
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस तनहुँ १ नम्बर क्षेत्रले बुधवार आयोजना गरेको अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले जनताको मन जित्न सके निर्वाचन जित्न सकिने धारणा व्यक्त गरे ।
कांग्रेस हरेक जनताको घरघरमा पुग्नुपर्ने बताउँदै जनतालाई कांग्रेसबारे बुझाउनुपर्ने पौडेलको भनाइ थियो ।
‘निर्वाचन नजिकिँदैछ, अब गाउँगाउँमा पुगेर कार्यक्रम गर्नुपर्यो, बजार केन्द्रित हुनुभएन,’ उनले भने, ‘कार्यकर्तालाई मात्र होइन जनतालाई कुरा बुझाउन सक्नुपर्छ ।’ पौडेलले जनताको मन जित्न अहिलेका मुद्दाहरूमा बहस गर्नुपर्ने बताए ।
जनतालाई कांग्रेसका पक्षमा आकर्षित गर्नुपर्नेमा पौडेलको जोड दिए ।
वरिष्ठ नेता पौडेलले अहिलेको स्थितिमा गठबन्धन आवश्यक रहेको उल्लेख गरे । नेपालमा कांग्रेस ३० प्रतिशत र कम्युनिस्ट ७० प्रतिशत रहेको उल्लेख गर्दै कांग्रेसले जित्नका लागि गठबन्धन आवश्यक रहेको उनको भनाइ थियो ।
‘एक्लै जित्न सकिन्छ भने त किन चाहियो र गठबन्धन ? कांग्रेसको पक्षमा ५१ प्रतिशत मत छैन, त्यही भएर गठबन्धन आवश्यक छ,’ पौडेलले भने । कांग्रेस एक्लै चुनाव लड्न खोजे कम्युनिस्टहरू मिल्न सक्ने खतरा रहेको उनको भनाइ थियो । विदेशी शक्ति कम्युनिस्ट मिलाउन लागिपरेको पौडेलले बताए ।
केन्द्रीय सदस्य शंकर भण्डारीले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताउँदै नेताहरूबीचको कमजोरी हटाउन आवश्यक रहेको उल्लेख गरे । केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसको नीतिका कारण देश अगाडि बढेको बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्थानीय तह निर्वाचनका लागि खटिएका प्रतिनिधि मधु आचार्यले वैशाख ३० गते निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गर्दै तयारी गर्न कांग्रेस कार्यकर्तालाई आग्रह गरे । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा सकिएकाले अब पार्टीभित्र एकता गरेर प्रतिपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ थियो ।
देशलाई अप्ठ्यारो पर्दा निकास दिने पार्टी कांग्रेस रहेको दाबी गर्दै उहाँले हरेक वडामा घोषणापत्र बनाएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिए ।
जिल्ला सभापति जितप्रकाश आलेले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धालाई भुलेर पार्टीको अनुशासन र दायित्वलाई सम्झिएर चुनावमा होमिनुपर्ने बताए । निवर्तमान सभापति वैकुण्ठ न्यौपानेले पार्टीको विधानविपरीत नजान आग्रह गरे ।
कार्यक्रममा बन्दीपुर, व्यास, देवघाट, आँबुखैरेनी, भानुका सभापतिहरूले घर घर जाऔंः कांग्रेस जिताऔं अभियानअन्तर्गत भएका कार्यका बारेमा जानकारी गराएका थिए ।