२३ जेठ २०८३, शनिबार
सम्पादकीय

जनता झुक्याउने कागजका खोस्टा नबनून् दलका चुनावी घोषणापत्र

बैशाख १२, २०७९
जनता झुक्याउने कागजका खोस्टा नबनून् दलका चुनावी घोषणापत्र

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रमुख दलहरूले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । 

नेकपा एमालेले कम्युनिस्ट पार्टीको स्थापना दिवस ९ वैशाख र नेपाली कांग्रेसले वैशाख ११ गतेको लोकतन्त्र दिवस पारेर घोषणापत्र सार्वजनिक गरे ।

माओवादी केन्द्रको घोषणापत्र आउन बाँकी छ भने जसपाले सार्वजनिक गरिसकेको छ ।

राजनीतिक दलका चुनावी घोषणापत्र पढ्दा आगामी ५ वर्षमै देश समृद्ध बन्ने र जनताका समस्या समाधान हुने जस्तो देखिन्छ । गर्न सक्ने, नसक्ने, स्थानीय तहको क्षेत्राधिकारमा पर्ने/नपर्ने सबै कुरा घोषणापत्रमा समेटिएका छन् । स्थानीय तहलाई ‘राम राज्य’ बनाउछौं भन्ने शब्दबाहेक सबै कुरा घोषणापत्रमा लेखिएका छन् । 

एमालेको घोषणपत्रको अग्रपृष्ठमै रेलदेखि विमानस्थल र धरहरादेखि पूर्वाधार विकासको फोटो राखिएको छ । नेपाली कांग्रेसको घोषणापत्रमा चाहिँ शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा जस्ता विषयलाई पहिलो पृष्ठमा राखिएको छ । नेपाली कांग्रेसले घोषणापत्रलाई ‘संकल्प’ भनेको छ ।

एमालेले तीन वर्षको अवधिमा गरेका कामको फेहरिस्त घोषणापत्रमा समावेश गरेको छ भने कांग्रेसले नेकपा सरकारका गलत कामको चिरफार गरेको छ । ४६ बुँदे घोषणापत्रमा एमालेले पाँच वर्षमा स्थानीय तहमा के गर्ने भन्ने कुरा उल्लेख गरेको छ । 

चुनावमा जनतासँग भोट माग्ने आधार प्रस्तुत गर्न र चुनाव जितेपछि गर्ने कामका लागि राजनीतिक दलले घोषणापत्र बनाउने गर्छन् । चुनावी घोषणापत्र केवल कागज मात्र नभई जनतासँग गरिएको वाचा बन्धन हो । तर, नेपालमा चुनावी घोषणापत्र जनतालाई झुक्याउने कागजको खोस्टो मात्र बन्ने गरेका छन् । चुनाव जितेको भोलिपल्ट घोषणापत्रमा गरिएका वाचा हिउँजस्तै पग्लेर जान्छन् । 

सचेत नागरिक र मतदाताले चुनावी घोषणापत्रमा गरेका वाचाअनुसार काम भए/नभएको विषयमा खबरदारी गर्न सकेमात्र जनप्रतिनिधि जवाफदेही र उत्तरदायी बन्ने हुन् । तर, नेपालमा चुनावी घोषणापत्रलाई आधार बनाएर जनप्रतिनिधिको कामको मूल्यांकन गर्ने परिपाटी नै बस्न सकेको छैन । घर फर्किन लागेका यसअघिका कतिपय जनप्रतिनिधिले आफ्नै घोषणापत्र बिर्सिसकेका छन् । 

नयाँ संविधनअनुसार बसेका स्थानीय तहको पहिलो कार्यकाल सकिँदै गर्दा अपवाद बाहेकका स्थानीय तहले विगतमा जनतासँग गरेको कुनै पनि वाचा पूरा गरेनन् । यसअघिको चुनावमा गरेको वाचा किन पूरा भएनन् भनेर कसैले प्रश्न पनि गरेनन् । त्यसैले अहिले पनि उस्तै कुरा आएका छन् । नहुने आश्वासन देखाएर जनतालाई झुटको आश्वासन देखाउने काम दलहरूले नगरुन् । घोषणापत्रमा गरिएका वाचा इमान्दारितापूर्वक कार्यान्वन होऊन् । 

salt training

कमेन्ट गर्नुहोस्