२२ असार २०८३, सोमबार

कृषिमा आधारित उद्योगहरूको विकासबाट नै देशको आर्थिक स्थिति बलियो बन्छः प्रचण्ड

कृषिमा आधारित उद्योगहरूको विकासबाट नै देशको आर्थिक स्थिति बलियो बन्छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताएका छन् । आइतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै उनले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताए । 

देशको अर्थतन्त्र झनै पछाडी धकेलिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने धारणा राखे । प्रचण्डले कृषिपछि जलविद्युत, पर्यटन, जडिबुटी र खनिजको विकासले देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए । 

‘देशको लागि, समाजको लागि र हामी सबैको लागि आवश्यक कुरा भनेको कृषि नै हो । कृषिमा आत्मनिर्भर हुने कुरा र कृषिमा आधारित उद्योगहरूको विकास गर्ने कुरा नेपाल र नेपालीहरूको लागि सबैभन्दा महत्वपूर्ण कुरा छ’, उनले भने, ‘यो हामी सबैको लागि ठूलो चिन्ताको विषय हो । ५०÷६० वर्ष अगाडि हामी खाद्यान्नमा आत्मनिर्भर थियौँ । हामी सबैचिज निर्यात गर्नसक्ने अवस्थामा थियौँ । अहिले उल्टो भयो किन यस्तो भइराखेको छ हाम्रो चिन्ताको विषय भयो । हामी धेरै पढ्यौँ, लेख्यौँ । धेरै जान्ने सुन्ने पनि भयौँ । तर, देशको आर्थिक विकासको स्थितिबाट हेर्दा त्यो अगाडि होइन पछाडी गएको देखिनु ठूलो चुनौती हो ।’

उनले युवाहरूले उद्यमशील हुन चाहेमा देशलाई आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिँडाउन सकिने बताए । प्रचण्डले धन, सम्पत्ति कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै उनले समाजलाई सभ्य बनाउने गरी र संसारभर नेपालीहरूको आत्मसम्मान हुनेगरी सम्पत्ति आर्जन गर्न युवाहरूलाई आग्रह गरे । उनले लक्ष्यप्राप्तिका लागि दृढ हुनुपर्नेमा जोड दिए । उनले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतित गर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्