०४ साउन २०८३, सोमबार
स्थानीय चुनाव

बुटवलको चुनावी चर्चा : गठबन्धनले कांग्रेसमा देखिएको उत्साह र खेलराजको अंकगणित

बैशाख ९, २०७९
बुटवलको चुनावी चर्चा : गठबन्धनले कांग्रेसमा देखिएको उत्साह र खेलराजको अंकगणित

बुटवलमा कहिल्यै बलियो गरी उभिन नसकेको नेपाली कांग्रेस मेयरको उम्मेदवार सबैभन्दा अगाडि टुंग्याएर निर्वाचनमा होमिएको छ ।

सधैँ आफ्नो आधार इलाका भन्ने एमालेले उम्मेदवार छनोटमा ढिलाइ ढिलाइ गर्दा कार्यकर्तामा अन्योल देखिएका बेला कांग्रेस उम्मेदवार टुंगो लगाएर चुनावी माहोलमा होमिएको छ ।

गठबन्धन सहयात्री दलहरूको समेत समर्थन रहने भएकाले कांग्रेसका नेता/कार्यकर्ता हौसिएका छन् । बुटवलको मेयरमा कांग्रेसबाट खेलराज पाण्डेलाई अगाडि सारिएको छ । 

२०७४ मा बुटवलमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । 

हाल गठबन्धनमा आबद्ध दलका मेयरका उम्मेदवारको कूल मत २१ हजार ३० मत हुन्छ जुन एमाले उम्मेदवार एक्लैले ल्याएको भन्दा २ हजार २१९ मत कम हो । 

यसपटकको निर्वाचनमा बुटवलमा ९० हजार ६५ मतदाता छन् । गठबन्धन भए पनि कांग्रेसका लागि बुटवल त्यति सहज नभएको सो पार्टीका नेता कार्यकर्ता स्वीकार्छन् ।

गत निर्वाचनभन्दा बुटवलमा २४ हजार मतदाता थपिएका छन् । नयाँ मतदातालाई जसले ‘क्यास’ गर्न सक्छ त्यही पार्टीले चुनाव जित्ने निश्चित छ । 

उपमेयर भने नेकपा (एकीकृत समाजवादी) ले पाउने सहमति भएको छ । विगतमा भोग्नुपरेको पराजयलाई गठबन्धनबाट फर्काउने कांग्रेसको रणनीति छ । 

पाण्डे तीनपटक बुटवलको नगर सभापति भएका व्यक्ति हुन् । 

उनी गएको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २ हजार ३९८ मतले पराजित भएका थिए । सुवेदीले २३ हजार २४९ मत ल्याएका थिए । 

सादगी नेताको छवि बनाएका पाण्डेको सरलता कार्यकर्ताले रुचाएको कांग्रेस बुटवलका कार्यकर्ता नरिश्वर पौडेल बताउँछन् । उनले भने, ‘पाण्डेले बुटवलको मेयर हुनेबाहेक अन्य धेरै महत्त्वाकांक्षा पालेको देखिन्न ।’

उनी राजनीतिक रंगमञ्चमा ‘लो प्रोफाइल’ कांग्रेस कार्यकर्ता भएर होमिएका व्यक्ति हुन् ।

उनले गएको निर्वाचनमा आफूलाई पराजित गर्ने अहिलेका मेयर शिवराज सुवेदीलाई माला लगाइदिएर बधाई तथा सफलताको शुभकामना दिएका थिए ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ कोटाकोटमा वि.स. २०२६ सालमा लीलाबल्लभ पाण्डे र माता तारादेवी पाण्डेका सन्तानका रूपमा खेलराजको जन्म भएको थियो ।

उनी २०३८ सालमा बुटवल झरे पनि २०४६ सालयता स्थायी रूपमा बुटवलमा बसोवास गर्दै आएका छन् ।

स्नातक तहसम्मको अध्ययन पूरा गरेका पाण्डेले नेपाल विद्यार्थी संघ (नेविसंघ) को जिम्मेवारीबाट राजनीतिक यात्रा शुरू गरेका थिए ।

२०३९ सालमा आदर्श मावि कोटाकोटमा नेविसंघको सदस्यता लिएर राजनीति शुरू गरेका पाण्डे वि.स २०४४ सालमा अमृत साइन्स क्याम्पस, काठमाडौंमा नेविसंघको सहसचिव थिए ।

