३० असार २०८३, मंगलबार

लुम्बिनी प्रदेश सभामा दोहोरिए १९ सांसद, मुख्यमन्त्रीका दाबेदारहरू पराजित

मंसिर १८, २०७९
लुम्बिनी प्रदेश सभामा दोहोरिए १९ सांसद, मुख्यमन्त्रीका दाबेदारहरू पराजित

लुम्बिनी प्रदेश सभामा १९ जना सांसद दोहोरिएर निर्वाचित भएका छन् । प्रदेश सभाको ५२ निर्वाचन क्षेत्रमध्ये १९ जना सांसद दोस्रो कार्यकालको लागि विजयी भएका हुन् । 

लुम्बिनी प्रदेश सभा ५२ प्रत्यक्ष र ३५ समानुपातिक गरी ८७ सदस्यीय छ । लुम्बिनीमा नेकपा एमालेका ९ जना, नेपाली कांग्रेसका ५ जना, माओवादी केन्द्रका ४ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १ जना नेता दोस्रो कार्यकालका लागि चुनिएका हुन् । 

प्रदेश सभामा प्रत्यक्षतर्फ १८ सिट जितेर नेकपा एमाले पहिलो दल बनेको छ । कांग्रेसले १७, माओवादी केन्द्रले ५, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले २/२ सिट, जनमत पार्टीले एक सिट जितेका छन् । माओवादीका बागी (स्वतन्त्र) उम्मेदवारले ३ सिट जितेका छन् । नेकपा एकीकृत समाजवादी शून्य भएको छ । 

एमालेबाट दोहोरिनेमा रुपन्देही २(१) बाट लिला गिरी, रुपन्देही २(२) बाट भोजप्रसाद श्रेष्ठ, रुपन्देही ३(२) बाट तुलसीप्रसाद चौधरी, रुपन्देही ५(१) बाट भुमिश्वर ढकाल, गुल्मी २(२) बाट दिनेश पन्थी रहेका छन् । यस्तै कपिलवस्तु १(१) बाट विष्णु पन्थी, कपिलवस्तु २(१) बाट अर्जुनकुमार केसी, अर्घाखाँची १(१) बाट चेतनारायण आचार्य र अर्घाखाँची १(२) बाट रामजीप्रसाद घिमिरे दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । 

यस्तै नेपाली कांग्रेसबाट २०७४ सालमा प्रत्यक्ष र समानुपातिकबाट प्रदेश सभा सदस्य भएकामध्ये ९ जना यसपटक चुनावी मैदानमा गएका थिए । जसमध्ये ५ जना दोस्रो कार्यकालका लागि जनताबाट अनुमोदित भएका छन् । रुपन्देही ४(२) बाट वसिउद्दिन खाँ, दाङ २(२) बाट डिल्लीबहादुर चौधरी, बर्दिया १(१) बाट भुवनेश्वर चौधरी, पाल्पा २(१) बाट वीरबहादुर राना, नवलपरासी २(२) बाट बैजनाथ कलवार जैसवाल दोस्रो कार्यकालका लागि निर्वाचित भए । वसिउद्दिन खाँ लुम्बिनी प्रदेशका शिक्षामन्त्री हुन् भने डिल्लीबहादुर चौधरी शहरी विकास र वीरबहादुर राना जलस्रोत मन्त्री हुन् ।

माओवादीबाट २०७४ सालमा प्रदेश सभा सदस्य भएकामध्ये ४ जना योपटक दोहोरिएका छन् । दाङ १(२) बाट इन्द्र जित थारु, बाँके १(१) बाट कृष्णा केसी, पाल्पा २(२) बाट तुलाराम घर्ती यो पटक पनि निर्वाचित भएका हुन् । यस्तै–रुपन्देही ३(१) मा लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे पनि दोस्रो कार्यकालका लागि प्रदेश सभामा दोहोरिएका छन् ।

२०७४ को निर्वाचनमा २७ सिट जितेको एमालेले यसपटक ९ सिट गुमाएको छ । यता, २०७४ मा ७ सिट मात्रै जितेको कांग्रेसले सत्ता गठबन्धनको बलमा १७ सिट जित्दै दोस्रो दल बन्न सफल भएको छ । २०७४ मा १४ सिटमा जित निकालेको माओवादी केन्द्र अहिले ५ सिटमा खुम्चिएको छ । 

लुम्बिनी प्रदेश सरकार निर्माणका लागि साना दलहरू नै निर्णायक बनेका छन् । मुख्यमन्त्रीका दाबेदारमध्ये कांग्रेसका प्रदेश सभापति अम्मरसिंह पुन मगर, माओवादी केन्द्रका सुदर्शन बराल, एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेलगायतका नेताहरू पराजित भएका छन् । भौतिक पूर्वाधार तथा विकास मन्त्री सहस्रराम यादव पनि पराजित भए । 

salt training

कमेन्ट गर्नुहोस्