२१ जेठ २०८३, बिहीबार
प्रेरणा

अपाङ्गता भएका दम्पतीको ‘स्विट बक्स’ व्यवसाय

फागुन २०, २०७९
अपाङ्गता भएका दम्पतीको ‘स्विट बक्स’ व्यवसाय

जीवनमा केही गर्नलाई अपाङ्गताले छेक्न सक्दैन भन्ने उदाहरण बनेका छन् वीरेन्द्रनगर–१० बुदबुँदेका ६८ वर्षीय नन्दप्रसाद चौलागाईं । इत्रामखोला पुलबाट दक्षिण पूर्वतर्फ करीब ५०० मिटर पार गरेर एउटा साधारण घरमा पुगेपछि उनी सदाझैं आफ्नै कर्ममा व्यस्त भेटिन्छन् ।

नन्दप्रसाद अहिले यस्तो पात्र बनेर उदाएका छन्, जसको मेहनत, लगनशिलता, सफलता र अठोट अपाङ्गता भएकाहरूका लागि प्रेरणाको स्रोत बन्न पुगेको छ । 

लामो समयदेखि मेरुदण्ड पक्षघात पीडित हुन् । बैशाखीको सहाराले मात्र हिँडडुल गर्छन् । पूर्ण दृष्टिविहीन पत्नी नन्दरुपाको साथमा उनले २४ वर्षदेखि मिठाइ प्याक गर्ने कागजका चारकुने बट्टा (स्विट बक्स) उद्यम सञ्चालन गर्दै आएका छन् ।

नेपालगञ्जबाट कच्चा पदार्थ मगाएर नन्दप्रसाद र नन्दरुपाको जोडीलाई घरमै स्विट बक्स बनाउन भ्याइँनभ्याइँ छ । दुवै आँखा नदेखे पनि नन्दरुपा स्विट बक्स बनाउन खप्पिस छिन् । २०५५ सालमा सिन्धु सुधार नामक गैरसरकारी संस्थाले सुर्खेतमा आएर अपाङ्गता भएकाहरूका लागि सीपमूलक तालिम आयोजना गरेको थियो । १ हप्ते तालिममा नन्दरुपा सहभागी भइन् र कागजको झोला, थैला, बट्टा बनाउन सिकिन् । नन्दप्रसाद पत्नीलाई तालिममा ल्याउने, पुर्‍याउने काम गर्दथे । पत्नीबाटै उनले पनि कागजी सामान बनाउन सिकेका हुन् । ‘तालिम लिनु मात्र ठूलो कुरा होइन, व्यवहारमा उतार्नुपर्छ भन्ने लाग्यो अनि व्यवसाय शुरू गर्‍यौं,’ उनी भन्छन्, ‘खेर गएका अखबारहरू संकलन गरेर कागजका थैली बनायौं, काठमाडौंसम्म पठायौं, प्लाष्टिकका थैलीले बजार लिन थालेपछि हाम्रो उत्पादन पनि बिक्न छाड्यो, प्लाष्टिकका थैलीसँग प्रतिस्पर्धा गर्न सकिएन ।’

बजारमा प्लाष्टिकको प्रयोग बढ्दो छ । यसले वातावरण प्रदूषणका साथै नागरिकको स्वास्थ्यमा समेत सोझै असर गरिरहेको छ । उनी प्लाष्टिकका थैलीका तुलनामा कम मूल्यमा कागजका थैला बट्टा उत्पादन गर्न सकिने बताउँछन् । 

प्लाष्टिकका थैलीपछि चौलागाई दम्पतीले स्विट बक्स बनाउन थाले । वीरेन्द्रनगरमा मिठाइ पसल, होटलहरू पनि थपिँदै गए । माग बढ्न थाल्यो । शुरूआत अर्थात् २०५५ सालमा प्रतिसेट १८ रुपैयाँमा स्विट बक्स बेचेका उनले अहिले प्रतिसेट ३८ रुपैयाँमा बेच्दै आएका छन् । मासिक सरदर २ हजार बट्टा उत्पादन गर्छन् ।

