
ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् ।
असोजदेखि मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएको छ । बेंसी क्षेत्रमा साउन महिनादेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ । अहिले अलैँची थन्क्याउन मुख्य मौसम भएकाले किसानलाई चटारो हुने गरेको हो । अलैँची सङ्कलन गर्ने समय भएपछि केही समय मात्र ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पु¥याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका–१ थेचम्बुका अलैँची किसान ज्ञानबहादुर गुरुङले बताए ।
अलैँची सिजनका कारण दसैँ, तिहारजस्ता चाडपर्व सहज गरी मनाउन नै नपाएको गुरुङले बताए । मुख्य सिजन भएकाले चाडपर्वमा पनि अलैँची बारी (बगान)मै बिताउनुपरेको फक्ताङलुङ गाउँपालिका–६ मादिबुङका अलैँची किसान बसन्त लिम्बूले बताए।
जिल्लाका नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती हुन्छ । जिल्लामा करिब चार हजार चार सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । प्रमुख नगदेबाली भएकाले धान, मकैजस्ता खाद्यान्न बाली उत्पादन हुने जग्गा नै मासेर किसानले अलैँची खेती गर्दै आएका छन् ।