
खोटाङ जिल्लाको रावा लामिडाँडा गाविस–८, हाल रावा बेसी गाउँपालिका–३ मा ‘खरदार टोल’ छ । टोलका रंगलाल भट्टराईले खरिदार पदमा सरकारी जागिर खाएपछि टोलको नाम नै खरदार टोल राखिएको हो ।
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा पूर्व आएको बेला छोरीहरू पाल्न समस्या भएको भनेर बिन्ती सुनाएपछि रंगलाललाई खरिदारको जागिर दिइएको भनाइ छ ।
रंगलालका छोरी मात्रै थिए । जंगबहादुरको सवारी भएका बेला दुःख पाएको भनेर बिन्ती बिसाएपछि खरिदार जागिर खानु र जग्गा भोगचलन गर्नू भनेर भनेकाले टोलको नाम नै खरिदार टोल रहेको बताइन्छ । जंगबहादुरले ‘के भो रंगे’ भनेपछि उनले आफ्ना समस्या सुनाएका बताइन्छ ।
त्यही खरदार टोलका एकै परिवारका ७ दाजुभाइले सरकारी जागिर खाएका छन् । नायव सुब्बादेखि प्राध्यापकसम्म पदसम्ममा कार्यरत भएका छन् दाजुभाइ । खरदार टोलमा रहेका कृष्णप्रसाद भट्टराईका २ पत्नी स्वस्तिका र सावित्री भट्टराईका ७ भाइ छोराहरू सरकारी जागिरे बनेका छन् ।
जेठा प्रा.डा. माधव भट्टराई सरकारी जागिरबाट सेवानिवृत्त भएपछि अमेरिकामा बस्दै आएका छन् । माधवकी पत्नी डा. कान्ता भट्टराई सांसद तथा मन्त्री नै भइन् । दुवैका २ छोरा पनि सरकारी जागिरमै रमाइरहेका छन् ।
माहिला गोविन्द त्रिचन्द्र कलेजका प्राध्यापक थिए । उनको निधन भइसकेको छ । गोविन्दकी पत्नी प्रेमा शिक्षक हुन् ।
साइलो धु्रव पनि वाल्मीकि क्याम्पसका प्राध्यापक हुन् । उनले विद्यावारिधि गरिसकेका छन् । उनी रेडियो नेपालका समाचार वाचक पनि हुन् ।
काहिला नगेन्द्र प्रसाद पनि श्रेणीविहीन हुँदै सहलेखापालसम्म बनेका थिए । उनले अवकाश पाइसकेका छन् । २०५० सालदेखि सरकारी सेवामा प्रवेश गरेका उनी २०६७ सालमा सरकारी सेवाबाट बिदा भएका थिए ।
अर्का भाइ गिरिजा प्रसाद कृषि ज्ञान केन्द्र उदयपुरमा लेखापालमा कार्यरत छन् । गिरिजाले २०४७ सालदेखि सरकारी जागिरमा प्रवेश गरेका थिए । अर्का भाइ ललितप्रसाद नेपाल विद्युत् प्राधिकरणमा कार्यरत रहेका छन् ।
कान्छा लक्ष्मीप्रसाद मोरङको बेलबारीमा प्रशासन शाखामा पाँचौं तहमा कार्यरत छन् । उनी २०७१ सालदेखि सरकारी सेवा प्रवेश गरेका हुन् । उनी नेपाल पचांग निर्णायक समितिका कम्प्युटर अपरेटर समेत भए । उनकी पत्नी रुष्ना नेपाल सामुदायिक विद्यालयकी शिक्षक छन् ।
सातै दाजुभाइका बुवा कृष्णप्रसाद समेत सरकारी जागिर नै थिए । कृष्णको पालामा गाउँको परिवेश सरकारी जागिरप्रति निकै आकर्षित रहेको बताइन्छ । गाउँमा निजामतीतर्फ जागिर खानेलाई असल ज्ञानी मात्रै नभई धनी भन्ने चलन थियो । कृष्णप्रसादले मुखिया पदमा जागिर खाएका थिए ।
बुवाले दिएको त्यो अर्ती
सरकारी जागिरे भएका सबै दाजुभाइले निजी स्कूल भने देख्न पाएनन् । सरकारी विद्यालयमै पढेका उनीहरूका बुवाको त्यो अर्तीले सबैलाई सरकारी जागिर खान बाध्य बनाएको बताइन्छ ।
लक्ष्मीले भने, ‘इज्जत र प्रतिष्ठाका लागि भए पनि सक्छौ सरकारी जागिर खानू, सक्दैनौ भने बरु आधा पेट खानू तर विदेश नजानू भनेर बुवाले दिनुभएको अर्तीले हामीलाई सरकारी जागिरे बनाएको हो ।’
बुवाले दिएको अर्ती–उपदेशका कारणले दाजुभाइबीच कसले कसरी छिटो सरकारी सेवामा नाम निकाल्ने भनेर प्रतिस्पर्धा चलेको थियो । अहिले पनि सेवामा रहेका कर्मचारीबीच माथिल्लो तहमा बढुवाका लागि प्रतिस्पर्धाजस्तै चल्ने गर्छ । २ आमाका छोराहरू भए पनि सबैसँग राम्रो सम्बन्ध रहेको लक्ष्मी बताउँछन् । सबै दाजुभाइ एकैपल्ट भेट्न भने समस्या हुने गरेको उनी बताउँछन् ।
निजामती, सुरक्षा निकाय, शिक्षा र स्वास्थ्य क्षेत्रमा जागिर खाएकाले गाउँलेले ती दाजुभाइलाई बहादुर भन्छन् । ‘मैले जागिर खाँदासम्म पनि कृष्ण बहादुरका छोरा त कस्ता बहादुर भन्थे,’ लक्ष्मीले भने, ‘उद्योगधन्दा कलकारखाना र व्यापार व्यवसाय समेत फस्टाउन नसकेका बेलामा दाजुहरूले जागिर खाएकाले पनि समाजका हामीप्रति हेर्ने दृष्टिकोण राम्रो भएको होला ।’
दाजुहरूले सरकारी जागिर खाएर रातो डटपेन बोकेकै कारणले पनि आफू सरकारी जागिरमा आकर्षित भएको लक्ष्मी बताउँछन् । सामान्य परिवारका दाजुभाइका लागि बुवाले मुखिया हुँदा कमाएको सम्पत्ति छोराछोरीको शिक्षामा खर्चिएका थिए । सबै दाजुभाइहरूले स्थानीय विश्वज्योति माविबाट आधारभूत तहको पढाइ गरेका थिए ।