एकीकृत गरी उत्पादनसँग जोडेर लैजानुपर्ने बताए । किसानसँग गहिरो सम्बन्ध राखेका गैरे आउँदो स्थानीय तह निर्वाचनमा तिलोत्तमा नगरपालिकाको मेयरका दाबेदार पनि हुन् । भन्छन्, ‘किसानसँग जोडिएकाले धेरै किसानले चिन्नुहुन्छ । किसानको खेतबारी धेरै डुलेको छु ।’ 

salt training

कमेन्ट गर्नुहोस्