२०४६ सालमा रूपन्देही आएपछि उनको विद्यार्थी राजनीति यात्रा झनै फराकिलो बन्यो ।  २०४७ सालमा बुटवल बहुमुखी क्याम्पस नेविसंघ उपसभापति, २०५२ सालमा नेविसंघ रूपन्देही सचिव, २०५९ सालमा तरूण दल रूपन्देही जिल्ला अध्यक्ष र २०६० सालमा तरूण दल केन्द्रीय सदस्य हुँदै २०६७ सालदेखि हालसम्म नेपाली कांग्रेस बुटवल नगर सभापति रहेका छन् । 

२०७२ मा बुटवल नगर विकास समितिको सभापति भएपछि पाण्डेसँग बुटवलको विकासमा राजनीतिक, आर्थिक र सामाजिक नाता जोडिन पुग्यो । नेपाली कांग्रेसका पूर्णकालीन कार्यकर्ता खेलराज आफ्नो जीवन नै राजनीतिमा व्यतित भएको बताउँछन् ।

बीपी कोइरालाका पुस्तकहरूको अध्ययनबाट प्रभावित भएपछि नेपाली कांग्रेसको राजनीतिमा लागेका पाण्डेले कांग्रेसभित्र पनि लोभलालचरहित, सामान्य परिवार, सरल तथा प्रस्ट वक्ताको रूपमा आफूलाई प्रस्तुत गर्ने गरेका छन् । 

बिहानदेखि साँझसम्म सर्वसाधारणको समस्या समाधानमै समय बिताउने पाण्डे बुटवलका हरेक गल्ली तथा चोकचोकमा हिँडेरै नागरिकका दुःखसुखमा सहभागी हुने गरेको बताउँछन् । 

गठबन्धन दलका सबै कार्यकर्ताबाट भोट आए आफूले अंक गणितको आधारमा यसपटक जित्ने उनको आत्मविश्वास छ । रूपन्देहीमा ३८ दल चुनावी प्रतिष्पर्धामा छन् । ‘हाम्रो पार्टीभित्र देखिएको असन्तुष्टिले चुनावी परिणाममा असर गर्दैन । बुटवलमा विकल्पको खोजी भइरहेको छ । म यसपटक चुनावी जित्छु’ पाण्डेले भने । 

लुम्बिनी प्रदेशभित्र सर्वाधिक चासोका साथ बुटवल उपमहानगरपालिकाको चुनावलाई लिइन्छ । कांग्रेस रूपन्देहीका कोषाध्यक्ष हरिप्रसाद अर्यालले एमालेको सांगठनिक संरचना र अर्कातर्फ गठबन्धनको साझा उम्मेदवार भएकाले बुटवलमा कडा प्रतिस्पर्धा हुने बताए ।

‘गठबन्धन इमान्दारिताका साथ कार्यान्वन भए बुटवलमा यसपटक नेतृत्व उल्ट्याउन सकिन्छ । यसपटक भोट क्रस गर्ने छुट कसैलाई हुने छैन,’ उनले भने ।

कांग्रेस सहितका गठबन्धन दलले एमाले बाहेकका दलहरूसँग पनि सहकार्य गर्न छलफललाई अगाडि बढाएका छन् ।

बुटवलमा राष्ट्रिय जनमुक्ति पार्टीको मत पनि राम्रै छ । गएको निर्वाचनमा जनमुक्तिका जनकबहादुर थापा मगरले १ हजार १५१ मत ल्याएका थिए । 

बुटवलमा एमालेबाट युवा नेता गोपाल राना र बाबुराम भट्टराईको चर्चा छ । दुवै नेता लोकप्रिय छन् । एमालेले बुटवलमा कसलाई अगाडि सार्छ त्यो हेर्न शनिबार साँझसम्म कुर्नुपर्ने देखिन्छ ।

बुटवल एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको गृहनगर पनि हो ।

पौडेलले तीन पटकसम्म बुटवल (हाल रूपन्देही क्षेत्र नम्बर २) बाट निर्वाचन जितेर ह्याट्रिक गरेका थिए । बुटवल उपमहानगरमा पनि जीत दोहोर्‍याउने रणनीतिमा एमाले छ ।

salt training

कमेन्ट गर्नुहोस्