
राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत कैलालीको गौरीगङ्गा नगरपालिकामा आगामी फागुन ११ गते देखि २५ गतेसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ ।
कैलालीका केही स्थानीय तहमा लक्ष्यभन्दा कम मानिसहरूले हात्तीपाइलेविरुद्धको औषधी सेवन गरेको पाइएकाले औषधी खुवाउने कार्यक्रम जिल्लाभरि एकसाथ गर्न लागिएको स्वास्थ्य कार्यालय कैलालीका हात्तीपाइले रोग फोकलपर्सन मीनबहादुर धामीले जानकारी दिए।
दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने राष्ट्रिय सङ्कल्प रहेको उनले बताए । कुल जनसङ्ख्याको ६५ प्रतिशतलाई अनिवार्य रूपमा औषधी खुवाउनुपर्ने लक्ष्य रहेको छ । हालसम्मको सर्वेक्षणमा ४९.६७ प्रतिशतले औषधी खाएको पाइएकाले यस पटकको अभियानमा सबैले औषधी खानुपर्ने उनको भनाइ छ ।
यो औषधी सेवनले ९९ प्रतिशत मानिसहरू परजीवीमुक्त भएको भन्दै सम्पूर्ण मानिसले खान आवश्यक रहेको धामीले बताए । नगर प्रमुख देवीदत्त कँडेलले हात्तीपाइले रोग निवारण गर्न सबै वर्ग र समुदायको सहभागितामा औषधी सेवन कार्यक्रमलाई सफल बनाउन सक्रियतापूर्वक स्वतःस्फूर्त रूपमा जनचेतना जगाउन आवश्यक रहेको बताए ।
यसपटक कैलालीमा स्वास्थ्य मापदण्डअनुसार नागरिकले औषधी सेवन गरेको सुनिश्चितता गर्न स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा ३ प्रकारका औषधी खुवाइने बताइएको छ । उचाइ अनुसार दुई वर्ष माथिका सबै मानिसले औषधी खानुपर्नेमा विगतमा अभियान सञ्चालन गर्दा केहीले नियमित रूपमा खाने तर शिक्षित, सहरी क्षेत्र र विपन्न वर्गका मानिसहरू बिहानै काममा निस्कने हुँदा नखाइदिने कारणले अपेक्षा गरिएको अनुसार अभियान सफल हुन नसकेको कार्यक्रमका सहभागी स्वास्थ्यकर्मीहरुले बताए ।