मोबाइल फोनको अवैध आयात, प्रयोग र बिक्रीवितरण रोक्न भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले आज (सोमवार)देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै आजबाट एमडीएमएस व्यवस्था सञ्चालनमा आएको जानकारी दिएको हो ।
यससँगै आजदेखि दर्तावाल मोबाइल मात्रै चल्ने छन् ।
नेपालमा आएका सबै मोबाइल नेपाल दूरसञ्चार प्राधिकरणमा अनिवार्य दर्ता हुनै पर्छ । अनिवार्य दर्ता गरेर मात्रै मोबाइल चलाउन प्राधिरकणले सार्वजनिक सूचना जारी गरेको छ ।
एमडीएमएस लागू भएपछि व्यक्तिगत रूपमा भित्रिएका, आफन्तले विदेशबाट पठाएका वा उपहारमा आएका मोबाइल दूरसञ्चार प्राधिकरणको एमडीएमएसको साइटमा गएर अनलाइनबाटै दर्ता गर्नुपर्ने हुन्छ । मोबाइल व्यवसायीले भित्र्याएका सेटहरू भने दर्ता भएरै आउने भएकोले बजारमा खरिद गरेको मोबाइल व्यक्तिगत रूपमा दर्ता गर्नु पर्दैन ।
तर, बजारमा खरिद गरेका मोबाइल पनि एमडीएमएसमा दर्ता भए/नभएको जानकारी भने उपभोक्ताले *०६# डायल गरेर प्राप्त हुने (इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर) आइएमइआई नम्बरबाट सजिलै थाहा पाउन सकिने छ । यो नम्बर हरेक मोबाइलमा सीमको स्लटको संख्याअनुसार हुन्छ ।
हाल प्रयोगमा आएको मोबाइल सेटहरूको हकमा भने दूरसञ्चार प्राधिकरणले गत वर्ष नै एमडीएमएसमा दर्ता भएको सूचना सबै मोबाइल प्रयोगकर्तालाई पठाइसकेको छ । प्रयोगमा आएको मोबाइल निर्वाध रूपमा चल्ने र नयाँ आएका सेट मात्रै दर्ता विना नचल्ने व्यवस्था गरेको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।
व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याएका मोबाइल पनि भन्सार कार्यालयमा जाँच पास भएको अवस्थामा मोबाइल सेटहरू स्वतः एमएडीएमएस प्रणालीमा दर्ता हुने छ ।
व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू दर्ता नभएको अवस्थामा भने आफैंले राहदानी वा नागरिकता प्रयोग गरेर दर्ता गर्न सकिनेछ ।