१४ असार २०८३, आइतबार

व्यक्तिभन्दा नीति, पद्धति र सिद्धान्त ठूलो

बैशाख २०, २०७९
व्यक्तिभन्दा नीति, पद्धति र सिद्धान्त ठूलो

 प्रहरी महानिरीक्षकमा बढुवा भएका धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा भएका राजु अर्यालले सोमबारदेखि कार्यभार वहन गरेका छन् । गृह मन्त्रालयमा सोमबार आयोजित विशेष समारोहमा गृहसचिव टेकनारायण पाण्डेबाट दज्र्यानी चिह्न प्राप्त गरेपछि दुवै महानिरीक्षकले आ–आफ्नो कार्यालयमा गई पदीय जिम्मेवारी वहन गरेका हुन् ।

दज्र्यानी चिह्न प्रदान गर्न गृह मन्त्रालयमा आयोजित विशेष समारोह र त्यसपछि आ–आफ्ना प्रधान कार्यालयमा गई कार्यभार सम्हालेपछि दुवै महानिरीक्षकले दिएका निर्देशन सम्बोधनले प्रहरी÷सशस्त्र प्रहरीमा सुधारका संकेत देखिने धेरैले अपेक्षा गरेका छन् ।

फरक यति छ कि, नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसँग संगठन सुधारका लागि प्रशस्तै समय छ । सशस्त्र प्रहरी नियमावलीअनुसार उनीसँग चार वर्ष पर्याप्त समय छ । तर, नवनियुक्त प्रहरी महानिरीक्षक सिंहसँग ११ महिना मात्र समय छ । यो छोटो अवधिमा धेरै काम गर्नुपर्ने दायित्व उनीसँग छ । आफ्नो नियुक्ति विवादको घेरामा रहेकाले धेरैभन्दा धेरै काम गरेर ‘आफूप्रति सरकारको विश्वास’ ठीक थियो भन्ने देखाउनुपर्ने अर्काे चुनौती पनि उनलाई छ ।

विशेषगरी संगठनलाई व्यक्तिभन्दा नीति, पद्धति र सिद्धान्तबाट निर्देशित रहेर अघि बढाउने प्रतिबद्धता दुवैले जनाएका छन् । संगठनको सुदृढीकरण, प्रहरी कर्मचारीको क्षमता तथा वृत्तिविकास, चुस्त शान्ति सुरक्षा, नागरिकका अधिकार रक्षा गर्दै बदलिँदो स्थितिमा अपराध नियन्त्रणका लागि उपयुक्त रणनीति अख्तियार गरी अघि बढ्ने दुवै जनाको प्रतिबद्धता रहेको छ ।

यति मात्र होइन, डेढ सातापछि हुन गइरहेको स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण, भय र धाँधलीरहित तवरमा सम्पन्न हुने वातावरण तयार पार्ने जिम्मेवारी पनि दुवैमाथि छ । यी दुवै महानिरीक्षकको कार्यक्षमता यही स्थानीय तह निर्वाचनले पनि पुष्टि गर्छ ।

त्यसो त दुवै महानिरीक्षकले निर्वाचनलाई प्राथमिकतामाथिको पनि प्राथमिकतामा राखेको देखिन्छ । निर्वाचनमा सुरक्षा व्यवस्था मजबुद बनाउन नसकेको अवस्थामा त्यही दिनदेखि आलोचनाको सिकार हुने डर पनि दुवैमा देखिन्छ । यी बाहेक अपराधविहीन समाज निर्माणमा लाग्नुपर्ने दायित्व पनि दुवैमा छ । विविध जघन्य अपराधका घटना नियन्त्रण, दोषी पक्राउ गरी कारबाही गर्नुपर्ने चुनौती, प्रविधिको दुरुपयोग गरीहुने आपराधिक गतिविधि नियन्त्रणमा संवेदनशील भएर लाग्नुपर्ने अवस्था पनि छ ।

त्यसो त दज्र्यानी चिह्न प्रदान कार्यक्रममा बोल्दै गृहसचिव टेकनारायण पाण्डेबाट ‘दुवै संगठनभित्र आन्तरिक विकृति विसंगति रहेको र त्यसलाई अन्त्य गर्न’ दिएको सुझावले सुरुमा घरैबाट काम थाल्नुपर्ने अवस्थामा पनि उनीहरूलाई पु-याएको छ ।

त्यसैले त आफ्नो पहिलो निर्देशन सम्बोधनका क्रममा नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले भनेका छन्, ‘सांगठनिक क्रियाकलापलाई प्रक्रियागत एवं पारदर्शी बनाई कर्मचारीहरूमा जवाफदेहिता बढाउने र अकर्मण्यता पूर्णतः निर्मूल गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्ने, आपराधिक तत्वहरूसँगको साठगाँठलाई निमिट्यान्न पार्नेमा केन्द्रित राखी सहकर्मीहरूको सहकार्यमा संगठन सुधारका कार्ययोजना लागू गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’

उनले गैर व्यावसायिक आचरण र व्यवहार किञ्चित सह्य र क्षम्य नहुने बताउँदै भनेका छन्, ‘कानुनसम्मत जिम्मेवारी बहन गर्ने सिलसिलामा कुनै अधिकृत तथा जवानहरूबाट अकर्मण्यता, लापरबाही र उदासीनता हुनेछैन । चोरी निकासी गर्ने, प्राकृतिक स्रोतको दोहन गर्ने तथा अन्य आपराधिक कार्यमा संलग्न हुने तत्वहरूसँगको साठगाँठ एवं अवाञ्छित क्रियाकलापमा संलग्न रहने, प्रश्रय दिने तत्वहरूको पहिचान गरी कारबाही गर्ने सवालमा कठोर रूपमा प्रस्तुत हुने जानकारी गराउँछु ।’

सिंहजस्तै भनाइ नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षकले पनि राखेका छन् । उनले भनेका छन्, ‘सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारी कार्यक्षेत्रमा परिचालित रहँदा फौजी संस्कारको बर्खिलाप तथा कुनै पनि आर्थिक प्रलोभनमा परी गलत क्रियाकलापमा संलग्न भएको पाइएमा त्यस्ता कर्मचारीलाई कुनै पनि हालतमा छाडिँदैन ।’

महानिरीक्षक अर्यालले व्यक्तिगत स्वार्थलाई थाती राखी राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तिमा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारी एकजुट भई सामूहिक भावनाकासाथ लाग्नुपर्ने बताउँदै संगठनबाट के लिन सक्छुभन्दा पनि संगठनलाई के दिन सक्छु भन्ने भावनाका साथ व्यावसायिक भई कार्यसम्पादनमा लाग्न निर्देशनसमेत दिएका छन् । राजधानी दैनिकमा रोशन श्रेष्ठले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्