विभिन्न चाडपर्वहरूमा मिठाइ पसलहरूबाट चौलागाई दम्पतीले तयार गरेको बट्टाको अर्डर हुन्छ । सहकारी, संघसस्ंथा, कार्यालयले प्याकिङ खाजा खुवाउनुपर्‍यो भने पनि होटलहरू उनकै सम्पर्कमा आउँछन् । लगानी, घर खर्च, औषधि खर्च कटाएर वार्षिक डेढ लाख रुपैयाँ जति बचत हुने गरेको उनी बताउँछन् । साना उद्योग चलाउने धेरैजसोले आफ्नो व्यापार व्यवसायको दुरुस्त आय–व्यय राख्दैनन् तर नन्दप्रसादले व्यावसायिक हिसाबकिताब प्रस्ट राख्दै आएका छन् ।

‘२ छोरा र १ छोरीसहित परिवारको पालनपोषण, पढाइ खर्च र औषधि खर्चको मुख्य स्रोत यहीँ हो,’ उनी भन्छन्, ‘बट्टाको यो व्यवसायलाई परिवारका सबै सदस्यले आफ्नै श्रममा चलाएका छौं, व्यवसायका लागि छुट्टै श्रम जनशक्तिमा लगानी गर्नुपर्ने अवस्था छैन ।’

null

पहिला सिपाही, अहिले व्यवसायी

नन्दप्रसादले तत्कालीन शाही नेपाली सेनामा २४ वर्ष सेवा गरे । विक्रम संवत् २०३२ चैत्र १ गते सेनाको सिपाही दर्जाबाट सेवा शुरू गरेका उनले सेनाको अमल्दार पदबाट अवकाश लिएका हुन् । सेनामा रहँदा २०४१ सालमा प्याराप्लेजिया रोगले च्याप्दै गयो र अन्ततः उनका दुवै खुट्टाले शरीरलाई साथ दिन छाड्यो । अहिले पनि उनका २ खुट्टा चल्दैनन् । दिसापिसाब निरन्तर हुने समस्या छ ।

‘सेनामा छँदा प्याराप्लेजिया रोगले थलिएँ, जुम्लाबाट उपचारका क्रममा काठमाडौं आवतजावत गर्न सम्भव भएन,’ बसाइँ सर्नुको बाध्यता सुनाउँदै उनी भन्छन्, ‘उपचारमा सजिलो होला भन्ने सोचेर वीरेन्द्रनगरमा बसाइँ सरेको हुँ, प्लेनबाट उपचार गर्न आउन–जान समस्या थियो ।’

जुम्लाको लाम्रा गाउँमा जन्मिएका नन्दप्रसाद २०५२ सालमा सुर्खेत बसाइँ सरेका हुन् । शुरूमा १० धुर जग्गा जोडेका उनको व्यावसायिक सफलताले वीरेन्द्रनगरमै १ कठ्ठा १५ धुर घडेरी र ७ कठ्ठा खेत जोडेका छन् । २०५४ सालदेखि २०५९ सम्म किराना पसल पनि चलाए । अहिले घर भएकै स्थानमा उनले नून र मट्टितेलको व्यापार पनि गरेका थिए ।

वीरेन्द्रनगरमा मिठाइको बट्टा उद्यम सञ्चालन गर्ने उनी भने पहिलो व्यवसायी हुन् । उनले विभिन्न मिठाइ पसल, होटलहरूलाई नियमित बट्टा उपलब्ध गराउँदै आएका छन् ।

नन्दप्रसाद व्यवसायी मात्र नभई कुशल प्रशिक्षक पनि कहलिएका छन् । वीरेन्द्रनगर नगरपालिका, वडा कार्यालय, विभिन्न संघसंस्था लगायतले अपाङ्गता भएकाहरूलाई लक्षित गरी सञ्चालन गरिएका तालिममा उनले प्रशिक्षकको भूमिका पाउने गरेका छन् । उनी भन्छन्, ‘अपाङ्गता भएकाहरू अहिले धेरैजसो उद्यममा जोडिएका छन्, अपाङ्गता भएकाहरूको जीवन पनि आत्मनिर्भर र सुन्दर छ भन्ने प्रमाणित गरेका छन् ।’ अपाङ्गता भएकाहरूले आफूलाई हिनताबोध गराउन नहुने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्