३१ असार २०८३, बुधबार

एनएमबि बैंकका डिजिटल प्रयोगकर्ताले मोबाइलबाटै ५ लाखसम्म ऋण पाउने

एनएमबि बैंकका डिजिटल प्रयोगकर्ताले मोबाइलबाटै ५ लाखसम्म ऋण पाउने

डिजिटल बैंकिङ प्रवर्द्धन गर्दै आएको एनएमबि बैंकले ग्राहकलाई मोबाइलबाटै दिने विभिन्न सेवा र सुविधा बढाउँदै गएको छ । बैंकले हालसालै मोबाइल बैंकिङको माध्यमबाट एनएमबि क्युआर कोड प्रयोग गर्ने बिक्रेताको लागि ऋण सुविधा दिन थालेको  छ । बैंकले क्युआर कोड प्रयोग गरेर सेवा दिइरहेका मर्चेन्टलाई ऋण दिने सुविधा दिन शुरू गरेको हो । 

बैंकले एक वर्षदेखि एनएमबि बैंकको क्युआर प्रयोग गरेका मर्चेन्टहरूलाई निश्चित क्राइटएरिया तय गरेर ऋण सुविधा दिइरहेको जनाएको छ । 

बजारमा एनएमबि बैंकको खाता प्रयोग गरेका साना तथा मद्यौला व्यवसायलाई दृष्टिगत गरेर अत्यावश्यक गर्जो टार्न यस्तो ऋण सुविधा दिएको एनएमबि बैंकका डिजिटल बैंकिङ प्रमुख शिवराज उपाध्यायले बताए । 

उनका अनुसार यस्तो सुविधा एक महिनादेखि औपचारिक रूपमै शुरू भइसकेको छ । यो सुविधामा रुची देखाएर सेवा लिनेको सख्या दैनिक ४/५ वटा पुगेको पनि उनले बताए ।

एनएमबि बैंकले व्यापार व्यवसाय गरेर बसेका ग्राहकले आकस्मिक रुपमा चाहिएको पैसाको जोहो गर्ने माध्यम बैंक बन्न खोजेको हो । यस्तो सुविधाले लघुवित्तमा जाने ग्राहक र उसले भोग्नुपर्ने झन्झटिलो प्रकृया मोबाइल बैंकिबाटै समाधान गर्ने उद्देश्य रहेको पनि उपाध्यायले बताए ।

बैंकमा धाउनै नपर्ने, सबै डिजिटल प्रविधिबाट हुने यस्तो ऋण सुविधा ३ देखि १४ महिनासम्मको लागि लिन सकिने बैंकको भनाइ छ । मासिक ऋणको किस्ता भुक्तानी गर्दै जान सकिने गरी दिइएको यस्तो सुविधाको लागि बैंकले दिएको क्युआर कोड प्रयोग गरेको ग्राहक हुनुपर्ने र उसले तोकिएको न्यूनतम शर्त भने पूरा गर्नुपर्छ ।

उपाध्यायका अनुसार ग्राहकको सुविधा लागि दराजका सेलर्सलाई मोबाइल बैंकिङबाटै १० हजारदेखि ५ लाख रुपैयाँसम्म ऋण लिने सुविधा पनि दिइँदै छ । यसका लागि बैंकले दराजसँग सहकार्य गरेर करिब ५०० योग्य ऋणीको सूचीसमेत पाइसकेको छ । 

यस्तो दराजबाट सामान बेच्ने ग्राहकको सुविधा एक सातादेखि ४ महिनासम्म ऋण प्रयोग गर्न पाइन्छ । दराजका सेलर्सको लागि मात्रै दिइने यस्तो सुविधाको औपचारिक घोषणाको अन्तिम तयारीमा भइरहेको बैंकले जानकारी दिएको छ । 

अहिले बैंकले सेलर्स क्याटोराइज गरिसकेको छन । ती ग्राहकको लागि निश्चित क्राइट एरियासमेत तय गरेको छ । यसका लागि एक वर्षदेखि सामान बिक्री गरिरहेको हुनुपर्ने, दराजका विभिन्न बिक्री क्याम्पेनमा सहभागी भएको हुनुपर्नेसहितको शर्त तोकिएको छ । 

नियमित दराजबाट सामान बेच्ने यस्ता सेलर्सको लागि उनीहरूले नै दैनिक रूपमा गरिरहेकै काम शर्तभित्र राखिएको छ । डिजिटल बैंकिङबाट एनएमबि सजिलो कर्जामार्फत् आकस्मिक प्रयोजनमा ऋण लिन सहजता प्रदान गर्ने उपाध्यायले बताए । 

उपाध्याका अनुसार यस अघि एनएमबि सापटी सेवा उपलब्ध गराएको थियो । यस्तो सेवा लिने ग्राहककको मासिक रूपमा नियमित खातामा पैसा आएको हुनुपर्नेसहितका मासिक तलब लिने कर्पोरेट क्षेत्रका कर्मचारीसहितलाई दृष्टिगत गरेर सापटी सेवा दिइएको थियो । 

यो सेवाबाट ग्राहकले मोबाइलबाटै २ लाख रुपैयाँसम्मको ऋण लिन सक्छन । उक्त सुविधा अहिले पनि निरन्तर रहेको बैंकले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्